काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिचको आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार उत्पादनमूलक उद्योगले औद्योगिक प्रयोजनका लागि मात्रै कच्चा पदार्थको रूपमा केराउ (एच.एस.कोड ०७१३.१०.१०), सुपारी (एच.एस.कोड ०८०२.८०.००), सेतो मरिच (एच.एस.कोड ०९०४.११.२०) र कालो मरिच (एच.एस.कोड ०९०४.११.३०) पैठारी गर्न पाउनेछन् ।
पैठारीका लागि अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको आवश्यकता, औचित्य र कच्चा पदार्थको उपलब्धताको प्राविधिक जाँचबुझ गर्नेछ । उद्योगले आयात गरेको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि मात्र सदुपयोग भएको सुनिश्चितता भएपछि र आवश्यक परिमाण यकिन भएपछि मात्र विभागले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पैठारीका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले नयाँ र पुराना दुवै किसिमका उद्योगका लागि निश्चित मापदण्डहरू तोकेको छ । जसमा नयाँ स्थापना भएका उद्योगले आयात गर्नको लागि उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता र चालु आर्थिक वर्षको उत्पादन लक्ष्यको स्वघोषणा लगायतका विवरण आवश्यक पर्नेछ ।
साथै, सञ्चालनमा रहेका उद्योगले थप अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, उद्योगको सञ्चालन अवस्था र गत वर्ष आयात गरिएको कच्चा पदार्थको परिमाण तथा त्यसको उपयोगबाट भएको उत्पादन र बचतको विवरण समेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीका अनुसार सो नयाँ सूचना लागू भएसँगै यसअघि २०८१ असोज ७ गते र २०८१ फागुन १ गते प्रकाशित गरिएका पुराना सूचनाहरू खारेज गरिएका छन् ।













प्रतिक्रिया