काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अन्तत: नेकपाकालीन नेताहरूको गुटमै समाहित हुन पुगेका छन् । नेकपाकालमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालसँग मिलेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दुई लाइन संघर्ष गरेका उनी पुरानै समूहमा मिसिन जाँदैछन् ।
यससँगै २०७७ फागुनमा विघटित नेकपाका ९ जना सचिवालय सदस्यमध्ये ६ जना कात्तिक १९ गते गठित नेपाली कम्युनिस्ट पार्टीमा जोडिन पुगेका छन् ।
रावल बुधबार दिउँसो नेपाली कम्युनिस्टमा समाहित हुँदैछन् । उनी छैटौँ वरीयता लिएर समाहित भएपछि तत्काली नेकपाको सचिवालयमा रहेका प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजीसहित ६ जना पुग्नेछन् ।
नेकपाकालदेखि नै ओलीविरुद्ध दुई लाइन संघर्ष चलाएका रावलले एमालेमा फर्किएपछि पनि त्यो रोकेका थिएनन् । संसद्देखि पार्टी बैठकमा समेत आफ्नो फरक मत राख्दै आएका उनलाई संगठनात्मक अराजकता देखाएको र अनुशासनहीन बनेको आरोपमा ओलीले २०८१ पुस ११ गते बसेको सचिवालय बैठकमा निर्णय गराएर एमालेबाट निकालिदिएका थिए ।
त्यसपछि उनले २०८१ पुस १७ गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर ‘मातृभूमि जागरण अभियान’ चलाए । तर त्यो अभियानले गति लिन सकेन। उनी पूर्वदेखि पश्चिम घुमे पनि न उक्त अभियानले गति लियो न नयाँ पार्टी नै बनाउन सके । एमालेबाट निकालिएको एक वर्षसम्म रुमल्लिएका उनले ओलीको विरोध गरिरहे । अन्तत: २०७८ भदौमा एमालेबाट चोइटिएका माधवकुमार नेपालसमेत माओवादी केन्द्रमा समाहित भएर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि रावल पनि त्यतै लागेका हुन् ।
अब उनी नेकपाकालमा जस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टी छोडेर सह-संयोजक बनेका माधव नेपालका सहयात्री बनेका छन् ।
चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछिको वरीयतामा रहने गरी उपाध्यक्ष प्रस्ताव गर्दा अस्वीकार गरेका रावल अब नेकपामा छैटौँ वरीयतासहित नयाँ यात्रामा निस्किएका छन् ।
माधव नेपालले रावललाई २०७९ को निर्वाचनलगत्तै आफ्नो पार्टीमा ल्याउन खोजेका थिए। २०७९ को चुनावमा जिल्लाबाट सिफारिस भएर पनि अध्यक्ष ओलीले रावलको टिकट खोसेर माओवादीबाट आएका झपट बोहोरालाई दिएका थिए । ओलीको उक्त कदमले एमालेलाई नै घाटा भयो । झपट बोहोरा हारे, एकीकृत समाजवादीका शेरबहादुर कुवँरले जिते ।

एमाले उपाध्यक्ष नस्वीकारेको त्यो पल
एमालेले चितवनमा गरेको दशौँ महाधिवेशनमा अध्यक्ष ओलीका प्रतिस्पर्धी रावल विद्रोही नेताका रुपमा चिनिन्छन् । एमालेको दशौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछाडिको पद ओलीले प्रस्ताव गरेका थिए । तर उनी ओलीसँगै टक्कर गर्न पुगे । त्यहीँदेखि रावलले एमालेबाट सबैथोक गुमाउन पुगे ।
२०७८ साल मङ्सिर १३ गते चितवनमा भएको एमालेको दशौं महाधिवेशनमा ओलीले उपाध्यक्ष बन्न रावललाई आग्रह गरेको पुष्टि उपमहासचिव प्रदीप ज्ञवाली गर्छन्।
तर रावलले टीके प्रथाको अन्त्य हुनुपर्ने बताउँदै आफू जसरी पनि नेतृत्वमै उठ्ने भनेर उपाध्यक्ष लिन मानेनन् । हलमा उनले भनेका थिए, ‘उम्मेदवारी घोषणा गरेपछि अब मलाई फर्कन गाह्रो भो, मैले अध्यक्षमा लड्न पाउनै पर्छ ।’
त्यसपछि पनि ओलीले उनलाई रोक्न खोजे । ‘नउठेको भए पार्टीमा एकता प्रदर्शन हुन्थ्यो। कमरेड रावलले हामी सबै र हलले आग्रह गर्दा पनि उठ्नुहुन्छ भने उठ्न दिनुपर्छ’, ओलीले भनेका थिए ।
अन्तत: अध्यक्षको दावेदार रहेका रावल ओलीसँगको प्रतिस्पर्धामा फराकिलो मतान्तरले पराजित भए । त्यहीँदेखि ओली र रावलको सम्बन्धमा दरार आयो । फलस्वरूप २०७९ को निर्वाचनमा रावललाई सिफारिस भएको टिकट पनि ओलीले खोसिदिए ।
एमाले विभाजनमा नेपालको काँध थापेका नेता भन्दै ओलीले रावललाई निरन्तर पेलिरहे । कुनै ठाउँमा अडिन नदिएपछि अन्तत: रावले मातृभूमि जागरण अभियान चलाए । उनको अभियानले उल्लेखनीय प्रगति गरेन । सुदूरपश्चिमका अछामसहितमा भने रावलले पकड बनाए । उनी नेकपा गएपछि सुदूरपश्चिममा एमालेलाई ठूलो धक्का लाग्ने देखिन्छ ।
‘मैले मातृभूमि जागरण अभियान चलाइरहेको थिएँ । अभियान ठिकै चलेको थियो । तर कमरेड प्रचण्ड र माधवजीले सँगै जाऊँ भनेका नकार्ने कुरा भएन’, रावलले खबरहबसँग भने, ‘मलाई एमालेमा ओलीले पद नदिएको भन्दा मेरो शैली र सकारात्मक काममा समेत पेल्ने काम भयो । अब हामी नेपाल कम्युनिस्ट पार्टीलाई बलियो वामशक्तिका रुपमा उभ्याएर देखाउँछौँ।’

