काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीशहरू अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकाेटाको इजलासले बिहीबार सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
यसअघि २९ असोजमा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यसपछि उनी डिल्ली बजार कारागारमा थुनामा रहेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।
दुबईबाट आएको जहाजमा इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको थियो । यस मुद्दामा जिल्लाले थुनामा पठाउन दिएको आदेश उच्चले उल्ट्याइदिएपछि महरालाई राहत भएको छ ।
चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार दर्ता भएको थियो ।
त्यसअघि गत असोजमै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पुगेर बयान दिएका थिए ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको थियो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगेर अब जेल यात्रा गर्नुपरेको थियो ।
यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो ।
त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।
भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए ।













प्रतिक्रिया