निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड « Khabarhub

निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।

प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरूले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधैँ अग्र मोर्चामा उभिने बताए । उनले प्रेस स्वतन्त्रता, आवधिक निर्वाचनलाई आत्मसाथ गरेको प्रजातान्त्रिक विचार समाजले पछिल्लो समय आवधिक निर्वाचनलाई स्वीकार गर्न नसकेको बताए ।

वरिष्ठ पत्रकार तारानाथ दाहालले जेन-जी आन्दोलन नेपालको प्रजातान्त्रिक इतिहासमा ऐतिहासिक आन्दोलन भएकाले जेन-जी आन्दोलनलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । आगामी निर्वाचनलाई सफल बनाउनका लागि हामी सबै लाग्नुपर्ने उनको भनाइ थियो । निर्वाचन गराउने दायित्व सरकारसँगै राजनीतिक दलको समेत भएको उनले बताए ।

समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्नका लागि पार्टीभित्रको विधानलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए । तत्कालका लागि कांग्रेसले महाधिवेशन गरेर निर्वाचन जानुपर्ने उनको भनाइ थियो । 

वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानभित्रको समस्याको निकाश खोजेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताइन् । 

राजनीतिक पार्टीले संविधान संशोधनको एजेन्डालाई लिएर अदालतमा जान सके संसद् पुनः स्थापना हुन सक्नेतर्फ उनको थियो । कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचन जानुपर्ने उनले बताए ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पार्टीले बौद्धिक समाजसँग छलफल गर्न छाडेको बताए । उनले भदौ २३ र २४  गतेको घटनालाई पार्टीले सूक्ष्म रूपले अध्ययन गर्नुपर्ने बताए । 

उनले पार्टीभित्र अनुहार मात्र फेरेर नहुने प्रवृत्तिगत परिवर्तन सुधार आवश्यक रहेको उल्लेख गरे  । संविधानलाई जोगाउन निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले प्रविधिले राजनीतिलाई ‘गाइड’ गरिरहेको बताए । प्रविधिमा जो अभ्यस्त छैन त्यसलाई पुरानो पुस्ताका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राजनीतिक दलले  विकल्प दिन नसकेकाले जेन-जी आन्दोलन भएको बताए । संसद् पुनः स्थापनाभन्दा निर्वाचनमै दल जानुपर्ने उनले बताए । उनले आम नागरिकमा आशा जगाउने नयाँ कार्यक्रम र नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

राजनीतिक विश्लेषक विनोद भट्टराईले पार्टीका नेताभित्र इच्छाशक्ति भए कांग्रेस १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न सकिने बताए । कांग्रेस अहिलेको अवस्थामा यही नेतृत्वलाई लिएर चुनावमा गए पार्टीले सुखद नतिजा ल्याउन नसक्ने बताए ।

समाजका पूर्वअध्यक्ष जीवराज कोइरालाले देशको परिस्थिति जटिल मोडमा गएकाले कांग्रेसले निर्वाचनअघि महाधिवेशन गरेर निर्वाचनमा होमिनुपर्ने बताए  । 

वरिष्ठ पत्रकार तेजप्रसाद पण्डितले आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेसलाई अगाडि बढाउनुपर्ने बताए। कांग्रेसले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले विसं २०५२ मा स्थापना भएको समाजले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसाथ गर्दे अगाडि बढेको बताए । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिको बारेमा राय, सुझाव समेट्ने काम समाजले गरिरहेको उनको भनाइ छ ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन चुनावी सरकारको भूमिका र निर्वाचनमा दलहरूको सहभागिता सम्बन्धमा समाजले निरन्तर छलफल गर्दै आइरहेको बताए  । रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ५३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन

आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