नेपाली सिनेमाको अमर आवाज- ‘यो कुरा रातेलाई मन परेन’ « Khabarhub

नेपाली सिनेमाको अमर आवाज- ‘यो कुरा रातेलाई मन परेन’



काठमाडौं- नेपाली तथा भारतीय चलचित्र र टेलिभिजन क्षेत्रका सशक्त, अनुकरणीय र इतिहासमै अलग छाप छोड्ने कलाकार सुनील थापालाई गुमाएको छ । ६८ वर्षको उमेरमा अभिनेता थापाको निधनले नेपाली सिनेमा मात्र होइन, समग्र दक्षिण एसियाली मनोरञ्जन उद्योगमा गहिरो शोक र अपूरणीय रिक्तता सिर्जना गरेको छ ।

खलनायक पात्रलाई केवल ‘दुष्ट’ नभइ, गहिरो मनोविज्ञान, बौद्धिक शक्ति र मानवीय संवेदनासहित प्रस्तुत गर्ने थापा नेपाली फिल्म इतिहासमा एक युगकै प्रतीक थिए । उनको निधनले एउटा सफल कलाकारको जीवनको अन्त्य मात्र भएको छैन, नेपाली सिनेमामा खलनायक चरित्रलाई पुर्नपरिभाषित गर्ने एउटा सशक्त अध्यायको पनि अन्त्य भएको छ ।

१९ मे १९५७ मा जन्मिएका थापाको कलात्मक यात्रा अत्यन्तै विविध र प्रेरणादायी थियो । चार दशक बढी समय उनले अभिनय, मोडलिङ, खेलकुद र सञ्चार क्षेत्रमा सक्रिय योगदान दिए । उनको करिअरको सुरुआत मोडलिङबाट भएको हो । सन् १९७४ मा मुम्बई पुगेपछि उनले बिन्नी र माफतलालजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलको रूपमा काम गरेका थिए ।

कलाकार थापा केवल क्यामेरामै सीमित थिएनन् । उनी कुशल फुटबल खेलाडी पनि थिए । मुम्बईका प्रतिष्ठित बम्बे र ओर्केज स्पोर्ट्स क्लबसँग उनले प्रतिस्पर्धात्मक फुटबल खेलेका थिए । खेलकुद, मोडलिङ र सञ्चारको संगम उनको व्यक्तित्वमा स्पष्ट देखिन्थ्यो ।

त्यसैबीच उनले ‘जुनियर स्टेट्सम्यान म्यागजिन’ मा फोटो पत्रकारको रूपमा समेत काम गरे । सन् १९७४ मा भुटानमा सम्पन्न ऐतिहासिक राज्याभिषेक समारोहको कभरेज गर्ने अवसर पाउनु उनको प्रारम्भिक व्यावसायिक जीवनको महत्त्वपूर्ण उपलब्धि थियो ।

बलिउड प्रवेश र नेपाली सिनेमाको मोड

सन् १९८१ मा भारतीय चलचित्र ‘एक दुजे के लिए’ मार्फत उनले बलिउडमा अभिनय यात्रा सुरु गरे । उक्त फिल्म सुपरहिट रह्यो । थापालाई भारतीय सिने जगतमा परिचित गराउने माध्यम बन्यो । बलिउडमा सम्भावनाको ढोका खुलिरहेकै बेला उनले नेपाली सिनेमातर्फ फर्किने निर्णय गरे, जुन नेपाली फिल्म इतिहासकै लागि निर्णायक सावित भयो ।

उनको डेब्यू नेपाली फिल्म ‘मसाल’, (१८५०) भए पनि सन् १९८९ मा रिलिज भएको कालजयी फिल्म ‘चिनो’ ले उनलाई एकाएक नेपाली सिनेमाको केन्द्रमा पुर्‍यायो । ‘चिनो’ पछि उनको कर्मथलो काठमाडौं बन्यो र उनी नेपाली दर्शकका लागि अपरिहार्य अनुहार बने ।

‘राते काइँला’ले आर्जिएको साख

‘चिनो’ मा उनले निर्वाह गरेको ‘राते काइँला’ को भूमिका यति शक्तिशाली भयो कि दशकौँसम्म पनि उनलाई धेरैले वास्तविक नामभन्दा यही पात्रको नामले चिने । त्यो क्रुर, प्रतिशोधी र डरलाग्दो गेटअपमा देखिएका काइँलाले फिल्मका मुख्य पात्रहरूको जीवनमा मात्र हलचल ल्याएनन्, नेपाली दर्शकको मानसपटलमा ‘भिलेन’ को एउटा मानक नै खडा गरिदिए । उनको संवाद बोल्ने शैली र आँखाको हाउभाउ आज पनि धेरैका लागि अभिनयको एउटा पाठ हो ।

‘चिनो’ मा उनले निर्वाह गरेको राते काइँलाको चरित्र नेपाली सिनेमाको इतिहासमै सबैभन्दा प्रभावशाली खलनायक पात्रमध्ये एक मानिन्छ । “यो कुरा रातेलाई मन परेन” र “यो कुरा मलाई मन परेन” जस्ता संवाद आज पनि दर्शकको स्मृतिमा ताजा छ । निर्देशक तुलसी घिमिरेले उनलाई ‘मसाल’ मार्फत नेपाली पर्दामा भित्र्याए । तर, सुनील थापालाई ‘सुनील थापा’ भन्दा बढी उचाइ दिने काम भने घिमिरेकै अर्को फिल्म ‘चिनो’ ले गर्‍यो।

