काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट उम्मेदवारी दिएनन्। २०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट विजयी उनले विशेष महाधिवेशनअघि नै यस पटक कहीँबाट नउठ्ने निर्णय लिए ।
एउटै व्यक्ति सधैँ पदमा टाँसिरहनु हुँदैन भन्ने मान्यतासहित आफूले उम्मेदवारी नदिएको शर्मा बताउँछन । उम्मेदवारी नदिए पनि आफ्ना नेताहरू जिताउन धेरै खट्ने विश्वप्रकाश बताउँछन् ।
अहिले उनी कांग्रेसलाई बहुमतसहितको पहिलो शक्ति बनाउने तयारी गरिरहेका छन्। कांग्रेस सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाएर विश्वप्रकाशले भित्री रणनीति तयार गर्न काम गरिरहेको कांग्रेस नेताहरू बताउँछन् ।
कांग्रेसलाई विशेष महाधिवेशनसम्म लगेर नयाँ नेतृत्व चयन गर्न विश्वप्रकाशले गगनसँग काँधमा काँध मिलाए । गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउँदा शर्माले विभिन्न विकल्प अगाडि सारेका थिए।
कांग्रेसमा गगनलाई अगाडि बढाउँदा विश्वप्रकाशले खुट्टा तान्ने गरेको आरोप पनि लाग्ने गरेको छ। तर कांग्रेसको विशेष महाधिवेशनदेखि फागुन २१ को चुनावमा होमिँदासम्म विश्वप्रकाशले गगनलाई दह्रिलो साथ दिइरहेका छ्न । उनले गगनविरुद्ध अन्तर्घात गर्छन् भन्ने भाष्य पनि चिरेका छन्।
गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सारिरहँदा किन निर्वाचनमा भाग लिनुभएन भन्ने प्रश्नमा उनी तीनपटक उम्मेदवार भइसकेपछि साथीहरूलाई पालो दिने वाचालाई पालना गरेको बताउँछन् ।
‘एउटै व्यक्ति पटकपटक उम्मेदवार भइरहँदा अरुले अवसर नपाउने समस्या हुन्छ । जनताले पनि ऊर्जासहित निर्वाचनमा सहभागिता नजनाउने भएकाले अरुलाई ठाउँ छोडिदिएको हो’, उनी भन्छन् ।
२०७० सालमा पहिलो चुनाव लड्दै गर्दा नै आफूले एकै क्षेत्रमा सदैव उम्मेदवार नहुने घोषणा गरेको उनले स्मरण गराए । ‘२०७० सालमा पहिलो पटक चुनाव लड्दा नै मैले म सदैव उम्मेदवार भइरहने होइन भनेको थिएँ’, उनी सुनाउँछन्, ‘लगतार तीन पटक उम्मेदवार बनिसकेँ। त्यही बेला नै साथीहरूका लागि मैदान छोड्ने मेरो प्रतिबद्धता थियो।’
तर शर्माले उम्मेदवारी नदिएर सदाका लागि राजनीति नछोडेको पनि बताएका छन्। उनको संकेत आगामी निर्वाचनमा उम्मेदवारी हुनसक्नेतिर थियो ।
‘मैले उम्मेदवारी नदिने भनेको साथीहरूलाई पालो दिन हो । यसको अर्थ विश्वप्रकाशले अब सदैवका लागि राजनीति छोड्यो भनेर नबुझ्नुहोला,’ शर्माले भनेका छन् ।
वाककला र विचारमा स्पष्ट विश्वलाई कांग्रेसको बौद्धिक र प्रभावशाली नेताका रूपमा मानिन्छ ।

गगनलाई दिएको साथ
कांग्रेसको विशेष महाधिवेशनमा अन्तिममा विश्वप्रकाश देउवा पक्षमा खुल्ने धेरैले अनुमान गरेका थिए। तर उनले विशेष महाधिवेशन सफल बनाउन गगनलाई साथ दिएनन् मात्रै सभापति पनि बनाए ।
उमेरले गगनभन्दा विश्व जेठा हुन् तर उनले विचारमा स्पष्ट र नवपुस्ताले रुचाएका गगनलाई अगाडि बढाए। ‘विश्व दाइले गगन दाइलाई अगाडि बढाउन दह्रो साथ दिनुभएको थियो । यो पटक उहाँको साथबिना गगन दाइ अगाडि बढ्न सम्भव थिएन’ कांग्रेस महामन्त्री प्रदीप पौडेल भन्छन,‘कांग्रेसलाई बलियो बनाउन र नीति-सिद्धान्तमा स्थापित गर्न उहाँले उम्मेदवारी दिनुभएन । आगामी प्रधानमन्त्रीका रुपमा गगन थापालाई सघाएर बढ्नुभएको छ। उहाँ हाम्रो कमान्डर नै हो।’
शर्मा यसपटकको निर्वाचनमा कांग्रेसबाट चुनावी कमान्डर छन् । गगनले घोषणा पत्र लेख्दा उनले देश दौडाहा गरेर कांग्रेसको पक्षमा चुनावी माहोल बनाउनेछन् । उनी त्यसकै लागि अहिले रणनीति निर्माण अभियानमा जुटेका सहयोगी नेताहरू बताउँछन् ।
‘कांग्रेसको बहुमत ल्याउन शर्माले रणनीति र योजना बनाइरहनुभएको छ । यस्तो विषयमा उहाँलाई राम्रो ज्ञान छ’, कांग्रेसका एक युवा नेता भन्छन्, ‘उहाँ कांग्रेसको प्रतिबद्धतालाई अन्तिम रूप दिने काममा लाग्नु भएको छ।’

झापा १ को अवस्था ?
२०७९ को निर्वाचनमा शर्मा यस क्षेत्रबाट भारी मतले विजय भएका थिए। शर्माले १४ हजार २ सय ७५ मतान्तरले नेकपा एमालेका नेता अग्नि खरेललाई हराएका थिए।
२०७४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भएका उनी २०७९ को निर्वाचनमा भने लोकप्रिय मतसहित विजयी भए ।
त्यसबेला खरेलले २५ हजार ३ सय ४९ मत ल्याए। शर्माले ३९ हजार ६ सय २४ मत पाएका थिए । यसपटक झापा क्षेत्र नम्बर १ मा एमालेबाट रामचन्द्र उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन्।
उनी नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष हुन् । कांग्रेसका तर्फबाट केशवराज पाण्डेको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वसांसद निशा डाँगीको उम्मेदवारी परेको छ।
नेपाली कम्युनिस्ट पार्टीले अशेष घिमिरेलाई उम्मेदवार बनाएको छ। मतका हिसाबले यहाँ कांग्रेस बलियो देखिए पनि नेकपा र रास्वपाका उम्मेदवार नवपुस्ताका हुनाले मतपरिणामले सरप्राइज दिन पनि सक्छ ।













प्रतिक्रिया