काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन लागेको कार्यक्रमका कारण विवादमा परेकी छिन् ।
धार्मिक नगरी मथुरामा आयोजना हुन लागेको उनको कार्यक्रमलाई लिएर स्थानीय साधु–सन्तहरूले कडा विरोध जनाएका छन् ।
उनीहरूले सनीलाई भारतको उत्तर प्रदेशस्थित धार्मिक स्थान मथुरा प्रवेशमै रोक लगाउनुपर्ने माग गर्दै कार्यक्रम रद्द गर्न जिल्ला प्रशासनलाई पत्र बुझाएका छन् ।
भारतीय मिडिया अनुसार श्रीकृष्ण जन्मभूमि मन्दिर केसका मुख्य निवेदक दिनेश फलाहारी महाराजले ब्रजभूमि श्रीकृष्णको पवित्र रासलीलास्थल भएको भन्दै नयाँ वर्षको नाममा ‘अश्लीलता’ प्रदर्शन हुन नदिन कार्यक्रम रोक्न माग गरेका हुन् ।
सनी लियोनीको कार्यक्रम होटल ललिता ग्राउन्ड र होटल दा ट्रकमा हुने तयारी थियो, जसको प्रचार सनी आफैँले सामाजिक सञ्जालमार्फत गरेकी छिन् ।
साधु–सन्तहरूको तीव्र विरोधपछि कार्यक्रम हुने वा नहुने विषयमा अन्योल सिर्जना भएको छ । अब यसबारे प्रशासनले के निर्णय लिन्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ। उल्लेखनीय कुरा, मथुरामा सनी लियोनीको विरोध भएको यो पहिलो घटना भने होइन।













प्रतिक्रिया