‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’ « Khabarhub

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

राष्ट्रियता पक्षधर र अरूको इशारामा नाच्नेबीचको लडाइँ हो



काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा क्षेत्र नम्बर ५ । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न काठमाडौंबाट बालेन्द्र साह पुगेका छन् । जनकपुर पुगेर मधेशको छोरो भनेका उनी झापा पुगेर अहिले मतदाता फकाइरहेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र झरेपछि सुतेर निर्वाचन जितिन्छ भनेर आकलन गर्ने अवस्था नरहेको स्वीकार्छन् । विगतकोभन्दा योपटक झापामा एमालेले धेरै खट्नुपर्ने अवस्था आएको उनी बताउँछन् । मिहिनेत गरेर खटेपछि पाँचवटै निर्वाचन क्षेत्रमा जित्ने उनको अनुमान छ। साह काठमाडौं महानगरपालिकाबाट बिदा भएर झापा ५ बाट निर्वाचन लड्नु राजनीतिक प्रतिशोध रहेको गिरी बताउँछन् । ‘झापा ५ मा उहाँ हाम्रो अतिथि हो। उहाँलाई हामी अतिथि देवभव भन्छौं’,उनले भने ।

गिरी एमालेले झापा ५ मा हरेक घरमा एक कार्यकर्ता खटाएको सांकेतिक रुपमा स्वीकार गर्छन् । तर बालेन्द्रले षड्यन्त्रपूर्वक मतदाता भड्काउने काम गरेकाले त्यसलाई चिर्न नेता-कार्यकर्ता स्वविवेकले खटिएको उनी दाबी गर्छन् । यसै सन्दर्भमा गिरीसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

यो पटक झापामा एमालेलाई निर्वाचन फेस गर्न चुनौती भएको हो ?

होइन, यो पटकको निर्वाचनमा झापाबाट एमालेले अप्रत्यासित रुपमा जित हासिल गर्छ। अहिले झापाको पाँचवटै निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा हामीले निर्वाचन जित्ने रणनीति बनाएका छौं । केही गाह्रो त हुन्छ नै, सबै कार्यकर्ता र नेताहरू निर्वाचनमा खटिनुपर्छ। हिजो हामीले गरेका विकासका कामको प्रचारप्रसार गर्न, कार्यकर्ता भड्किएका भए नीहरूलाई बुझाउन त समय लाग्छ। अत्यन्तै सुझबुझका साथ निर्वाचन लडिरहेका छौं । मतदाताले पनि सुझबुझपूर्ण ढंगले हेरिराख्नुभएको छ । यहाँका मतदाताहरू यो निर्वाचन दल-दलबीचको प्रतिस्पर्धा नभएर राष्ट्र जोगाउने र राष्ट्रलाई अरु कसैको इशारामा चल्ने बनाउने बीचको लडाइँ हो भन्नु हुन्छ। राष्ट्रियता जोगाउने नेतृत्व एमालेले लिनुपर्छ। राष्ट्रिय जोगाउने नेतृत्व केपी शर्मा ओली हो। उहाँको जिल्लामा हामी पार्टीलाई र उहाँलाई साथ समर्थन राख्छौं।

तर यहाँले यसो भन्दै गर्दा झापाका पुराना वाम नेता र क्षेत्र नम्बर ५ का युवा नेताहरू नै काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र साहको पक्षमा देखिनुभयो ?


भदौ २३ र २४ गते नवपुस्ताले गरेको आन्दोलनलाई हाम्रो सरकारले सकारात्मक रूपमा नै लिएको थियो । २३ गतेको आन्दोलन र युवा पुस्ताको मागलाई जायज रूपमा लिन्छौँ। २४ गतेको आन्दोलन होइन, ध्वंश हो। त्यसबेला प्रधानमन्त्रीको सुरक्षा भएन राष्ट्रपतिको सुरक्षा भएन, नागरिकको सुरक्षा भएन, सरकारी कुनै पनि अफिसको सुरक्षा भएन ।

एमाले अध्यक्ष ओलीको गृह भएको नाताले उहाँले त्यहाँका हरेक मतदाताहरूसँग सुख दुःखमा सहयात्रा गर्नुभएको छ। त्यहाँका समस्या सम्भावना र चुनौतीहरूलाई पनि उहाँले बुझ्नुभएको हुनाले मतदाताले उहाँलाई निर्वाचित गराएरै छाड्ने छन् ।

