काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् । पार्टी निर्माणमा उनको महत्वपूर्ण भूमिका छ । पार्टी स्थापना भएपछि संगठन विस्तारका लागि देशभर दौडिरहेका लावतीको नाम समानुपातिक सूचीमा समेत समावेश थियो । तर उनले नाम फिर्ता लिए ।
पञ्चायती व्यवस्थामा राजाले पत्याएका विकासवादी नेता पद्मसुन्दर लावतीका जेठा छोरा हुन्– महेन्द्र । अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक डा. लावती उज्यालो पार्टीका उज्यालो अनुहार मानिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो पार्टीबीच एकता नहुने भएपछि अहिले उज्यालो नेपाल समानुपातिकमा अन्य कुनै दललाई सघाएर प्रत्यक्षमा आफैँ निर्वाचन लड्ने तयारीमा छ ।
दुई पार्टीको एकता कसरी भाँडियो ? पूरक सहमति के के कुरामा गर्न लागिएको थियो ? एकता भाँडिनुमा को बढी जिम्मेवार छ ? एकता भाँडिन कस्ता कस्ता सर्त बाधक भए ? उनै लावतीसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश-
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीको एकता भाँडिनुको मुख्य कारण के हो ?
१४ गते हामीले एकता गर्दा धेरै सहमति गरेका थिएनौँ । त्यसदिन पर्दाअगाडि केही सहमति भएका थिए तर पर्दापछाडि अन्य थुप्रै सहमतिहरु थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले एकपछि अर्को गर्दै सिलसिलाबद्ध तरिकाले धोका दिनुभयो ।
उदाहरणको लागि हामीले १४ गते एकता गर्ने भए धर्मनिरपेक्ष राज्य, गणतन्त्र, संघीयता समावेशी समानुपातिकता, बहुसंस्कृतिवाद र राष्ट्रिय एकतामा कुरा मिल्यो भने मात्र उहाँहरुसँग एकता गर्ने भनेका थियौँ । त्यतिखेर उहाँले हुन्छ भन्नुभएको थियो ।
दुर्भाग्य उहाँहरु आफैँले दिएको बचनअनुसार सहमतिमा आउन तयार हुनुभएन । हाम्रो पार्टीमा त्यो विषयले गहिरो असन्तुष्टि आयो । असन्तुष्टिबारे उहाँहरूसँग कुरा गर्दा पूरक सहमति गरौँ न त भन्ने कुरो आयो । पूरक सहमतिमा पनि त्यो कुरो राखौँ न त भनेपछि उहाँहरूको वार्ता टोलीमा भएका साथीहरुले त्यो कुरा मान्नुभयो । म आफैँ पनि त्यो वार्ता टोलीमा थिएँ ।
तर पछि पुनः उहाँहरुले पुरक सहमति गर्नुपर्छ र त्यसमा हामी क्लियर छौँ नि भन्दा आनाकानी गरेर अनेक सहमतिबाट उम्किन अनेक निहुँ देखाउनुभयो । उहाँहरुले निरन्तर अड्को थाप्दै थाप्दै जानुभयो । पूरक सहमति हुने प्रक्रियामा थियो तर त्यो विषय रोक्दै अगाडि बढ्दै गएपछि उहाँहरुको नियतमा शंका स्पष्ट भयो ।
यहाँहरूमा विवादको चुरो विषय के हो ?