ओलीले चाहेनन्
एकीकृत समाजवादी र माओवादी केन्द्रसहित १० दलले एकता गर्ने घोषणा गरेपछि ओलीले कात्तिक १४ गते फेसबुकमा लेखेर घर छाडेकालाई फर्किन आह्वान गरे । पूर्वएमालेलाई घर फर्काउन चाहेका ओलीले यसो भनेपछि रावलले ओलीको बोलीमा नफस्न आग्रह गरे ।
रावलले यस्तो लेखेपछि ओली अझै बिच्केर उनलाई एमालेमा फर्काउनै पहल गरेनन् । बरू कात्तिक २५ को सचिवालय बैठकमा घर फर्किन चाहनेलाई फर्काउने बताउँदै ओलीले एमाले बिगार्न चाहनेलाई भने फर्काएर काम नभएको टिप्पणी गरे । ओलीले रावल र नेपाललाई लक्षित गरी यो टिप्पणी गरेका थिए। त्यसपछि एमाले नेताले रावलसँग संवाद गरेनन् ।
माधव र प्रचण्डलाई ग्रीन सिग्नल
रावल एमालेमा नफर्किने भएपछि नेकपा संयोजक प्रचण्ड र सह-संयोजक माधव उत्साहित थिए । यसअघि पनि उनीहरूले रावललाई पटकपटक भेटेका थिए । कात्तिक १९ मा नेकपा बनेपछि रावललाई भेटेर आफ्नो पार्टीमा आउन आग्रह गरे ।
माधव र प्रचण्डले पार्टी घोषणा गरेर कात्तिक १९ गते नै रावललाई आफ्नो पार्टीमा समाहित गर्न खोजे । तर रावलले समय मागेकाले उनी सरिक हुन सकेनन् । कात्तिक २० पछि रावल माधव र प्रचण्डको निरन्तर संवाद भयो । अन्तत: रावलले प्रचण्ड र माधवसँग मिल्ने निर्णय गरे । त्यसलगत्तै मातृभूमि जागरण अभियानको बैठक बसेर नेकपामा मिसिने निर्णय गरे । अब रावलसँगै एमालेका पूर्वसांसद प्रकाशबहादुर शाह पनि मिसिँदैछन् ।
नेकपामा रावलले छैटौँ वरीयता पाउनेछन् । यसबारे खबरहबले सोधेको प्रश्नमा रावलले भने, ‘मलाई उहाँले सम्मानित ठाउँ दिनुभएको छ। म काम गर्ने मान्छे हो। पदभन्दा काम गरेर देखाउँछु।’ रावलले वरीयताले कुनै फरक नपार्ने बताए ।

को हुन रावल ?
अछामका रावल ६८ वर्ष पुगेका छन् । पीएचडी गरेका रावलले एमालेमा वैचारिक र विद्वान नेताका रूपमा चिनिन्थे । कुनै बेला एमाले अध्यक्ष ओलीकै समर्थक उनी केही वर्षयता दुई लाइन संघर्षमा थिए ।
रावलले एमालेमा ५० वर्ष लामो राजनीति गरेका छन् । रावलको जन्म २०१२ साल मंसिर २१ गते अछाममा भएको हो । राजनीतिशास्त्रमा पीएचडी गरेका उनले कानुन संकायमा बीएल गरेका छ्न । उनी राजनीतिशास्त्रमा ०३९ सालका त्रिवि टपर पनि हुन् ।
२०३२ सालदेखि एमाले राजनीतिमा लागेका उनले विभिन्न समयमा १३ महिना बन्दी जीवन बिताएका छन् । उनी राजनीतिक गतिविधिकै कारण जेल परेका थिए ।
रावल एमालेका तर्फबाट ०५१, ०६५, ०७० र ०७४ मा चारपटक सांसद बने । ०७९ को निर्वाचनमा उनलाई एमालेले टिकट दिएन । यसबीचमा रावलले शिक्षा, गृह, पर्यटन लगायतका मन्त्रालय सम्हालिसकेका छन्। उनी बेला बेला कविता पनि लेख्छन् । आगामी निर्वाचनमा रावल आछामबाट निर्वाचन लड्ने योजनामा छन् ।













प्रतिक्रिया