त्यतिबेला विध्वंश मच्चाउने शक्तिबाट देशको प्रधानमन्त्री भाग्नुपर्यो भन्ने भावनामा मतदाताले लिएको हो। एकदमै ठूलो खहरे आयो भने एकछिन त जो पनि तर्किनुपर्छ। तर मतदाता अफवाहको भरमा अगाडि बढ्दैनन् । यस्तो बेलामा केही अवसरवादी शक्तिहरू यताउता गरिहाल्छन्। तर समग्रमा हेर्दा एमालेको संगठन बलियो छ, एमाले कुनै पनि हालतमा झापाबाट सम्मानपूर्वक विजय हुने अवस्थामा छ।

तर क्षेत्र नम्बर ५ मा त यहाँहरुलाई गाह्रो छ भन्छन् नि स्थानीय मतदाता ?

क्षेत्र नम्बर ५ एमालेको एकदमै बलियो संगठन भएको किल्ला हो। मतदाताले केपी शर्मा ओलीलाई आफ्नो असल, कुशल र भरपर्दो समुदायको अभिभावकको रूपमा बुझेको उम्मेदवार हो। त्याहा हामी हिजो ल्याएको मत बढाएर ल्याउँछौ । अहिले तातै खाउँ जली मरुँ भन्ने अवस्थामा त्यहाँका स्थानीय छैनन्। कसैकसैले मत परिवर्तन गर्नुहोला तर समग्रमा हेर्दा हामीलाई कम्फर्टेबल नै देखिन्छ ।

तर अहिलेको आन्दोलनले नयाँ मान्छे र नयाँ नेता खोजेको छ, यहाँहरूको अध्यक्ष पुरानै ढरामा हुनुहुन्छ?

कल्याणकारी नीति कार्यक्रम ल्याउने पार्टी नेकपा एमाले हो। यो कुरा नेपाली जनताले बुझ्नुभएको छ। देशलाई र राष्ट्रलाई कसरी रक्षा गर्ने भन्ने कुरा त एमालेसँग छ। हामी पुरानो पार्टी भएपनि नयाँ युग सुहाउँदो गतिविधिका साथ निर्वाचनमा होमिएका छौं। निर्वाचनमा जो कोहीले प्रतिस्पर्धा गर्छु, टक्कर दिन्छु भन्न पाउँछ लोकतन्त्रमा। हामी त्यहाँका प्रत्येक मतदाताको मनोविज्ञानसँग जोडिएका छौं । चुनावी अभियानमा व्यवस्थित सात मतदाताका घरमा जाने अभियानमा लागेका छौं। हरेक मतदातासँग हामी एट्याचमा छौँ।

हरेक घरमा हामीले मतदातासँग सम्पर्क गरेका छौं भन्नुभयो, तपाईंहरूले एक घरमा एकजना कार्यकर्ता खटाउनु भएको छ रे हो ?

खटाएको छ भन्दा पनि हाम्रा एमालेका शुभेक्षुक र शुभचिन्तकले पार्टीलाई माया गरेर आफैँ खट्नुभएको छ। एक घरमा एक व्यक्ति खटाइयो भन्नु हामीविरुद्ध गरिएको षड्यन्त्र हो। तर समग्रमा झापा ५ का स्थानीय मतदातासँग हाम्रा साथीहरू र अध्यक्ष ओली जोडिनुभएकै छ ।

एमालेले ढुक्क भएर जित्ने आधार चाहिँ के के हो ?

पहिलो :
हामी प्रत्येक मतदाताको मनोविज्ञानसँग जोडिएका छौं। त्यहाँका मतदाताको आवश्यकता इच्छा र रोजगारका अवसरहरू सिर्जना गरेका छौं ।

दोस्रो : मतदातासँग जाने एमालेसंग व्यवस्थित कार्य योजना छ । विदेशी हस्तक्षेप कुनसम्मको हुँदो रहेछ भनेर जनताले हिजो सुनेको मात्रै थिए अहिले भोगेका छन्। यो विध्वंशलाई उछिन्ने र यसको प्रतिवाद गर्ने नेता केपी ओली मात्रै हो। हामी विचारयोगी र कर्मयोगी छौँ। हामीले काम गरेका छौं । एमालेले सत्तामा हुँदा र सरकारमा हुँदा गरेका कल्याणकारीदेखि पूर्वधार विकास र देशको जनहितकारी काम गरेका छौँ ।

