काठमाडौं- नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेको केन्द्रीय सदस्यतसमेत रबनेका दुर्गा प्रसाईंले अब राजनीतिक दल खोल्ने भएका छन् ।
पछिल्लो समय हिन्दु राज्य र राजसंस्था फिर्ता अभियानमा रहेका उनले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेका हुन् ।
केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईंलाई दल दर्ता गरेर राजनीतिमा होमिन सुझाएका थिए ।
यही मंसिर ७ गते काठमाडौंमा सरकारविरोधी आन्दोलन गर्न लागेका उनले फागुन २१ गतेको निर्वाचनका लागि आज अन्तिम दिन दल दर्ता गर्न लागेका हुन् ।
उनी कुनैबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट र भरपर्दा पात्र थिए ।
तर पछिल्लो समय पू्र्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्र बन्न सफल प्रसाईं अब राजनीतिमा आउन लागेका हुन् ।
त्यसका लागि उनले आइतबार दिउँसो ‘नागरिक बचाउ दल नेपाल’ दर्ता गराउन लागेका हुन् ।
प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को छोटकरी नाम ‘नागरिक बचाउ दल नेपाल’का रुपमा दर्ता गराउन लागेका हुन् ।
उनले निर्वाचन आयोगबाट आधिकारिकता लिँदै नयाँ दलको नेताका रुपमा सार्वजनिक हुने निर्णय गरेका हुन् । उनी दल दर्ताका लागि दिउँसो २ बजे निर्वाचन आयोगमा पुग्ने भएका छन् ।
निर्वाचन आयोग श्रोतका अनुसार दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल नेपाल’ ६३० औँ पार्टीका रुपमा निर्वाचन आयोगमा दर्ता हुँदैछ ।













प्रतिक्रिया