मौसमविद्को खबरदारी– यो वर्षाले बाढी र पहिरोको विपत्ति ल्याउन सक्छ | Khabarhub Khabarhub

मौसमविद्को खबरदारी– यो वर्षाले बाढी र पहिरोको विपत्ति ल्याउन सक्छ



काठमाडौं– हाल देशभर देखिएको निरन्तर झरी र हिमपातको मुख्य कारण बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवात हो, जसले देशका विभिन्न प्रदेशमा मौसमी प्रभाव ल्याएको छ। बुधबारबाट शुरु भएको झरीले विशेष गरी पूर्वी र मध्य नेपालका अधिकांश भागलाई प्रभावित बनाएको छ। 

जल तथा मौसम विभागका अनुसार, यो प्रणाली पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रभावसँग मिसिँदै देशभर बदली, वर्षा र हिमपात गराइरहेको छ।  यो अवस्था शनिबार बिहानसम्म कायम रहने सम्भावना छ । जसका कारण नदी बहाव, पहिरो र बाढीको जोखिम पनि बढेको छ। चक्रवात ‘मोन्था’ को प्रभावबारे मौसमविद् रोजन लामिछानेसंग  खबरहबले गरेको संवाद 

अहिले परिरहेको झरी कस्तो झरी हो, यो कति दिनसम्म जारी रहन्छ ?

यो झरी मुख्यतः बंगालको खाडीमा विकास भएको ‘मोन्था’ नामक चक्रवातको प्रभावका कारण परेको हो। यसको प्रभाव बुधबार बेलुकादेखि नै पूर्वी नेपालमा देखिन थालेको हो, र बिहीबार बिहानदेखि गण्डकीदेखि पूर्वका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल नेपालभर बादल लागेको छ, जसमा अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव पनि आंशिक रूपमा जोडिएको छ।

यो प्रणाली क्रमशः कमजोर भई पश्चिम दिशा हुँदै उत्तरतर्फ सर्दै नेपाल भित्रिएको हो। त्यसैले हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू९भागमा पूर्ण बदली रहने, र तराई क्षेत्रमा अधिकांश स्थानमा आंशिक बदली रहने देखिन्छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनीका धेरै भागमा मध्यम वर्षा हुनसक्छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ। यो झरी शनिबार बिहानसम्म प्रभावकारी रहने अनुमान गरिएको छ।

 यसले बाढी, पहिरो जस्ता विपत्ति निम्त्याउने सम्भावना कत्तिको छ ?

यो झरीलाई सामान्य झरी मात्र भन्न मिल्दैन । यो हल्कादेखि भारी वर्षा हुने प्रकृतिको भएकाले बाढी र पहिरोको जोखिम रहन्छ।
विशेषगरी कोशी, बागमती र मधेश प्रदेश हुँदै बग्ने स–साना नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।
त्यसैले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी किनाराबाट टाढा बस्न र मौसम अनुकूल नभएसम्म सावधानी अपनाउन आग्रह गर्दछु । 

वर्षदिन खाने धान भित्र्याउने समयमा परेको झरीले कस्तो असर पार्ला ?

पूर्वी नेपालमा अहिलेको भारी वर्षाले कृषि क्षेत्रमा ठूलै असर पुर्‍याउने देखिन्छ। जसले धान भित्र्याइसकेका छन्, उनीहरूलाई ठूलो क्षति नहोला । तर, जसले अझै धान काटेका छैनन्, उनीहरूले अहिलेका दिनमा सावधानी अपनाउन र जोखिम नमोल्न सुझाव दिन चाहान्छु । नदी, खोला नजिकका बालीहरूमा पानी जम्मा हुने, हिलो बढ्ने र कटानको जोखिम रहने भएकाले किसान सतर्क रहन आवश्यक छ । 

केही दिनयता हिमपात भइरहेको सुनिन्छ। अझ कति दिन मौसम यस्तो रहला ?

हो, हाल देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै भागमा हिमपात भइरहेको छ। अझै केही दिनसम्म, विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना छ। त्यसैले ती क्षेत्रमा यात्रा गर्ने, विशेषगरी पर्यटक र किसानहरूले सावधानी अपनाउनुपर्नेछ। हिमपातका कारण बाटो अबरुद्ध हुन सक्ने, तापक्रम घट्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन अनुरोध  छ।

 नागरिकलाई यो झरीका कारण हुने सम्भावित विपत्तिबाट बच्न के सल्लाह दिन चाहनुहुन्छ ?

सबै नागरिकलाई विशेष गरी नदी किनार र पहाडी भेगका बासिन्दालाई सतर्क रहन आग्रह छ । सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्नुपर्छ। मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रबारे जल तथा मौसम विभागले निरन्तर अनुगमन र विश्लेषण गरिरहेको छ।

वर्षा र हिमपातका कारण नदीबहाव, पहिरो, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणले विभागको वेबसाइट, सामाजिक सञ्जाल र टोल–फ्री नम्बर ११५५ मार्फत अद्यावधिक सूचना प्राप्त गरी सतर्कता अपनाउन आग्रह गर्दछु।

‘‘मोन्था’ नामक चक्रवात नेपालमा पहिलो पटक देखिएको हो ? र यसको नाम कहाँबाट आएको हो ?

यो नेपालमा देखिएको पहिलो चक्रवात होइन। सन् २०१४ कात्तिक महिनामा पनि  ‘हुदहुद’ नामक चक्रवात आएको थियो, जसको असरले उच्च हिमाली क्षेत्रमा भारी हिमपात र जनधनको क्षति  भएको थियो। ‘मोन्था’ भने नयाँ चक्रवात हो, जसको नाम थाइल्यान्डले सुझाएको हो। उत्तरी हिन्द महासागर क्षेत्रका देशहरूले संयुक्त रूपमा चक्रवातका नाम तय गर्छन् । यो समूहलाई विश्व मौसम विज्ञान संगठन भनिन्छ। 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : १७ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