केपी ओलीको विकल्प छैन, प्रतिनिधिले पत्याए ईश्वर कमरेड भिड्दा हुन्छ : प्रदीप ज्ञवाली « Khabarhub

अन्तर्वार्ता

केपी ओलीको विकल्प छैन, प्रतिनिधिले पत्याए ईश्वर कमरेड भिड्दा हुन्छ : प्रदीप ज्ञवाली

जेन–जी आन्दोलनमा ओलीको गल्ती छैन



काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका एक भरपर्दा र विश्वासिला नेता हुन् । एमालेका हरेक वार्ता र छलफलमा सहभागी हुने उनी वैचारिक र अध्ययनशील नेताका रुपमा चिनिन्छन् । पार्टीमा स्पष्ट वक्ताका रुपमा चिनिने उनी विषयमा गहिरो अनुसन्धान गर्ने नेता पनि हुन् । यस पटक मंसिर २७ देखि काठमाडौंमा हुने ११ औँ महाधिवेशनबाट ओली नै अध्यक्षमा कायम रहने ज्ञवाली बताउँछन् । उनी अहिले ओलीको विकल्प नभएको तर्कसहित महाधिवेश प्रतिनिधिले पनि यो कुरालाई अनुमोदन गर्ने बताउँछन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिँदा ओलीलाई फरक नपर्ने उनको तर्क छ । उनले नेतृत्वमा जान ४ वटा गुण चाहिने बताउँछन् । कम्तीमा नेतृत्वमा पुग्न चाहनेले सबैको नजरमा लायक हुनुपर्ने उनको तर्क छ । ‘सञ्चार गृहको उदाहरण दिँदा पनि २० औँ, ४० औँ वर्षको अनुभव भएको १५, २० जना सञ्चारकर्मी होलान् । तर ती सबै सम्पादक बन्छन् ? त्यसका लागि योग्य हुन्छन् ?’, उनी प्रश्न गर्छन् ।

दशौँ महाधिवेशनबाट उपमहासचिव बनेका ज्ञवाली आफैँ पनि यस पटक महासचिवमा जान चाहन्छन् । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन हुनुमा ओलीको दोष नभएको तर्क उनी गर्छन् । बरू त्यस आन्दोलनमा घुसपैठ भएको उनी बताउँछन् । भन्छन्, ‘जेन–जी आन्दोलनका क्रममा क्षति हुनुमा अध्यक्ष ओलीको गल्ती छैन । त्यसबेला नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको काम प्रभावकारी नभएको भए समीक्षा हुनुपर्छ भन्नेमा छलफल चल्नुपर्ने कुरा ठिक छ । तर भदौ २३ गतेको घटना हिंसात्मक हुनुमा उहाँको गल्ती छैन । बरु सरकारले चाहिनेभन्दा बढी उदारता देखायो ।’ आन्दोलनपछि ओली लोकप्रिय या अलोकप्रिय के छन्, त्यो एघारौँ महाधिवेशन र फागुनमा हुने भनिएको निर्वाचनमा हेर्न ज्ञवाली आग्रह गर्छन् ।

ज्ञवालीले ११ औँ महाधिवेशनमा ओलीकै प्यानलबाट महासचिव हुने तयारी गरेका छन् । खबरहबले अब महासचिव बन्ने तयारीमा हुनुहुन्छ भनेर सोधेको प्रश्नमा भने, ‘यसबारे धेरैले चासो राख्नुभएको छ । तर अहिले नै छलफल भइसकेको छैन । जिम्मेवारी लिन त तयार छु ।’

ज्ञवालीसँग एमाले महाधिवेशन तयारी, आगामी नेतृत्व, जेन–जी आन्दोलनपछि एमालेको दृष्टिकोण, आन्दोलनबारे धारणा, आगामी निर्वाचनमा एमालेको तयारी लगायतमा केन्द्रित रहेर कुरा गरेका छौँ ।

एमालेको महाधिवेशन नजिकिएको छ, यो पटक केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुन लागेको हो ?

