हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण | Khabarhub Khabarhub

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थानान्तरण गरिएको छ ।

हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो ।

बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खायाममा हिउँ पग्लिन थालेपछि  उच्च लेक तथा खर्कमा पुर्‍याएर याकचौँरीको व्यवस्थापन गर्ने गरिन्छ ।

मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याकचौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थानान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौँरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताए ।

हिउँदयाममा उच्च लेकमा हिउँले चरनक्षेत्र अभाव हुने याकचौँरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्‍याउने भएकाले उच्च लेक र खर्कका याकचौँरी क्रमशः बेँसी झारिने गरिएको हो । यसरी झारिएका याकचौँरी बर्खायाममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ ।

बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौँरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको चार हजार मिटरमाथिको उच्च लेकमा याकचौँरीपालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौँरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गरे ।

त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका आठ घरपरिवारका करिब पाँच सय याकचौँरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका छ घरपरिवारका करिब सात सय याकचौँरी  हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ ।

यहाँको थासाङ–२ स्थित मार्चे लेकमा १०, मुलिखर्कमा आठ र बतासे लेकमा छवटा चौँरीगोठ रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।

मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको उनको भनाइ छ । थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन व्यवसाय अपनाउँदै आइरहेको वडाध्यक्ष शेरचनले बताए ।

यहाँको घरपझोङ–४ जोमसोमका याकचौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय बढी चौँरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन् ।

समुद्री सतहको उच्चस्थानमा गोठ खडा गरी पालन गरिएका शेरचन र घर्तीका चौँरी नमुख लेकबाट तलको पारिलो स्थानमा झारिएको हो । भूपेन्द्रले हिउँदयाममा चौँरी रेखदेख गर्न समस्या हुने र उच्च लेकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेँसी झार्नुपरेको सुनाए । यहाँको घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी सात घरपरिवारले याकचौँरीपालन गरेको उनी बताउँछन् ।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यामा एक र वडा–४ ध्येगाउँमा एक गरी दुई घरले करिब पाँच हाराहारीमा याकचौँरीपालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिए ।

बर्खायाममा उच्च लेकको कराङमा रहेका चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको जानकारी दिए । त्यसैगरी लोघेकर–४ ध्येका चौँरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताए ।

त्यसैगरी माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि चौँरीपालन गरिएको छ । पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याकचौँरीपालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ ।

जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिमचितुवालगायत वन्यजन्तुको आक्रमणबाट याकचौँरीलगायत घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

यहाँका पालन गरिएका चौँरी तथा याकनाकपालनलाई जलवायुको सङ्कट थपिएको हो । भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरीपालनमा परेको छ ।

मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार निर्माण गर्छन्, चौरीको पुच्छर हिन्दू धर्मालम्बीहरूले पूजा कोठामा राख्ने भएको यो महँगो मूल्यमा बिक्री हुन्छ । (रासस)

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ३४ बजे

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक

सञ्चारमन्त्री भन्छन्- दुःख र सङ्घर्षमा खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैन 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा

कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको