अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना « Khabarhub

अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना

बिहीबार ६८ तस्बिर सार्वजनिक, बिल गेट्ससहित ५ हस्तीका नाम आए


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी- अमेरिकाको कुख्यात जेफ्री एपस्टीन सेक्स स्क्यान्डलसँग सम्बन्धित मुद्दामा आज सबैभन्दा ठूलो खुलासा हुन सक्ने अनुमान गरिएको छ।

एपस्टीन फाइलहरू सार्वजनिक भएसँगै यस स्क्यान्डलमा जोडिएका व्यक्तिहरूका नाम खुल्दै जाने सम्भावना छ।

यी फाइलहरूमा विश्वका प्रभावशाली व्यापारी र राजनीतिक नेताहरूको नाम उल्लेख भएको बताइन्छ। फाइलहरूमा हजारौँ पृष्ठका कागजात, ९५ हजार तस्बिर र बैंक रेकर्डहरू समावेश छन्।

स्क्यान्डलसँग सम्बन्धित ६८ नयाँ तस्बिरहरू बिहीबार राति सार्वजनिक गरिएको हो। ती तस्बिरहरू अमेरिकी संसदको हाउस ओभरसाइट कमिटीका डेमोक्रेट सांसदहरूले जारी गरेका हुन्।

सार्वजनिक तस्बिरहरूमा अर्बपति बिल गेट्स, गुगलका सह–संस्थापक सर्गेई ब्रिन, फिल्ममेकर वुडी एलेन, दार्शनिक नोम चोम्स्की र ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन गरी पाँच चर्चित व्यक्तिहरू देखिएका छन्।

एपस्टीन फाइल्सका ३ महत्वपूर्ण तस्बिर

१. पूर्व बेलायती राजकुमार एन्ड्रयू

तस्बिरमा प्रिन्स एन्ड्रयू १७ वर्षीया भर्जिनिया गिफ्रेकी कम्मरमा हात राखेको अवस्थामा देखिन्छन्। यो तस्बिर सन् २००१ मार्च १० मा लन्डनको एक घरमा खिचिएको हो।

२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

तस्बिरमा ट्रम्प ६ जना महिलासँग देखिन्छन्, ती महिलाहरूको अनुहार लुकाइएको छ।

३. पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन

यस तस्बिरमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन (बीचमा), जेफ्री एपस्टीन (दायाँ) र उनकी प्रेमिका गिस्लेन म्याक्सवेल (दायाँबाट दोस्रो) देखिन्छन्।

फाइलहरूमा के–के खुल्न सक्छ?

फाइलहरू सार्वजनिक भएपछि सरकारले केही विषयमा स्पष्ट जवाफ दिनुपर्नेछ। कागजातका कुन–कुन अंश कालो बनाइएका छन् ।

तर किन बनाइएका हुन् भन्ने जानकारी दिनुपर्नेछ। यसका साथै सार्वजनिक गरिएको सामग्री र सार्वजनिक नगरिएको सामग्रीबारे पनि स्पष्ट पार्नुपर्नेछ।

सरकारले ती सबै सरकारी अधिकारी र राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरूको सूची पनि सार्वजनिक गर्नुपर्नेछ, जसको नाम वा कुनै प्रकारको उल्लेख यी फाइलहरूमा आएको छ। फाइल जारी भएको १५ दिनभित्र यी सबै विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

यद्यपि, वास्तवमा कुन–कुन कागजात सार्वजनिक हुनेछन् र तीमध्ये कति नयाँ हुनेछन् भन्ने अझै स्पष्ट छैन। पछिल्ला करिब २० वर्षमा एपस्टीनका यौन अपराधसँग सम्बन्धित हजारौँ कागजात दीवानी मुद्दा र सूचना अधिकारमार्फत पहिले नै सार्वजनिक भइसकेका छन्।

अहिलेसम्म के–के सार्वजनिक भयो ?