तेस्रो : एमाले भनेको दक्षिण एसियामै सबैभन्दा ठूलो संगठन भएको पार्टी हो । हामी राजनीतिक पार्टी मात्र होइन, समुदायका शक्ति हौँ। समुदायका दुःख सुख र अप्ठ्याराहरूसँग सधैंभरि जोडिएका छौँ।

चौथो : विभिन्न दलका राष्ट्रवादी शक्ति र मतदाताले राष्ट्रवाद रक्षाका लागि लागिरहनुभएको छ। हेर्दै जानु न फागुन २१ गते पछाडि एमाले देशको पहिलो दल बहुमतसहित भएर आउँछ। अध्यक्ष ओलीविरुद्ध जुन तरिकाले षड्यन्त्र गरिएको छ, त्यसलाई सर्लक्कै चिरेर अगाडि बढ्छ।

पाचौं : एमाले अध्यक्ष ओलीको गृह जिल्ला भएको नाताले उहाँले त्यहाँका हरेक मतदाताहरूसँग सुख दुःखमा सहयात्रा गर्नुभएको छ। त्यहाँका समस्या, सम्भावना र चुनौतीहरूलाई उहाँले बुझ्नुभएकाले मतदाताले उहाँलाई निर्वाचित गराएरै छाड्ने छन् ।

झापामा यहाँहरूले कतिवटामा जित्ने आकलन गर्नुभएको छ ?

हामीले कम्फर्टेबल रुपमा जित्ने तीनवटा निर्वाचन क्षेत्र हुन् । विगतमा गुमाएकाा क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर १ पनि हामीले यस पटक जित्दैछौँ। हाम्रो लक्ष्य योजना र उद्देश्य पाँचैवटा निर्वाचन क्षेत्र जित्नेछ, जितिन्छ पनि लागेको छ। हिजो हामीले जितेका तीनवटा निर्वाचन क्षेत्र हाम्रा लागि सदैव सुरक्षित छन्। यसपटक झापामा एमालेले क्लिनस्वीप गर्छ । यो कुरा सुन्दा अनौठो लाग्ला तर लेखेर राख्नु भए हुन्छ । मैले रणनीतिक रूपमा मसिनो गरी योजना तयार पारिसकेको छु।

यहाँहरुले योजना त सुनाउनुभयो तर मनोनयनमा जाँदा नै क्षेत्र नम्बर ५ मा सबै एमालेका मतदाता उपस्थित थिएनन् भन्छन् ? कतिलाई त स्पष्टीकरणसमेत सोध्नुभयो रे ?

म यहाँलाई बहुत प्रष्ट भाषामा के भन्छु भने क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका बालेन्द्र साहको पक्षमा झापासहित अन्य जिल्लाका पनि उपस्थित भएर मनोनयन गराएको अवस्था छ। सबै जिल्लाका नेता-कार्यकर्ता त्यहीँ थुपार्ने काम भएको थियो । झापा जिल्लाका मतदाता मात्रै होइन, छिमेकका मतदाता पनि थुपारिएको थियो। त्यहाँका वास्तविक मतदाता कति छन् भन्ने एउटा भिडियोमै हेर्दा थाहा हुन्छ । झापा क्षेत्र नम्बर ५ बाटै आएका नेता कार्यकर्ता ५०-६० को हाराहारीमा देखिन्छन्। नत्र झापाका अन्य चारवटा क्षेत्रमा त्यो पार्टीको उपस्थिति किन त्यति न्यून गर्नुपर्ने अवस्था आयो ?

यो कुराको हिसाब यहाँहरूले नै गर्नुहोला। एमालेले सम्बन्धित क्षेत्रका कार्यकर्तालाई मात्रै मनोनयनमा उपस्थित हुन आग्रह गरेको थियो। त्यही अनुसार उहाँहरू उपस्थित हुनुभएको थियो। क्षेत्र नम्बर ५ बाट मनोयन गर्न जाँदा उहाँहरूको पक्षमा कति मतदाता हुनुहुन्थ्यो भन्ने टाउको गनेर यहाँले सत्यतथ्य बाहिर निकाल्दिनु भए आभारी हुने थियौँ । अर्को कुरा स्पष्टीकरण सोधियो भन्ने छ, यो नचाहिने हल्ला हो। यसबारे म अध्यक्षलाई पनि जानकारी छैन।

स्थलगत दृश्य हेर्दा बालेन्द्र साह झापा झरेपछि तपाईंहरू आत्तिनु भएको चाहिँ देखियो…!

