जनयुद्धका बालसिपाही दिवस नेकपाको समानुपातिक सूचीमा, यसपाली पाउलान् न्याय ? « Khabarhub

जनयुद्धका बालसिपाही दिवस नेकपाको समानुपातिक सूचीमा, यसपाली पाउलान् न्याय ?


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

उदयपुर- ‘जनयुद्ध’ वा ‘सशस्त्र संघर्ष’—जे नाम दिए पनि माओवादी संघर्षले नेपालको राज्य संरचना, राजनीति र चेतनामा गहिरो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । गणतन्त्र स्थापना र आजको राजनीतिक उपलब्धिको आधार त्यही संघर्ष थियो ।

त्यही संघर्षबाट हुर्किएका, त्यही युद्धले अभिभावक गुमाएका र बाल्यकालमै बन्दुक बोक्न बाध्य भएका उदयपुर कटारी नगरपालिका–२ गुराँसेका ३८ वर्षीय विनोद कटुवाल ‘दिवस’ अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिक सूचीमा समेटिएका छन् ।

जनयुद्ध अन्त्य भएको झण्डै दुई दशक भइसक्यो । तर, त्यसले जन्माएका पीडा, बलिदान र सपनाहरू अझै हजारौँ मानिसका मानसपटलमा जीवित छन् । अपाङ्ग, घाइते, बेपत्ता र शहीद परिवारका आँखामा त्यो युद्ध अझै देखिन्छ ।

जनयुद्धका नाममा बनेका पार्टीहरूमा उनीहरू आफ्नो इतिहास खोजिरहेका छन् । योगदानको सम्मान र बलिदानको मूल्याङ्कन खोजिरहेका छन् । विनोद त्यही इतिहासका एक पात्र हुन् ।

बाल्यकालमै बाबुआमा गुमाएका उनी आज पनि आफूलाई जनयुद्धकै निरन्तर यात्रामा देख्छन् । भावुक हुँदै उनी भन्छन्, ‘यसपटक पार्टीले मेरो योगदान मात्र होइन, बाबुआमाको बलिदानको पनि मूल्यांकन गर्छ कि भन्ने आशा छ ।’

बाबुआमाको बलिदान, बाल्यकालमै संघर्ष विनोदका बुबा मोहन कटुवाल वर्गीय अन्यायविरुद्ध संघर्ष गर्दै जनयुद्धमा होमिएका थिए ।

विनोद सम्झन्छन्, ‘हजुरबुबाको नामको जग्गा स्थानीय सामन्तले कब्जा गरे । बुवाले विरोध गर्नुभयो । त्यसकै कारण कुटपिट, दमन र अपमान सहनुपर्‍यो ।’ राज्य र सामन्ती शक्तिको दोहोरो दमनपछि मोहन कटुवाल जनयुद्धमा पूर्ण रूपमा समाहित भए ।

२०५५ कात्तिक १२ गते उदयपुरको चिम्टाघारीमा मोहन कटुवालको हत्या भयो । त्यतिखेर विनोद ११ वर्षका थिए । बुबाको शहादतपछि परिवार गाउँमा बस्न सकेन । आमा गङ्गा कटुवाललाई २०५९ चैत ८ गते तत्कालीन शाही सेनाले घरबाटै पक्राउ गर्‍यो, त्यसपछि उनी बेपत्ता पारिइन् । तीन सन्तान सानै उमेरमा छरिए—कोही बुटवलतिर, कोही छिमेकीको शरणमा, कोही लुकेर जनयुद्धमै हुर्किए ।

‘जनयुद्धले मलाई बेसहारा बनायो’, विनोद भन्छन्, ‘त्यसैले बन्दुक बोक्न बाध्य भएँ ।’ कलम बोक्ने उमेरमा बन्दुक बोकेका उनी १३–१४ वर्षमै जनयुद्धका सिपाही बने । सिन्धुपाल्चोकबाट नेता पार्टी सम्पर्कपछि विनोद सिन्धुपाल्चोक पुगे । त्यहीँ उनको राजनीतिक र वैचारिक निर्माण भयो । अग्नि सापकोटा ‘कञ्चन’को परिवारसँग बस्दै पढाइ र संगठन दुवै सँगसँगै अघि बढ्यो । कुबिन्डेमा बसेको त्यो घर शान्ति प्रक्रियासम्म आइपुग्दा तीन जनाको शहादत सहेको थियो ।

विनोद बस्ने गाउँबाट मात्र १६ जना शहीद बनेका थिए । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन हुँदै उनी विभिन्न मोर्चामा सक्रिय भए । पूर्वका ठूला कारबाहीहरूमा संलग्न भए । ‘अरू केही नभए पनि म जनयुद्धकर्मी हुँ’, उनी भन्छन्, ‘नेपाली राजनीतिक इतिहासको एउटा अंश हुँ ।’

निरन्तर राजनीति, अवसरको प्रतीक्षा विनोद माओवादी केन्द्र हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशस्तरीय नेता हुन् । झण्डै एक दशक माओवादी केन्द्र उदयपुरको प्रमुख नेतृत्व सम्हाले । ०६४ सालमा पहिलो संविधानसभाका लागि नाम आए पनि उमेरकै कारण रोकियो ।

०७० र ०७४ मा टिकट माग्दा पनि अवसर पाएनन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा कटारी नगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बनेर पराजित भए । उनी भन्छन्, ‘पार्टीकै बागी उम्मेदवारका कारण हार व्यहोर्नुपर्‍यो ।’ योगदानको मूल्याङ्कन हुन्छ कि हुँदैन त भन्ने प्रश्नमा विनोदको भनाइ छ, ‘गणतन्त्र र आजको राजनीतिक उपलब्धि जनयुद्धकै परिणाम हो । अब जेन–जी आन्दोलनपछि देश समृद्धिको बाटोमा जानुपर्ने उनको धारणा छ ।’

‘अहिले दलभन्दा माथि उठेर देश सोच्ने बेला आएको छ’, उनी भन्छन्, ‘कर्ममा विश्वास गर्ने मान्छे हुँ । तर, गरेको कर्मको मूल्याङ्कन नहुँदा मन भक्कानिन्छ ।’

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : ०६ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।