२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो « Khabarhub

नेकपा केन्द्रीय कमिटी

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो



काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार २४ सय ९९ केन्द्रीय कमिटी बनाएको छ ।

भद्दा र अति नै ठूलो आकारको केन्द्रीय कमिटी बनाएको भन्दै अहिले नेकपामाथि कटाक्ष भइरहेका छ । विशेषगरी नेकपा एमालेको पंक्तिले नेकपाको केन्द्रीय कमिटीप्रति व्यंग्य कसिरहेको छ। एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पार्टी सदस्यभन्दा बढी केन्द्रीय सदस्य भएको भन्दै कटाक्ष गर्छन्। 

तर नेकपा यो कुरा मान्न तयार छैन । २० वटा घटक मिलेका कारण संगठनको आकार ठूलो बनाउनुपरेको दाबी उनीहरू गर्छन् । नेकपा नेता देव गुरुङले सबै घटकहरूबीच ध्रुवीकरण हुँदा संगठनको आकार ठूलो भएको बताए । 

‘२० वटा घटकहरूबीच मिलाउँदा संगठनको आकार ठूलो भएको छ। हामी यसलाई करेक्सन गरेर जान्छौँ’, गुरुङले खबरहबलाई भने,’ आगामी महाधिवेशनपछि उचित आकारको संगठन बन्छ ।’

अर्का नेकपा नेता राजेन्द्र पाण्डे पनि गुरुङको जस्तै निर्वाचनपछि सानो आकारको संगठन बन्ने बताउँछ। 

‘भद्दा संगठन भएको कुरा हामीलाई पनि थाहा छ तर सबैको समायोजन गरेर जाँदा यस्तो भएको हो । नेकपा माओवादी केन्द्रका साथीहरू नै ६,७ सय हुनुहुन्छ। त्यसपछि एकीकृत समाजवादीका पनि ४ सय ५ सय हुनुहुन्छ’, पाण्डेले अगाडि भने, ‘छ महिनामा महाधिवेशन हुने भएकाले यसलाई सच्याएर गइन्छ ।’

एकता ? 

नेकपाका शीर्ष नेता झलनाथ खनालका अनुसार २० वटा घटक मिलेकाले ठूलो केन्द्रीय सदस्य सम्मिलित कमिटी बनाइएको हो । 

खनालका अनुसार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव  नेतृत्वको नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठको समूह, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिबीच एकीकरण भएको छ । 

नेपाल कम्युनिस्ट पार्टीको चेतबहादुर पुन समूह, राज कार्कीको नेकपा समाजवादी, शिवालाल थापा निकट जसपा नेपाल, प्रेमबहादुर सिंह नेतृत्व रहेको नेकपा साम्यवादी, बाम नेता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, केशव दाहाल नेतृत्वको माओवादी कम्युनिस्ट केन्द्र  नेपालबीच एकीकरण भएको छ । 

यस्तै प्रमोदनारायण यादव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी, सुभाषराज काफ्लेको जनसमाजवादी पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादी, विष्णुप्रसाद खनाल संयोजक रहेको जनजागरण पार्टी, केशव दाहाल अध्यक्ष रहेको माओवादी कम्युनिस्ट केन्द्र, शरद रसाइली संयोजक रहेको नेकपा बहुमत विद्रोह समूह, मनिष लिम्बुको लिम्बुवान क्रान्ति मिलेका छन् ।

गोपाल किरातीको देशभक्त समाजवादी पार्टी, गोपाल परिवार नेतृत्वको नेकपा विद्रोही समूह, विचारमान थिङ अध्यक्ष ग्रेटर नेपाल कम्युनिस्ट पार्टी नेकपा मिलेका छन् ।

के भन्छन् नेता ?

रेखा शर्मा पूर्व माओवादी

एकताको विशिष्ट चरणमा भएकाले सबैलाई मिलाउनुपर्ने अवस्था छ। नीतिगत रूपमै एकतामा आउने घटकका केन्द्रीय सदस्यहरूलाई एकतापछिको पनि केन्द्रीय सदस्य मानेपछि यो संक्रमणकालमा भद्दा संगठन भयो त्यो साँचो कुरा हो ।

छ महिनापछि महाधिवेशन गरेर यसलाई टुङ्गोमा पुर्‍याउँछौ। यत्रा धेरै पार्टी मिल्दा भद्दा त स्वाभाविक भइहाल्यो नि । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा चाहिँ कार्य विभाजन गरेर हेर्नुपर्छ ।

कार्यसमिति ६०१ जनाको हामीले निर्वाचन आयोगमा पेश गरिसकेका छौँ । यो चाहिँ केन्द्रीय समिति नीतिगत काम गर्ने गरेर भएको समिति हो। महाधिवेशनपछि यसलाई चुस्त बनाएर जान्छौँ । 

स्वाभाविक रूपले अहिलेका केन्द्रीय सदस्यहरू सबै निर्वाचनमा महत्त्वपूर्ण भूमिकासहित परिचालन हुनुहुन्छ । हामीलाई बहुमत ल्याउन समस्या छैन। 

गङ्गानारायण श्रेष्ठ, पूर्व नेसपा

करिब-करिब तीन दर्जन नजिकका घटक मिलेर बनेको केन्द्रीय सदस्य भएको हिसाबले ठूलो संगठन देखिन्छ । विभिन्न पार्टीहरूको एकता र ध्रुवीकरण पछि बनेको केन्द्रीय समिति हो । 

यसलाई चाँडोभन्दा चाँडो विधि प्रक्रिया र महाधिवेशनमा लगेर सानो बनाउने कुरामा जोड दिएका छौँ ।सङ्क्रमणकालीन अवस्थामा योभन्दा सानो कमिटी बनाए नेताहरूलाई मिलाउन र समायोजन गर्न समस्या हुन्छ । 

यसलाई अन्यथा बुझ्नु नहुने उनी बताउँछन्। ‘जति कोसिस गरेपनि यो भन्दा सानो संगठन बनाउने अवस्था रहेन । महाधिवेशनपछि फेरि सानो कमिटी बनिहाल्छ। भविष्यको बारेमा अहिले नै प्रक्षेपण गर्नु त्यति राम्रो कुरा हुँदैन’, उनले भने ।  

पुराना मूलधारका कम्युनिष्ट पार्टीहरूमा जुन किचलो देखिएको छ, अहिलेको हिसाबले भन्दा ती पार्टीहरू भन्दा सबैभन्दा धेरै आकर्षण अहिले नेकपामै छ। कम्युनिस्ट र वामपन्थी पार्टी भनेर नेपालमा अलगअलग पार्टी बनाइरहनु जरुरी छैन। यसलाई नै एउटा मूलधारको रुपमा लानुपर्छ र जसरी दिनानुदिन ध्रुवीकरण केन्द्रीकरण र एकता भइरहेको छ यसले एकता पुष्टि गर्दै गएको छ । भोलि निर्वाचनमा पनि यही ढङ्गको परिणाम आउँछ भन्ने हाम्रो विश्वास हो ।

आरती लामा, पूर्व एकीकृत समाजवादी

जेन-जी आन्दोलनपछि यो आन्दोलनको मर्मलाई बोकेको बुझेको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो। अन्य पार्टीभन्दा नेपाल कम्युनिष्ट पार्टी नै जेन-जको निम्ति यो पार्टी नै भरपर्दो पार्टी हो । 

वाम कम्युनिष्ट पार्टीहरू ध्रुवीकृत हुने अवस्थामा केन्द्र नेपाल कम्युनिस्ट पार्टी हो । सबै खालका राजनीतिक दल र घटकहरूबीच एकताको भाव झल्किनुपर्नेछ । एकता झल्काउनुपर्ने कारणले आज यो कमिटी बनेको हो । युवाको ठाउँबाट यसलाई हामीले स्वागतयोग्य नै मानेका छौँ । 

यहाँ जेन-जी साथीहरूको ठूलो उपस्थिति छ किनभने विभिन्न विद्यार्थी आन्दोलनमा र आन्दोलनमा सरिक भएका पुस्तालाई पनि हामीले समेटेका छौँ । समावेशी चरित्रको कमिटी बन्दा ठूलो र भद्दा आकारको देखिएको हो ।

संयोजक कमरेड प्रचण्ड र सहसंयोजक माधव नेपालले पनि भनिसक्नु भएको छ। हामी महाधिवेशनसम्म यही तरिकामा जान्छौँ। अहिले हामीले युवाले चाहेजस्तो कमिटी युवाको अझै उपस्थिति हुने गरीको बनाएर जाने कुरा महाधिवेशनले निर्धारण गर्छ । महाधिवेशनपछि  युवाहरूको उपस्थिति हुन्छ भन्ने हाम्रो विश्वास हो। उत्साहपूर्ण ढङ्गले थुप्रै युवा साथीहरू पार्टीमा आबद्ध भएका छन्। 

मुस्कान खातुन जेन-जी 

धेरै दल मिलेका कारण यो ठूलो आकारको भएको देखिन्छ। दुई दर्जन दल भनेको त ठूलो भयो नि । जेन-जीको मर्म चाहिँ खास यस्तो ठूलो संगठन बनाएर अघि बढ्ने किसिमको थिएन तर सबैलाई समायोजन गर्दा भत्ता किसिमको देखिएको हो । 

केन्द्रीय सदस्य पनि नयाँ नयाँ धेरै जना फ्रेस छन्। नयाँ केन्द्रीय सदस्य पनि बढेकाले सबैलाई समायोजन गर्नुपर्नेछ सकेसम्म जेन-जी उमेरका युवाहरू पनि धेरैभन्दा धेरै पार्टीमा हुनुहुन्छ। सबैको संघर्ष आआफ्नो ठाउँमा छ । 

सबै नेताहरू खटेर नै निर्वाचनका निम्ति परिचालित भइरहेको देखिएको छ। हाम्रो उद्देश्य टिमवर्क गरेर जानुपर्छ भन्ने छ।

निर्वाचनपछि कसको कति पर्सेन्ट भोट आउँछ र कति आयो भन्ने कुरा चाहिँ समयले बताउँछ । पार्टीलाई माया गर्ने थुप्रै जना नेताहरू हुनुहुन्छ। निर्वाचनको लागि परिचालित हुन सहज हुन्छ।

स्वाभाविक रूपमा कमिटी ठूलो भयो भन्ने विषयमा हाम्रो पनि कुरा हो। तर महाधिवेशनपछि यसलाई चुस्त र सानो संगठन बनाएर जान्छौँ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : ४७ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