हामीले पनि बाहिर कुरा सुनेका हौँ । गत बिहीबार च्यासलमा बसेको बैठकमा ईश्वर कमरेडबाहेक कसैले कुनै पदमा उठ्ने भनेर घोषणा गर्नुभएको छैन । ईश्वर कमरेडले मेरो उम्मेदवारी नेतृत्वमा रहन्छ भन्नुभएको छ । उहाँले १० औँ महाधिवेशनमा पनि तयार छु भनेको हुँ, तर मलाई रोक्नुभयो, यस पटक तयार छु भन्नुभएको छ । कमिटीभित्र कुरा नराखे पनि कतिपय साथीहरूको अभिव्यक्ति हेर्दा प्रतिस्पर्धामा आउन चाहेको भन्ने लागेको छ । पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनु सामान्य विषय हो । तर त्यो प्रतिस्पर्धापछि पनि पार्टी एक ढिक्का हुनुपर्छ । त्यसले पार्टी चिरा पार्नु हुँदैन, फुटतिर जानु हुँदैन ।

यदि ओली र पोखरेलबीच प्रतिस्पर्धा भए तपाईं कसलाई साथ दिनुहुन्छ ?

पहिला औपचारिक रूपमा ईश्वर कमरेडलाई घोषणा गर्न दिऊँ । मचाहिँ प्रष्ट छु, अहिले एमालेमा नेतृत्वलाई कमजोर पार्ने कुनै प्रयत्न उचित छैन । किनकि यतिबेला राष्ट्रसामु असहज परिस्थिति छ । यो बेला पार्टी कमजोर हुनुहुन्न, नेता र नेतृत्व कमजोर हुनुहुन्न । मेरो मात्रै होइन, अधिकांश नेताहरूको चहाना संकटको बेला ओली कमरेडले नै नेतृत्व गर्नुपर्छ भन्ने हो । केन्द्रीय कमिटीमा पनि धेरै साथीहरूको रुचि त्यही थियो । केपी कमरेडको विकल्प छैन पार्टीमा । अररू साथीहरू सहमतिमा आएर उहाँलाई सहयोग गर्न पनि सक्नुहुन्छ । मंसिर १३ गते प्रतिनिधि चयनपछि साथीहरू धेरै एक मन, एक चित्त भएर केपी कमरेडलाई साथ दिन सक्नुहुन्छ । मचाहिँ केपी कमरेडको विकल्पबारे चर्चा गर्नु उचित हुँदैन भन्ने ठान्छु ।

महाधिवेशनमा सहमतिको वातावरण तयार हुँदा वरिष्ठ उपाध्यक्षलाई कसरी मनाउने ? कसरी ओलीलाई नै तेस्रो पटक बनाउने ?

छलफल हुन्छ । तर अहिले अध्यक्ष ओलीको विकल्प छैन । कतिपय साथीहरूले पूर्ववत् पदलाई सुरक्षित राख्न पदको बार्गेनिङ गरेको हुनसक्छ । बढीभन्दा बढी कार्यकर्ताले कसको नाममा सहमति गर्छन्, त्यो हेर्नुपर्छ । तर अहिलेको अवस्थामा ओलीको विकल्पमा जान सकिँदैन । उहाँ नै अबको अध्यक्ष हो ।

ओली नै अध्यक्ष हुने भए त किन महाधिवेशन गर्नु भनेर ईश्वर पोखरेल पक्षीय नेताहरूले भनिरहनुभएको छ नि ?

उहाँहरूले के भन्नुभयो, त्यो कुरामा टिप्पणी गर्न चाहन्न । महाधिवेशनमा प्रतिस्पर्धा गर्न चाहनेका लागि अवसर छ । प्रतिस्पर्धाको ढोका खुल्ला छ । कार्यकर्ता र प्रतिनिधिले पत्याउँदा नेतृत्वमा जो पनि आउने सक्ने भयो । ईश्वर कमरेड अरू अथवा अरू जो पनि । तर महाधिवेशनमा चुनिएर आउँछु भन्दा कुनै नेताको बाटो रोक्नु हुँदैन । म फेरि चुनिएर पार्टी हाँक्न सक्छु भन्ने विश्वास छ भने आउन सक्छन् नि । तर अमुक मान्छेका नाममा महाधिवेशनको अर्थ छैन भन्नु हाँस्यास्पद हुन्छ ।