एपस्टीन प्रकरणसँग सम्बन्धित धेरै कागजात पहिल्यै सार्वजनिक भइसकेका छन्। यसमा सन् २०२१ मा गिस्लेन म्याक्सवेलमाथि चलेको आपराधिक मुद्दा, न्याय मन्त्रालयका रिपोर्टहरू र विभिन्न दीवानी मुद्दाका कागजात समावेश छन्।

यस वर्षको सुरुवातमा न्याय मन्त्रालय र एफबीआईका ट्रम्प नियुक्त अधिकारीहरूले एपस्टीनसँग सम्बन्धित केही गोप्य फाइल सार्वजनिक गरेका थिए। तर तीमध्ये अधिकांश जानकारी पहिल्यै सार्वजनिक भइसकेको भन्दै ट्रम्प प्रशासनको आलोचना भएको थियो।

न्याय मन्त्रालयले यस वर्ष म्याक्सवेलसँग गरिएको विवादास्पद अन्तर्वार्ताका सयौँ पृष्ठ पनि सार्वजनिक गरेको थियो, जसमा उनले आफ्नो बचाउ गर्दै बयान दिएकी थिइन् र केही पीडितहरूको आलोचना समेत गरेकी थिइन्।

हालै हाउस ओभरसाइट कमिटीका डेमोक्रेट सदस्यहरूले डिसेम्बर १२ र १८ मा एपस्टीनको सम्पत्तिसँग सम्बन्धित कागजात र तस्बिरहरू सार्वजनिक गरेका थिए। ती तस्बिरहरूमा बिल गेट्स पनि देखिएका छन्।

एपस्टीन केसको पूरा पृष्ठभूमि

यो प्रकरणको सुरुवात सन् २००५ मा फ्लोरिडामा भएको थियो। त्यतिबेला १४ वर्षीया एक किशोरीकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीमा ‘मसाज’को बहानामा एपस्टीनको घरमा बोलाएर यौन दबाब दिइएको उल्लेख थियो।

अनुसन्धान क्रममा यो एउटा मात्र घटना नभएको खुलेको थियो। क्रमशः करिब ५० नाबालिग किशोरीहरूले एपस्टीनविरुद्ध यस्तै आरोप लगाए। पाम बीच प्रहरी विभागले गम्भीर अनुसन्धानपछि एपस्टीनविरुद्ध आपराधिक अनुसन्धान अघि बढाएको थियो।

जाँचमा एपस्टीनसँग म्यानहट्टन र पाम बीचमा आलीशान भिला रहेको र त्यहाँ उच्च–प्रोफाइल पार्टीहरू आयोजना हुने गरेको पाइएको थियो। ती पार्टीहरूमा धेरै चर्चित हस्ती सहभागी हुने गर्थे।

एपस्टीन आफ्नो निजी जेट ‘लोलिता एक्सप्रेस’ प्रयोग गरेर कम उमेरका किशोरीहरू पार्टीमा ल्याउने गर्थे। उनीहरूलाई पैसा, गहना र धम्की प्रयोग गरेर यौन शोषण गरिन्थ्यो। यसमा उनकी प्रेमिका तथा साझेदार गिस्लेन म्याक्सवेलले सहयोग गर्ने गरेको आरोप छ।

यति गम्भीर आरोप हुँदाहुँदै पनि एपस्टीन लामो समय जेल जानु परेन। सन् २००८ मा उनलाई केवल १३ महिनाको सजाय सुनाइयो, जसमा उनले जेल बाहिर गएर काम गर्नसमेत पाउँथे।

‘मी टु’ आन्दोलनपछि सतहमा आएको मुद्दा

सन् २००९ मा जेलबाट रिहा भएपछि एपस्टीन लो–प्रोफाइलमा बसे। आठ वर्षपछि अमेरिकामा ‘मी टु’ आन्दोलन सुरु भयो। सन् २०१७ मा न्यूयोर्क टाइम्सले हलिउड निर्माता हार्भे वाइनस्टिनविरुद्ध यौन शोषणसम्बन्धी रिपोर्ट प्रकाशित गरेपछि विश्वव्यापी सनसनी फैलियो।

८० भन्दा बढी महिलाले सामाजिक सञ्जालमा ‘#MeToo’ प्रयोग गर्दै आफ्ना अनुभव सार्वजनिक गरे। यसै क्रममा भर्जिनिया गिफ्रेले पनि एपस्टीनविरुद्ध गम्भीर आरोप लगाइन्। उनले तीन वर्षसम्म यौन शोषण सहनु परेको दाबी गरेकी थिइन्। त्यसपछि करिब ८० महिलाले एपस्टीनविरुद्ध उजुरी दिएका थिए।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : २३ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा