काठमाडौं–गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर हर्क सापाङ र धनगढीका मेयर गोपी हमालको राजनीतिक भविष्यलाई लिएर अनेक लख काटिँदैछ ।
कुलमानले उज्यालो नेपाल र हर्कले श्रम संस्कृति पार्टी दर्ता गरिसकेका छन् । गोपी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्कमा छन् । उनी कुलमानको उज्यालो नेपाल र रास्वपामध्ये एकमा जाने योजनामा छन् । तर बालेन्द्रको दोधार भने बुझिनसक्नु छ ।
तर यी सबैलाई समेट्न राष्ट्रिय स्वतन्त्र पार्टीले संवाद गरिरहेको छ । दर्ता भएको एक वर्षमै चौथो शक्ति भएर २०७९ सालमा संसद् यात्रा गरेको रास्वपा आगामी चुनावका लागि सबै वैकल्पिक शक्ति फकाउन लागेको हो । खासगरी सभापति रवि लामिछाने जेल गएपछि दबाब परेको रास्वपा आफ्नो शक्ति फर्काउने नयाँ नयाँ उपाय खोजिरहेको छ ।
बुधबार मात्रै स्वर्गीय उज्ज्वल थापाले खोलेको विवेकशील साझा पार्टी रास्वपामा मिसिएको छ । तर यहीबीचमा सुमना श्रेष्ठ र सन्तोष परियारसहितका नेताहरूले लर्को लागेर रास्वपा छाडेका छन् । जिल्लादेखि केन्द्रसम्मै पार्टी छाड्ने लहर चलेको छ । तर रास्वपा अहिले कांग्रेस र एमालेलाई टक्कर दिन नयाँ धारका व्यक्ति र समूहसँग संवादमा छ ।
रास्वपाबाट वार्ता समितिसंयोजक डा.स्वर्णिम वाग्ले र शिशिर खनाल वैकल्पिक शक्तिसँग निरन्तर वार्तामा छन् । कुलमानसँग डा. वाग्लेले कुरा गरिरहेका छन् । बालेनको समूहसँग शिशिर खनाल वार्तामा छन् । उनीसँग बालेननिकट सुनील लम्साल, सुदीप ढकाल, कुमार बेन र अस्मित पोखरेल लगायत सम्पर्कमा छन् ।
बालेनसँगै रास्वपा नेताहरूले भेटिसकेका छैनन् । कुलमानसँग भने डा.वाग्ले र खनाल दुवैले कुरा गरेका छन् । स्रोतका अनुसार रास्वपाप्रति बालेन नकारात्मक छैनन् । तर उनको समूहले अझै विचार नमिलिसकेको बताएको छ।
‘जेन–जी लगायत वैकल्पिक शक्ति एक ठाउँ आउने कुरामा द्विविधा छैन । तर यसको पूरै खाका आएको छैन’, बालेननिकट एकजनाले भने, ‘दल दर्ताको समय सकियोस्, निर्वाचनको माहोल आओेस्, अनिमात्रै निर्णयतिर जान सजिलो हुन्छ ।’
बालेनसँगको संवाद कहाँ पुग्यो ?
बालेनसँग अहिलेसम्म कुनै दल छैन । मिलेसम्म घण्टीबाट निर्वाचन लडाउने तयारी रास्वपाले गरेको छ । ‘बालेनले अन्य दल रोजेर निर्वाचनमा जाने सम्भावना कम छ । त्यहीअनुरूप छलफल भइरहेको छ’, ती नेताले भने, ‘रास्वपामा जस्तो आकर्षण अरुमा छैन । यो पार्टीमा बालेन आए, दुवैलाई फाइदा हुन्छ । अहिले देशव्यापी संगठन पनि निर्माण भइरहेको छ ।’
बालेनको अडान
१.रवि लामिछाने जेलमा हुञ्जेल कार्यवाहक सभापति बन्नु पर्ने । रवि जेलबाट छुटेपछि समान हैसियत हुनुपर्ने ।
२. निर्वाचनमा बहुमत ल्याउने गरी मिलेर जानुपर्ने, त्यसपछि सरकार बन्दा पूरा कार्यकाल प्रधानमन्त्री बालेनलाई दिनुपर्ने।
३. माथिका दुई शर्त मानेमा पार्टी, चुनाव चिह्न र नाम सबै मान्न तयार ।
४. निर्वाचन लड्दा पार्टी बाहिरको स्वतन्त्रलाई पनि टिकट दिनुपर्ने ।
५.रविको नेतृत्व मान्न तयार तर निर्वाचनपछि प्रधानमन्त्री बालेन हुनुपर्ने ।
बालेनले तर उता कुलमानको उज्यालो नेपालमा नजाने निकटहरूलाई बताएका छन् । कुलमान कुनै पनि बेला भ्रष्टाचार मुद्दामा जोडिन सक्ने कुरा आइरहेकाले उनको टिमले नै एकता टारेको खुलेको छ ।
कुलमानसँगका कुरा ?