नेतृत्वका लागि ४ कुरा अपरिहार्य हुन्छ :

१. पार्टी पंक्ति र समाजमा उसको स्वीकायर्ता कस्तो छ ?
२. विगतका कठिन घडीमा उसले आफूलाई कत्तिको निष्ठावान बनायो ?
३. पार्टीलाई अगाडि बढाउने कुरामा उसको दृष्टिकोण कस्तो छ ?
४. क्षमता कस्तो र कत्तिको छ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेका कारण उहाँले ईश्वर पोखरेलाई अगाडि बढाउनुभएको रे हो ?

यो त अलग–अलग विषय भयो । हामीले एउटा निष्कर्षमा पुगेर देशको राष्ट्रपति भएको मान्छेलाई सम्मानित हैयितमै रहनुस् भनेको हो । सम्मानित पदबाट पार्टी नेतामा फर्किदा उहाँहरूको निष्पक्षतामाथि प्रश्न उठ्छ भनेका हौँ । उहाँलाई सम्मान गरिएको हो । ईश्वर कमरेडलाई उहाँले साथ दिएको भन्ने कुरा मलाई थाहा भएन ।

तर अध्यक्ष ओलीले भण्डारी राजनीतिमा फर्किएपछि आफू असुरक्षित हुने डरले रोकेको भन्छन् नि ?

यो कुनै टिप्पणी गर्नुपर्ने र जवाफ दिनुपर्ने विषय नै होइन । एउटा अध्यक्षले नचाहँदा नवीकरण नहुने भन्ने यो तर्कै होइन । नेकपा एमाले त्यति कमजोर पार्टी हो र ?

एउटै व्यक्ति निरन्तर हुँदा नयाँ पुस्ताले अवसर पाउँछ त ? फेरि पार्टी निमार्णमा ओलीको भन्दा ईश्वर पोखरेलको बढी भूमिका छ भनेर त उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हामीसँग भन्नुभएको छ ?

अरू नेताले के भने भन्दा पनि नेतृत्व कस्तो छ भन्ने कुरा हो । यहाँहरूको सञ्चार गृहको उदाहरण दिँदा २० औँ, ४० औँ वर्षको अनुभव भएका १५, २० जना सञ्चारकर्मी होलान्, ती सबै सम्पादक बन्छन् ? त्यसका लागि योग्य हुन्छन् ? त्यसमा देखिने एकजना मान्छे बन्ने हो । खेलाडी पनि सबै क्याप्टेन बन्दैनन् । यस्तै अरू क्षेत्रमा पनि हुन्छ । यसमा पालो पुर्‍याउने कुरा छैन । योग्यता र क्षमताका आधारमा बन्ने हो ।

यहाँले ओलीको विकल्प छैन भन्नुभयो तर दुईतिहाइको प्रधानमन्त्री हुँदा जेन–जी आन्दोलनमा हेलिकोप्टर चढेर भागेको बिर्सनुभयो ?

यसमा मेरो कुरा कुनै पनि घटनाक्रमलाई एउटा कोणबाट मात्रै हेर्नु हुँदैन । २०१७ सालमा बीपी कोइरालासँग पनि दुईतिहाइ बहुमत थियो । उहाँ तरुण दलको भेलामा सम्बोधन गर्ने जाने क्रममा सेनाले गिरफ्तार गरेर ८ वर्ष जेल हाल्यो । त्यसलाई अयोग्यता भन्ने कि ? असफलता भन्ने ? भदौ २३ र २४ गते जुन किसिमका घटना भए । सरकारले त्यस्ता घटनाको किन पूर्वानुमान गर्न सकेन भनेर छलफल गर्न सकिन्छ । जेन–जी युवाले प्रदर्शन शान्तिपूर्ण ढङ्गले गर्ने सुरु गर्नुभयो । तर त्यो योजनाबद्ध ढङ्गले अनपेक्षित हिंसात्मक मुठभेटमा गयो । अघिल्लो दिन विद्यार्थीको ज्यान जाने दुःखद स्थिति निर्माण भयो । त्यसको जगमा भदौ २४ गते जे भयो, त्यो घटनालाई हामीले क्रान्ति वा आन्दोलन, महान् वीरहरू भन्न मिल्दैन । त्यो त लोकतन्त्रमाथिको हमला हो ।