राते काइँला केवल दुष्ट पात्र थिएन । उसमा अहंकार थियो, रणनीति थियो, शक्ति प्रदर्शन गर्ने अलग शैली थियो । थापाले त्यो चरित्रलाई यति स्वाभाविक र विश्वसनीय बनाए कि दर्शकले चरित्रलाई कलाकारको नामभन्दा पहिला चिन्न थाले । कुनै पात्र कलाकारको नामभन्दा ठूलो बन्नु कलाकारको असाधारण सफलता हो, जुन थापाले सम्भव तुल्याए ।

थापाभन्दा अघि नेपाली फिल्ममा खलनायक पात्रहरू प्रायः सतही, अतिरञ्जित र कहिलेकाहीँ हास्यास्पद रूपमा प्रस्तुत हुन्थे । तर थापाले त्यो परम्परा नै तोडे । उनले खलनायकलाई गम्भीर, शक्तिशाली, बौद्धिक र विश्वसनीय पात्रका रूपमा प्रस्तुत गरे ।

उनको अग्लो कद, दृढ हाउभाउ, कडा आवाज र तीखा आँखाले पर्दामा देखिने बित्तिकै प्रभाव छोड्थ्यो । उनी संवाद भन्दा मौनताबाट पनि डर पैदा गर्न सक्थे । धेरै दृश्यमा उनी नबोल्दा पनि दृश्य भारी हुन्थ्यो । त्यस्तो क्षमता सबै कलाकारसँग हुँदैन ।

थापा अतिरञ्जनाबाट टाढा थिए । मृदुभाषी, नापतौल गरेर संवाद बोल्ने, आँखाको हेराइ र शरीरको उपस्थितिबाट प्रभाव जमाउने शैली नेपाली दर्शकका लागि नयाँ अनुभव बन्यो ।

थापाले खलनायकलाई केवल खराब मानिसको रूपमा होइन, परिस्थितिले बनाएको पात्रको रूपमा चित्रण गरे । उनका पात्रहरू कहिलेकाहीँ घृणित लाग्थे, तर बुझ्न लायक पनि हुन्थे । यसले खलनायक पात्रलाई एक आयामबाट बहुआयामिक बनायो ।

उनले खलनायकलाई बुद्धिमान योजनाबद्ध, चलाख र मानसिक रूपमा बलियो देखाए । यसपछि नेपाली फिल्ममा खलनायक पनि नायक जत्तिकै शक्तिशाली हुन सक्छ भन्ने धारणा स्थापित भयो, जसले कथाको द्वन्द्वलाई अझ रोचक र विश्वसनीय बनायो ।

नेपालीदेखि बलिउडसम्म समान प्रभाव

थापाको प्रतिभा नेपाली सिनेमामा मात्र सीमित रहेन । बलिउड तथा हलिवुड अभिनेता प्रियङ्का चोपडा अभिनित बलिउड फिल्म ‘मेरी कोम’ (२०१४) मा थापाले कोचको भूमिका निभाए । यस भूमिकाका लागि उनी फिल्मफेयर अवार्डमा मनोनित समेत भएका थिए । यो उपलब्धिले उनलाई बलिउडमा पनि स्थापित गर्‍यो र नेपाली कलाकारको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्‍यो ।

उनले १३८ भन्दा बढी चर्चित नेपाली फिल्ममा अभिनय गरे । रिलिजको हिसाबले उनको अन्तिम फिल्म ‘एक्लो’ हो भने छायांकन सम्पन्न भएर रिलिजको प्रतीक्षामा रहेको ‘राम नाम सत्य’ र तुलसी घिमिरे निर्देशित ‘पहाड’ हुन् ।

थापा केवल सफल अभिनेता मात्र थिएनन् । उनी नेपाली सिनेमामा खलनायक पात्रको स्तर, गरिमा र गहिराइ बढाउने कलाकार थिए । उनले तयार पारेको मापदण्ड आज पनि नयाँ पुस्ताका कलाकारका लागि मार्गदर्शक बनेको छ ।

उनको अभिनय शैली, संवादको तौल, मौनताको शक्ति र चरित्रमा दिने मानवीय आयाम नेपाली फिल्म इतिहासमा सदैव स्मरणीय रहनेछ । थापाको निधनले एउटा शरीर बिदा भए पनि उनले सिर्जना गरेको कला, पात्र र प्रभाव नेपाली सिनेमा र सामाजिक स्मृतिमा अमिट रहनेछ ।

नेपाली सिनेमाले एउटा महान् कलाकार गुमाएको छ, तर उनले छोडेको विरासतले भावी पुस्तालाई अझै लामो समयसम्म प्रेरणा दिइरहनेछ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ८ : ४९ बजे

डुटेर्टेविरुद्ध तेस्रो महाभियोग दर्ता

एजेन्सी– फिलिपिन्सका क्याथोलिक पादरीवर्गका सदस्यहरूले सोमबार उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाभियोग

क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी

बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो

काठमाडौं– सोमबार बिहानदेखि धुम्म बनेको काठमाडौंको आकाश दिउँसो केही खुलेको

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

विराटनगर- ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख योजनाकार ‘गोरे’ भनिने

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन– चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला