सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु प्रकरणमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको हो।
प्रशासनका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिको सदस्यहरूमा वीरेन्द्रनगर नगरपालिका–११ का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल सुर्खेतका पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालकी कर्णाली प्रदेश सचिव मालती विक, र मृतकका परिवार तर्फबाट गीता सुनार सदस्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा लागुऔषध मुद्दाका थुनुवा वीरेन्द्रनगर नगरपालिका–११ निवासी २६ वर्षीय गंगे विक शुक्रबार बिहान अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल, सुर्खेतमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
उक्त घटनापछि पीडित परिवारले दिउँसो घटनाको छानबिन माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए। धर्नापछि घटनाबारे अनुसन्धान गर्न समिति बनेको हो।













प्रतिक्रिया