जेन–जीको प्रदर्शन भड्काएर हिंसामा पुर्‍याउने र त्यसको जगमा देशलाई खराबी बनाउने विषय गलत कुरा हो । यी सबैलाई सोलोडोलो एकै ठाउँ राखेर हेर्न मिल्दैन । देश जल्दा गौरव गर्ने कुरामा सहमत हुन सकिँदैन । त्यसक्रममा थप क्षति नहोस् भनेर उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका हो । जनधनको क्षति न्यून गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि अधिकांश ठूला घटना भएका छन् । त्यसले गर्दा यसैलाई आधार मानेर नेतालाई सफल–असफल भन्न मिल्दैन ।

तर प्रहरी र अन्य सुरक्षा अधिकारीले सूचना दिँदा पनि भदौ २२ गते प्रधानमन्त्रीले सनक देखाउनुभयो भन्ने छ नि ?

यो गलत कुरा हो । त्यसबेला राष्ट्रिय अनुसन्धान विभागले के रिपोर्ट गरेको थियो ? प्रहरीले के रिपोर्ट दिएको थियो ? सबै कुरा मिडियामा सार्वजनिक भइसकेको छ । उहाँहरूको रिपोर्टमा ५–७ हजार कलेजका र अन्य व्यक्ति भेला हुन्छन्, स्कुल–कलेजको युनिफर्ममा आउने भएर शान्तिपूर्ण हुन्छ भनिएको थियो । कलिला विद्यार्थी सडकमा उत्रिएकाले तर्साउने गरी कडी कडाइ गर्ने कुराले राम्रो सन्देश नदेला भनेर प्रशासनले ढुक्क भएर निषेधित क्षेत्रमा रोक्ने प्रयत्न नगरेको हो । निषेधित क्षेत्रमा रोक्न नखोजेको पनि हो । यो आन्दोलनलाई कुन हदसम्म लान सक्छन् भन्ने कुरामा प्रशासन बेखबर थियो । प्रशासन बेखबर मात्रै हो कि त्यहाँ अरू कुरा पनि जोडिएका थिए ? त्यो कुरा अनुसन्धानबाट आउँदै जाला । तर प्रहरीले यो तहको घटना हुन्छ भनेर अनुमान गरेको थिएन । र, प्रधानमन्त्रीलाई पनि जानकारी थिएन । तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङले अन्तर्वार्तामा यो कुरा बताउनु भएको छ । त्यसबेला विद्यार्थीको आन्दोलनमा घुसपैठ गरेर अचानक हिंसात्मक मोड दिइएको छ ।

शान्तिपूर्ण भनिएको आन्दोलन संसद् भवन प्रवेश गर्ने कोसिस गर्‍यो, सुरक्षा पोस्ट र कम्पाउन्ड कब्जा गर्ने कोसिस भयो । त्यसपछि प्रहरीले बल प्रयोग गरेको छ । यो क्रममा जे–जसरी जनधनको क्षति भयो, त्यो असाध्यै दुःखद छ । जेन–जीले माइतीघरमा जम्मा हुँदा फूलको हाँगा पनि नभाँच्ने भनेर प्रदर्शन गरेका थिए, उनीहरूले त्यसो गरेका होइनन् होला । शान्तिपूर्ण आन्दोलनलाई रक्तपातमा बदल्ने को थिए ? खोज्नुपर्ने त त्यहाँ होला नि ।

त्यसो भए तत्कालीन सरकार र प्रधानमन्त्री ओलीको कुनै गल्ती थिएन ?