१४ गतेकै दिन उहाँहरुले १८ जनाको नाम समानुपातिकको बन्द सूचीमा पठाउने भन्नुभएको थियो । उहाँहरुले १८ जना नै जित्ने गरी आउनको लागि १८ जनाको मात्रै नाम राख्ने सहमति भएको थियो । हाम्रा नेताहरूले १८ जनाको लिस्ट उहाँहरुलाई छोडेर जानुभयो । त्यसमा जानीजानी दुईवटा धोका भयो । एउटा १४ जनाको मात्रै नाम राख्नुभएछ अर्को १४ जनामा पनि सबै नामहरू तल तल नजित्ने ठाउँमा छन् । एकजना मात्रै जित्ने ठाउँमा हुनुहुन्छ ।
हामीले उहाँहरूलाई त्यो कुरा भेटेर राख्यौँ तर उहाँले टेक्निकल इस्यु भएकाले मिलाएर जान्छौँ भन्नुभयो । धेरै समय पर्खँदा पनि उहाँहरुले मिलाउनु भएन । उहाँहरूबाट निरन्तर रूपमा एकपछि अर्को धोका हुँदै गयो ।

१४ गते बेलुका सहमति गर्दा उपसभापति कुलमान दाइलाई दिने वरियता रविपछि दोस्रो हुने र महामन्त्री पद दिने भनेको रहेछ । महामन्त्रीमा जेन्टल सहमति भयो किनभने यत्रो एकता गरिसकेपछि लिखित गर्ने कुरा थिएन । तर पछि उहाँहरुले सहममन्त्री मात्रै दिने अरु ठाउँ खाली छैन भन्या जस्तो कुरा गर्नुभयो ।
सुरुको वार्तामा बोलाउँदा भर्बली कमिन्टमेन्ट गर्नुभयो । लिखित गर्न पनि तपाईं हामी त हो मिलिहाल्छौँ भनेर रविजीले हाटहुट गर्नुभएछ । त्यसपछि हामीले पूरक सहमतिको लागि छलफल गर्दा यी विषयहरू मिलेका छन् भनेर हामीले लिखित नै गरेका छौँ । त्यो अनौपचारिक छ । पूरक सहमतिमा लगभग मुद्दामा कुरा मिलेको थियो । मुद्दामा कुरो मिल्यो तर पदको विषयमा कुरा मिलेन भनेर हामीले लेखेका थियौँ ।
पूरक सहमतिको ड्राफ्ट हामीले लगभग १८–१९ गतेतिर तयार पारेर दुवै पक्ष बसेर यी कुरा मिले, यी कुरा मिलेनन् भनेर शीर्ष नेताले छलफल गरौँ भनेका थियौँ । त्यो वार्तामा म आफैं सहभागी भएर साइन गरेको छु ।
सुरुमा बोलाउने अनि मान्छौँ भन्ने अनि छलफल चल्दै गएपछि उहाँहरुले आफ्नो पार्टीमा कुरा राख्ने अनि पार्टीमा कुरा राखेपछि अर्को मन भएर आउने गर्दा सहमति तोडिँदै जाने अवस्था भयो। सुरुवातदेखि नै ल्याङल्याङ भएपछि छक्क पर्ने अवस्था आएको थियो ।
पार्टी एकताको निष्कर्षबाट पछि हट्ने अवस्थामा कसरी पुग्नुभयो ?
हामीले सबै कुरा टुङ्गो लगाउने भनेर बैठक बसिरहेका थियौँ । पूरक सहमतिहरू गर्ने र औपचारिक जानकारी गराउने विषयमा कुराकानी भइरहेको थियो । उहाँहरूलाई पूरक सहमतिका विषयहरू यी यी हुन् भनेर औँल्याएर पठाउने तयारी गर्दै थियौँ ।
उहाँहरूको महामन्त्रीले हामीलाई फोन गर्नुभयो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेर तपाईहरुसँग मिल्न सकिँदैन भन्ने कुरा गर्नुभएछ । मैले जानकारी गराएको हुँ भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री नै फोन गरेपछि हामीले के रहेछ कुरा भनेर बुझ्न काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फोन गर्यौँ तर उहाँहरुले फोन उठाउनु भएन । मिडियामा एकतर्फी रूपमा सहमति भएन भन्ने किसिमका न्यूजहरू सम्प्रेषण भएको सुनियो । त्यसपछि हामी लोयल भएर ढोग्न जाने विषय थिएन ।
भित्री रुपमा उनीहरुले कस्तो नियत रहेको पाउनुभयो ?
उहाँहरूमा हामी गएर उहाँहरूको पार्टी क्याप्चर गर्दिन्छौँ । हाम्रा नेताहरुले राम्रो काम गर्नुहुन्छ, उहाँहरु परिपक्व हुनुहुन्छ भन्ने रहेछ । यदि तपाईंहरूलाई त्रास छ भने हामी केहीमा पनि नबसौँला साधारण सदस्यको रुपमा बसौला भनेका थियौँ ।
उहाँहरूको नियत चाहिँ नियोजित तरिकाले हामीलाई अलमल्याइराख्ने रहेछ । हामीले यो आठ दश दिनमा त संगठन विस्तार लगायतका कामहरु ठप्पै पारेका थियौँ । त्यसमा पनि कमिटी बनाएर समायोजन गर्ने भनिएको थियो । त्यसमा पनि उहाँहरुले चासै राख्नुभएन ।

उहाँहरू निरन्तर आफ्नो संगठन विस्तार गर्ने लगायतका काममा रहनुभयो । तर हामीलाई अलमल्याई राख्नुभयो । जब हामीलाई रियलाइज भयो, उहाँहरुले हामीलाई अलमल्याइरहनुभएको छ र रोकिरहनु भएको छ । जब रवि र बालेन्द्रको बैठकले हामीलाई अलग्याउने निर्णय गरेको खबर आयो त्यसपछि हामी आफ्नो ढंगले अगाडि बढेका हौँ ।
उहाँहरूको दिनदिनै कुरा फेरिरहन्थ्यो । कहिले पद दिने कहिले नदिने, कहिले हाम्रा नेता व्यवस्थापन गर्ने कहिले आनाकानी गर्ने लगायत कामहरु भएपछि हामी हैरान थियौँ ।
कुलमानको फोन पनि रेस्पोन्स नभएको हो ?
हो, उहाँले पनि धेरैपटक फोन गर्नुभएको हो बालेन्द्र शाह र रवि लामिछानेलाई । उहाँहरूको फोन उठेन । अरु साथीहरुले पनि पटक, पटक फोन गर्दा नउठेपछि हामी त अचम्मित भयौँ । हामीलाई समानुपातिकमा पनि नाम बुझाउन दिइएको थिएन । यो त ठूलो राजनीति बेमानी हो तर हामीले पाठ सिकेका छौँ ।
त्यसपछि रवि र कुलमान भेटवार्ता, भेटघाट भएको छैन ?
त्यसयता रवि– बालेन्द्र– कुलमानको भेटवार्ता कुनै पनि रूपमा भएको छैन । बालेन र रविको भयो भने हामीलाई जानकारी छैन । दोस्रो तहमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालका नेताहरूबीच वार्ता औपचारिक अनौपचारिक कुनै पनि हिसाबमा भएको छैन ।
हामी उज्यालो नेपालका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य मात्रै पूरक सहमति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई भेट्ने तयारीमा थियौँ । तर, बाहिर एकता नहुने भन्ने खबर फैलिएपछि च्याप्टर बन्द भयो ।
उज्यालोमा त थुप्रै पूर्व कर्मचारीहरू नेता बनेर आउनुभएको छ । राजनीति विषय पढाएका र अन्तर्राष्ट्रिय राजनीति बुझेका नेताहरू पनि हुनुहुन्छ । त्यसैले हामीलाई आफ्नै सामर्थ्यमा राजनीति गर्न समस्या छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी र तपाईंहरूबीच एकता खल्बलिनुमा दृश्य, अदृश्य अरु कसैको हात रहेको मेसो पाउनु भएको छ ?
एकतामा कसैले खेलेको पनि हुनसक्छ । तर त्यो मेजर कुरा भन्दा पनि हाम्रो जो अर्को पक्ष एकतामा आयौँ भन्नेहरू एकताको भाष्य निर्माण गर्ने र अन्त्यमा उज्यालो नेपाल पार्टीलाई झुक्याउन पाएकोमा गौरव गरेजस्तो देखियो ।
हामीलाई काम गर्नबाट रोकेर आफ्नो प्रभाव बढाउने उद्देश्य रहेछ । अहिलेका सबै घटनाक्रमहरू १४ गतेको सहमति लिखत गर्न नमान्ने थोरै कुरा मात्र लिखत गर्ने यी सबै क्रियाकलापहरु हेर्दा अरु बाह्य खेलभन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरूको नियोजित रुपमा खेल हो। उज्यालो नेपालको आकर्षण बढ्यो, त्यसैले उहाँहरु एकता गर्ने बाटो रोक्न लाग्नुभयो ।
अब तपाईंहरुको भावी रणनीति के छ ? चुनावमा अन्य दलसँग सहकार्य गरेर जाने योजनामा हुनुहुन्छ कि ?
विभिन्न दलहरूसँग छलफल भइरहेको छ । तर हामी समानुपातिकमा मात्रै उहाँहरुलाई सघाउँछौँ । प्रत्यक्षमा हाम्रा साथीहरु आफैं उठ्नुहुन्छ । प्रत्यक्षमा एक दुई सिट जित्ने दलहरूसँग हामी सहकार्य गरेर अगाडि बढ्छौँ ।
समानुपातिकमा उहाँहरूलाई सघाउँछौँ । अशोक राई लगायतका साथीहरू पनि छलफलमा हुनुहुन्छ । हामीसँग थुप्रै जेन-जी साथीहरू पनि छलफलमै हुनुहुन्छ ।
अरुसँगको एकताका लागि को को छलफल गर्दै हुनुहुन्छ ?
वार्ता टोलीका साथीहरू हुनुहुन्छ । अहिले यो यो भनेर म नाम भन्ने अवस्थामा छैन किनकि उहाँहरुलाई डिस्टर्ब हुनसक्छ । अध्यक्ष स्वयंले यसमा संयोजन गरिरहनु भएको छ। समय हामीसँग धेरै छैन, त्यसले गर्दाखेरि वार्ता टोली गठन गरेका छौँ । यी यावत विषयको जिम्मा वार्ताटोलीलाई छ ।













प्रतिक्रिया