कुलमानसँग दुवै तर्फबाट कुरा भइरहेको नेताहरू बताउँछन् । कुलमान रास्वपामा मिसिने भन्दा मोर्चा बनाएर चुनावमा जाने योजनामा रहेको नेताहरू बताउँछन् । ‘एकै दलबाट चुनाव लड्ने या मोर्चा बनाएर जाने कुरा भइरहेको छ । केही दिनमा कुरा क्लियर हुन्छ’, कुलमाननिकट एक नेताले खबरहबलाई भने, ‘हामी पार्टी छाडेर जाने पक्षमा छैनौँ, मिलेसम्म मोर्चा बनाऊँ । हाम्रो पार्टीको नाम र चुनाव चिह्नमा उहाँहरू सहमत भए अर्को अवस्था आउँछ । त्यो दुवैतिर छैन । निर्वाचनमा तालमेल सम्भावना बलियो छ ।’
रास्वपासँग कुलमानक शर्त
१.सभापति पद बालेन साहलाई दिनुपर्ने
२.पार्टीले बहुमत ल्याएमा प्रधानमन्त्री पद दिने सहमति गर्नुपर्ने ।
३.पार्टीको नाम उज्यालो भन्ने हुनुपर्ने, चुनाव चिह्न रास्वपाको मान्न तयार ।
४. रास्वपामा मिसिँदा उज्यालो नेपालको हैसियत समान हुनुपर्ने ।
अहिले रास्वपामा विघटित प्रतिनिधिसभामा २१ जना सदस्य छन् । २ लाखजति औपचारिक पार्टी सदस्य छन् । यस्तै ०७९ को निर्वाचनमा ११ लाख मत कटाउँदा देशको चौथो ठूलो दल छ । त्यहीकारण कुलमानका कुरा मान्न नसकिने नेताहरू बताउँछन् । रास्वपाको सङ्गठन ७७ जिल्लामा पुगेको छ ।
‘कुलमानजीका माग अप्ठ्यारा छन् । उहाँहरू परीक्षण भइसक्नुभएको छैन’, रास्वपाका एक नेताले भने, ‘उहाँहरू राजनीतिक अभ्यासमा नगइसकेकाले धेरै बल गर्न सकिँदैन । उहाँहरूसँग मोर्चा र तालमेल गर्न सकिन्छ ।’
बालेन र गोपी
अहिले बालेन चुप बसेमा घाटा लाग्ने अवस्था छ । यदि बालेन र गोपी रास्वपाबा निर्वाचन लड्ने अवस्था आए त्यसले देशभर असर गर्न सक्छ । यसले रास्वपाको अहिलेको आकारलाई दोब्बर ठूलो बनाउन सक् छ । पहिलेकै अवस्थामा रास्वपा एक्लै निर्वाचनमा गए अहिलेकै हैसियत जोगाउन पनि संघर्ष गर्नुपर्ने हुन सक्छ । अहिलेकै दृश्य यथावत रहे आगामी संसद्मा पनि रास्वापले कांग्रेस र एमालेसँगै मिलेर सरकार बनाउनुपर्ने अवस्था हुन सक्छ ।
मधेशमा रास्वपा कमजोर छ । बालेन मधेशी समुदायका भएकाले त्यहाँ पनि उभार आउन सक्छ । मधेश प्रदेशमा पनि रास्वपा प्रतिस्पर्धी बन्न सक्छ । रास्वपामा बालेन भित्रिए प्रत्यक्ष र समानुपातिक दुवैमा धेरै सिट तलमाथि हुने सम्भावना बलियो छ । बालेनसँगै जेन–जी पंक्ति पनि जोडिँदा यसले निर्वाचन परिणाम ठूलो अन्तर ल्याउन सक्छ ।
०७९ सालमा रास्वपाले उपत्यका र चितवनसहितमा उल्लेख्य मत ल्याउँदा मधेशका ८ जिल्लामा धेरै कमजोर देखियो । ०७९ मा ११ लाख मत कटाउँदा रास्वपाले मधेसबाट प्रत्यक्षतर्फ ३२ हजार मत पायो । समानुपातिक मत ७२ हजार कट्यो ।
यता सूदुरपश्च्मिमा गोपी हमालको पकड राम्रै छ । उनी रास्वपातिर लागेमा शक्ति बढ्न सक्छ । अहिले त्यहाँ एमाले कमजोर भएको छ । कांग्रेस पनि शेरबहादुर देउवा र शेखर कोइराला गुटको लडाइँले तनावमा छ । ‘गोपीजीसँग रास्वपाको वार्ता सकारात्मक भएको बुझेको छु । सायद उहाँले रास्वपा रोज्नुहोला’, एक नेताले भने, ‘हाम्रो मेयर र नेताहरूबीच धेरै संवाद भएको बुझेको छु ।’
कुलमान र हर्क
मधेशमा मात्रै होइन, रास्वपा पूर्वमा पनि कमजोर छ । इलाम २ मा गत वर्षको उपनिर्वाचन हुँदा मिलन लिम्बूले ५ हजार ५० मत ल्याए । यो मत रास्वपाका लागि सम्मानजनक होइन । ०७९ को निर्वाचन हेर्दा केशीमा रास्वपा २ लाख १४ हजार मतसहित तेस्रो दल बनेको थियो । समानुपातिकमा राम्रो मत ल्याए पनि उसले उपनिर्वाचन जित्न सकेन । लिम्बू पनि माओवादी छाडेका पूर्वपत्रकार हुन् । अर्कातिर रवि लामिछाने पनि वित्तीय अपराधमा मुछिएकाले इलाममा रास्वपालाई झट्का लाग्यो ।
रास्वपाले पूर्वको भोट बढाउन कुलमानसँग एकता गर्ने योजना बनाएको छ । कुलमानसँगै रास्वपाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि भित्र्याउन खोजेको छ । हर्कलाई भित्र्याए पूर्वीपहाडको ढोका खुल्छ ।
रास्वपाले ०८२ को निर्वाचनमा पनि ताप्लेजुङ, पाँचथर, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु, तेह्रथुम, धनकुटा, धरान लगायतमा जित्ने सम्भावना कम छ । हर्क र कुलमानसँग मिलेमा रास्वपाको पकड बढ्छ । यी जिल्लाहरूमा रवि र बालेनका समर्थक र मतदाता छन् । हर्कसँग पनि रास्वपाले संवाद गर्दैछ । मिले पार्टी एकता, नमिले चुनावी सहकार्यको तयारी छ ।
वैकल्पिक शक्ति मिल्दा कमजोर बन्न सक्छन् पुराना दल
रास्वपा, कुलमानको पार्टी उज्यालो नेपाल, बालेन लगायत एक ठाउँमा आएमा पुरानालाई दबाब पर्ने देखिन्छ । पुराना दललाई पाखा लगाउने योजनासहित रास्वपाले संवाद थालेको देखिन्छ ।
रास्वपाले पुराना दललाई नयाँ एक ठाउँमा आएको सन्देश दिन खोजेको छ । तर रास्वपामा आए पनि हर्क, कुलमान र बालेनलाई सभापति नै दिने गरी नेताहरू लचक हुन तयार छैनन् ।
तर फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्री, मन्त्री र अन्य नियुक्तिमा लचक हुने रास्वपाको तयारी छ । यसमा निर्वाचनअगाडि नै सहमति गरेर जान रास्वपा तयार देखिन्छ । कुलमान र बालेनको हकमा केही लचक भए पनि जेलमा रहेका रवि पनि अहिले सभापति छाड्ने पक्षमा छैनन् ।
रास्वपाले पार्टी सभापति पदबाहेक अन्य सबै दिन तयार रहेको जनाउ दिएको छ। रास्वपाले लोकतान्त्रिक धारका पार्टीहरू मिलाएर अरुलाई कमजोर बनाउन खोजेको छ ।













प्रतिक्रिया