हो । त्यो आन्दोलन हुनुमा उहाँको गल्ती थिएन । यत्रो क्षति हुनुमा उहाँको गल्ती छैन । सरकारको काम प्रभावकारी थिएन । समीक्षा हुनुपर्छ भन्ने विषयमा छलफल चल्नुपर्ने कुरा ठिक छ । जनअपेक्षा र सरकारको कार्यसम्पादनमा समस्या थियो होला । तर, भदौ २३ गतेको घटना हिंसात्मक हुनुमा उहाँको गल्ती छैन । बरु सरकारले चाहिनेभन्दा बढी उदारता देखाएको हो । घुसपैठको शंका नगरी यसलाई समयमै रोक्न नसक्नु चाहिँ प्रशासनको गल्ती हो । प्रहरी र प्रशासनमा सूचना पूर्वअनुमानको अभाव देखिन्छ । सरकारले माइतीघर आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर अनुमति दिएको हो । विद्यार्थीको आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर सहयोग गरेको देखिन्छ । त्यो घटनामा कारक तत्व र सूत्रधार अरू नै छन्, जेनजी होइन ।

जेन–जीले प्रधानमन्त्रीलाई बुझाएको सम्झौतापत्र पढ्नुभयो होला । त्यहाँ त तत्कालीन सरकारमा प्रधानमन्त्री र सम्बन्धित अर्थात् गृहमन्त्रीमाथि कारबाहीको कुरा छ । ७० नाघेका नेता बिदा हुनुपर्ने माग पनि छ नि ?

पहिलो : कुन दलले कस्तो विचार लिने, नेता कस्तो बनाउने, कस्तो संरचना बनाउने भन्ने कुरा सम्बन्धित दलको हो । दलले जनभावना बुझ्नुपर्छ । तर विधान र नेता कस्तो हुनुपर्छ भनेर दलले नै छान्ने कुरा हो ।

म यहाँमार्फत् जेन-जी साथीहरूलाई आग्रह गर्छु, उमेर एउटा संख्या हो । कहिलेकाहीँ एक कार्यकाल मात्रै शासन गरेकाले पनि खराब काम गर्न सक्छन् । मुख्य कुरा नेतृत्वमा बस्नेले देशका लागि के गर्‍यो ? कस्तो छाप छोड्यो भन्ने हो ।

दोस्रो : नयाँ पुस्ता राजनीतिमा सक्रिय हुँदा पुरानो पुस्ता स्वाभाविक बिदा हुँदै जान्छ । त्यसका लागि युवा साथीहरूले पार्टी खोलेर जान सक्नुपर्छ । उमेरको समय तोक्नै पर्दैन । आफैँ पुरानो पुस्ता बिदा हुन्छ । युवा पुस्ताले विचार मिल्ने राजनीतिक दलमा आबद्ध भएर निर्वाचन लडेर आए उमेरको समय सीमा आवश्यक पर्दैन, आफैँ विस्थापित होइन्छ ।

विभिन्न मुलुकका पाका मान्छेले राम्रो गरेका छन् । कतै युवाले पनि गरेका छन् । तर यसका लागि निर्वाचन अपरिहार्य हुन्छ । युवाले देश परिवर्तन गर्ने सङ्कल्प राखेकोप्रति मेरो पूर्ण समर्थन छ । तर सबै पुराना नराम्रा नयाँ राम्रा भनेकोमा मेरो विमति छ ।

तेस्रो : घटनाको जरैसम्म अध्याय हुनुपर्छ । जो–कोहीलाई पनि यत्तिकै दोष लगाउन मिल्दैन । सत्य कुरा आउनुपर्छ ।

अहिले देशमा अलोकप्रिय पात्र केपी ओली हुन् भनिएको छ, यहाँले पनि देख्नुभएकै छ विभिन्न स्थानमा एमालेविरुद्ध प्रतिवाद भइरहेको छ । अध्यक्षमा ओली नै ल्याएर निर्वाचन फेस गर्न गाह्रो होला नि ?

