काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने भएको छ।
कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो ।
यी तीनजनालाई जेन-जी अभियन्ता सुधन गुरुङले वार्तामा बसाएका थिए । अब समानुपातिकतर्फको अन्तिम सूची पनि एकता सहमतिअनुसार समायोजन गरेर निर्वाचन आयोगमा लगिनेछ ।
कुलमानले यसअघि फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गरेका थिए । तर पछिल्लो समय उनले रास्वपामा आफूलाई दोस्रो वरीयता र २५ प्रतिशत हिस्सा चाहिने अडान राखेका थिए ।
तीन नेताबीच सहमति भएको खबर उनै सुदनले सार्वजनिक गरेका हुन् । अब तीनजनाबीच हस्ताक्षरपछि समानुपातिक सूची आयोगमा लगिनेछ । तर के कस्तो सहमति जुट्यो भन्ने बाहिर आइसकेको छैन ।
सहमति जुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय लगायतका नेताहरू कमल पोखरी पुगेका छन् । सुदन गुरुङले राष्ट्रियता र एकताका लागि पार्टीहरू एकीकरण भएको बताएका छन् ।













प्रतिक्रिया