होइन, हामी राम्रोसँग मिहिनेत गर्नुपर्ने अवस्थामा छौँ। यहाँले भनेको कुरा के स्वीकार्छु भने हामीमाथि आक्रमण भएको छ, हाम्रा मतदातालाई भड्काउने काम भएको छ। त्यसको प्रतिरक्षाका निम्ति हामीले सुतेर निर्वाचन जितिन्छ भन्ने आँकलन गरेका छैनौँ। एमालेका नेता-कार्यकर्ताको सु-विचारित रूपमा खटाई आवश्यक छ । हामी त्यसका लागि काम गरिरहेका पनि छौँ। राजनीतिक प्रतिशोधको प्रतिरक्षा रक्षा गर्न हामी एमालेका कार्यकर्ता र नेता सुतेर बस्ने अवस्थामा छैनौँ।

हेर्दै जानु न फागुन २१ गतेपछि एमाले देशको पहिलो दल भएर आउँछ। अध्यक्ष ओलीविरुद्ध जुन तरिकाले षड्यन्त्र गरिएको छ, त्यसलाई सर्लक्कै चिरेर अगाडि बढ्छ।

हामीविरुद्धको षड्यन्त्र चिर्न जागै भएर निर्वाचनमा होमिन तयार छौँ। हाम्रो संगठन र त्यहाँका मतदाताहरूले हामीलाई दिनु भएको आशीर्वादसहित सबै कुरा केलाएर हेर्दा हामीले निर्वाचन हार्ने कुनै स्थिति छैन । इतर पक्षका मतदाता सबै हाम्रो पक्षमा हुँदा माहोल भड्काउन विभिन्न षड्यन्त्र भएका छन् । त्यसको रक्षाका निम्ति पनि हामी विगतभन्दा धेरै खट्नु पर्नेछ । हामी विजयी हुने कुरामा फेरि ढुक्क छौँ।

यहाँहरूको कुराअनुसार बालेन्द्र साहले क्षेत्र नम्बर ५ का मतदातालाई फकाउनुभयो भन्ने हो ?

आरोपभन्दा हामीविरुद्ध षड्यन्त्र रचिएको कुरा साँचो हो । उहाँ र हामी निष्पक्ष निर्वाचनका लागि स्वास्थ्य प्रतिस्पर्धा गरौँ, कसले जित्छ हेरौंला । काठमाडौं महानगरपालिकामा विकास खर्च र बजेटसमेत कार्यान्वयन गर्न नसकेपछि उहाँ झापामा राजनीति प्रतिशोधका लागि आउनुभएको हो।

उहाँ टुरिस्ट उम्मेदवार हो। हो, हामी उहाँलाई सम्मानपूर्वक निर्वाचनमा भाग लिनुस्, केही समस्या परे भन्नुहोस् भन्छौँ। उहाँलाई संयमित र मर्यादित हुनुस्, हामी पनि स्वास्थ्य प्रतिस्पर्धा गर्छौं भन्छौँ। उहाँ हाम्रो अतिथि हो। अतिथि देवो भव: । उहाँलाई केही अप्ठ्यारो परे हामी छौँ ।

विगतमा एमालेले विभिन्न ठाउँमा हार सुनिश्चित हुने भएपछि मतपेटिका बोकेर भागेको अथवा यहाँहरूकै भाषामा धाँधली गरेको देखिन्थ्यो । फेरि एमालेले नै धाँधली भएमा हारिन्छ भन्नु हुँदो रहेछ …

एमाले जस्तो पार्टी जो जनता र कार्यकर्तामाथि विश्वास गर्छ । लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई विश्वास गर्छ । एमालेको डिक्सनरीमा क्षेत्र नम्बर ५ मा कुनै रूपमा हार भन्ने शब्द छैन। एमालेको डिक्सनरीमा अलोकतान्त्रिक सोचको कल्पनासम्म छैन। त्यसकारण यो बेकारको कुरा हो। हामी कुनै रूपमा निर्वाचन भड्काउने अथवा आचारसंहिता विपरीत गतिविधि गर्दैनौँ । त्यस्तो गर्ने व्यक्तिलाई पनि सहँदैनौँ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : २१ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य