यहाँले कुन जनमत लिनुभयो र यसो भने भन्ने कुरा हो । यो मनगढन्ते टिप्पणी हो । सामाजिक सञ्जाललाई आधार मानेर यस्तो कुरा गर्नुभएको भए यो भाष्य गलत छ । भदौ २३ गतेपछि पुराना पार्टी सकिए भन्ने भाष्य जबरजस्त निर्माण भएको छ । एमालेले दुई महिनाको छोटो अवधिमै आफूलाई सम्हालेर पुनर्व्यवस्थित गरिसकेको छ । एमालेका नेता अलोकप्रिय भनेर भन्ने कुराले यो निर्वाचनलाई असर गर्दैन । अघिल्लो निर्वाचनमा सबैभन्दा धेरै मतान्तरले जितेको नेतामध्ये हुनुहुन्छ ओली । त्यसपछि अर्को निर्वाचन भएको छैन ।

तर एमाले नेताहरूमाथि प्रहार भइरहेको छ नि ? जेन–जी आन्दोलन पनि सामाजिक सञ्जालको जगमा भएकाले यसलाई सामान्य हिसाबले हेर्न मिल्छ र ?

कुनै पनि नियोजित प्रहारलाई नेताको लोकप्रियता–अलोकप्रियताको मापका रुपमा हेर्नु हुँदैन । अराजकतालाई पार्टी र नेताको अलोकप्रियताको मापक बनाइए एकजना मान्छे कुनै कार्यक्रममा उभिएर ढुङ्गा हान्छ । त्यसलाई जनताले विरोध गरे भनेर मापन गरिए ? कालो झन्डा देखाएकोलाई मापन गरिए ? यो मापनको तरिका उचित हुँदैन । निर्वाचनबाहेक पार्टीको लोकप्रियता मापन गर्ने माध्यम अरू हुँदैन । सामाजिक सञ्जालमा त जे पनि हुन्छ । मिस इन्फरमेशनको बाढी नै छ । यहाँहरू मूलधारका मिडियामा बसेकालाई पनि थाहा छ । मिस इन्फरमेशन कति छन् र तीनले सत्य सूचना ओझेलमा पारेका छन् भनेर । सामाजिक सञ्जालका अपुष्ट र गलत कुराले कसरी मिडियाको विश्वसनीयतामा असर पारेको छ भनेर । सामाजिक सञ्जालमा आउने एकतर्फी सूचना या टिप्पणीलाई आधार मानेर निष्कर्ष निकाल्नु उचित हुँदैन ।

भनेपछि नेतृत्व परिवर्तन नभए पनि यहाँहरूलाई निर्वाचन फेस गर्न गाह्रो छैन ?

पहिलो : चुनौती छ । पहिलो कुरा त देश, लोकतन्त्र संकटमा छ । संविधान नै अप्ठ्यारो अवस्थामा छ । सबै पार्टीलाई समस्या छ । यो प्रश्न एमालेका लागि मात्रै होइन, अरूका लागि पनि छ । यही संकटमा नै पार्टीहरूको परीक्षण हुन्छ ।

दोस्रो : नयाँ पुस्ता समेट्नकै लागि महाधिवेशनमा हरेक निर्वाचन क्षेत्रबाट १, १ जना ४० वर्षमुनिका नयाँ पुस्ता समेट्न लागेको यहाँलाई थाहा छ । केन्द्रीय कमिटीमा पनि निश्चित प्रतिशत नै तोकेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन खोजिएको छ । हाम्रो पार्टीले नयाँ पुस्ता ल्याउन कोटा नै तोकेको छ । हामीले नयाँ पुस्ता ल्याउँदैछौँ । तर नेतृत्वमा अहिले नै सम्भव छैन । महाधिवेशनपछि हामीलाई निर्वाचन फेस गर्न गाह्रो छैन ।

अन्त्य, ११ औँ महाधिवेशनमा पुराना नेता दोहोरिँदा नयाँ विचार र नीति आउला त ?

यो कुरा महाधिवेशन प्रतिनिधिले नै निर्णय गर्नुहुन्छ । उहाँको विवेकमाथि यही निर्णय हुन्छ भन्नु उचित नहोला । महाधिवेशन प्रतिनिधिको विवेकलाई निर्णय गर्ने कुरा छोड्ने हो । तर एमालेलाई कस्तो नेतृत्व दिने भन्ने कुरामा पार्टी पङ्क्ति सचेत छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : ४६ बजे

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं

हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु

काठमाडौँ– बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य

धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य : मोदी

नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको

साउदीमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

काठमाडौँ– साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू