काठमाडौं- नेपाली तथा भारतीय चलचित्र र टेलिभिजन क्षेत्रका सशक्त, अनुकरणीय र इतिहासमै अलग छाप छोड्ने कलाकार सुनील थापालाई गुमाएको छ । ६८ वर्षको उमेरमा अभिनेता थापाको निधनले नेपाली सिनेमा मात्र होइन, समग्र दक्षिण एसियाली मनोरञ्जन उद्योगमा गहिरो शोक र अपूरणीय रिक्तता सिर्जना गरेको छ ।
खलनायक पात्रलाई केवल ‘दुष्ट’ नभइ, गहिरो मनोविज्ञान, बौद्धिक शक्ति र मानवीय संवेदनासहित प्रस्तुत गर्ने थापा नेपाली फिल्म इतिहासमा एक युगकै प्रतीक थिए । उनको निधनले एउटा सफल कलाकारको जीवनको अन्त्य मात्र भएको छैन, नेपाली सिनेमामा खलनायक चरित्रलाई पुर्नपरिभाषित गर्ने एउटा सशक्त अध्यायको पनि अन्त्य भएको छ ।
१९ मे १९५७ मा जन्मिएका थापाको कलात्मक यात्रा अत्यन्तै विविध र प्रेरणादायी थियो । चार दशक बढी समय उनले अभिनय, मोडलिङ, खेलकुद र सञ्चार क्षेत्रमा सक्रिय योगदान दिए । उनको करिअरको सुरुआत मोडलिङबाट भएको हो । सन् १९७४ मा मुम्बई पुगेपछि उनले बिन्नी र माफतलालजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलको रूपमा काम गरेका थिए ।

कलाकार थापा केवल क्यामेरामै सीमित थिएनन् । उनी कुशल फुटबल खेलाडी पनि थिए । मुम्बईका प्रतिष्ठित बम्बे र ओर्केज स्पोर्ट्स क्लबसँग उनले प्रतिस्पर्धात्मक फुटबल खेलेका थिए । खेलकुद, मोडलिङ र सञ्चारको संगम उनको व्यक्तित्वमा स्पष्ट देखिन्थ्यो ।
त्यसैबीच उनले ‘जुनियर स्टेट्सम्यान म्यागजिन’ मा फोटो पत्रकारको रूपमा समेत काम गरे । सन् १९७४ मा भुटानमा सम्पन्न ऐतिहासिक राज्याभिषेक समारोहको कभरेज गर्ने अवसर पाउनु उनको प्रारम्भिक व्यावसायिक जीवनको महत्त्वपूर्ण उपलब्धि थियो ।
बलिउड प्रवेश र नेपाली सिनेमाको मोड
सन् १९८१ मा भारतीय चलचित्र ‘एक दुजे के लिए’ मार्फत उनले बलिउडमा अभिनय यात्रा सुरु गरे । उक्त फिल्म सुपरहिट रह्यो । थापालाई भारतीय सिने जगतमा परिचित गराउने माध्यम बन्यो । बलिउडमा सम्भावनाको ढोका खुलिरहेकै बेला उनले नेपाली सिनेमातर्फ फर्किने निर्णय गरे, जुन नेपाली फिल्म इतिहासकै लागि निर्णायक सावित भयो ।
उनको डेब्यू नेपाली फिल्म ‘मसाल’, (१८५०) भए पनि सन् १९८९ मा रिलिज भएको कालजयी फिल्म ‘चिनो’ ले उनलाई एकाएक नेपाली सिनेमाको केन्द्रमा पुर्यायो । ‘चिनो’ पछि उनको कर्मथलो काठमाडौं बन्यो र उनी नेपाली दर्शकका लागि अपरिहार्य अनुहार बने ।

‘राते काइँला’ले आर्जिएको साख
‘चिनो’ मा उनले निर्वाह गरेको ‘राते काइँला’ को भूमिका यति शक्तिशाली भयो कि दशकौँसम्म पनि उनलाई धेरैले वास्तविक नामभन्दा यही पात्रको नामले चिने । त्यो क्रुर, प्रतिशोधी र डरलाग्दो गेटअपमा देखिएका काइँलाले फिल्मका मुख्य पात्रहरूको जीवनमा मात्र हलचल ल्याएनन्, नेपाली दर्शकको मानसपटलमा ‘भिलेन’ को एउटा मानक नै खडा गरिदिए । उनको संवाद बोल्ने शैली र आँखाको हाउभाउ आज पनि धेरैका लागि अभिनयको एउटा पाठ हो ।
‘चिनो’ मा उनले निर्वाह गरेको राते काइँलाको चरित्र नेपाली सिनेमाको इतिहासमै सबैभन्दा प्रभावशाली खलनायक पात्रमध्ये एक मानिन्छ । “यो कुरा रातेलाई मन परेन” र “यो कुरा मलाई मन परेन” जस्ता संवाद आज पनि दर्शकको स्मृतिमा ताजा छ । निर्देशक तुलसी घिमिरेले उनलाई ‘मसाल’ मार्फत नेपाली पर्दामा भित्र्याए । तर, सुनील थापालाई ‘सुनील थापा’ भन्दा बढी उचाइ दिने काम भने घिमिरेकै अर्को फिल्म ‘चिनो’ ले गर्यो।
राते काइँला केवल दुष्ट पात्र थिएन । उसमा अहंकार थियो, रणनीति थियो, शक्ति प्रदर्शन गर्ने अलग शैली थियो । थापाले त्यो चरित्रलाई यति स्वाभाविक र विश्वसनीय बनाए कि दर्शकले चरित्रलाई कलाकारको नामभन्दा पहिला चिन्न थाले । कुनै पात्र कलाकारको नामभन्दा ठूलो बन्नु कलाकारको असाधारण सफलता हो, जुन थापाले सम्भव तुल्याए ।
थापाभन्दा अघि नेपाली फिल्ममा खलनायक पात्रहरू प्रायः सतही, अतिरञ्जित र कहिलेकाहीँ हास्यास्पद रूपमा प्रस्तुत हुन्थे । तर थापाले त्यो परम्परा नै तोडे । उनले खलनायकलाई गम्भीर, शक्तिशाली, बौद्धिक र विश्वसनीय पात्रका रूपमा प्रस्तुत गरे ।
उनको अग्लो कद, दृढ हाउभाउ, कडा आवाज र तीखा आँखाले पर्दामा देखिने बित्तिकै प्रभाव छोड्थ्यो । उनी संवाद भन्दा मौनताबाट पनि डर पैदा गर्न सक्थे । धेरै दृश्यमा उनी नबोल्दा पनि दृश्य भारी हुन्थ्यो । त्यस्तो क्षमता सबै कलाकारसँग हुँदैन ।
थापा अतिरञ्जनाबाट टाढा थिए । मृदुभाषी, नापतौल गरेर संवाद बोल्ने, आँखाको हेराइ र शरीरको उपस्थितिबाट प्रभाव जमाउने शैली नेपाली दर्शकका लागि नयाँ अनुभव बन्यो ।
थापाले खलनायकलाई केवल खराब मानिसको रूपमा होइन, परिस्थितिले बनाएको पात्रको रूपमा चित्रण गरे । उनका पात्रहरू कहिलेकाहीँ घृणित लाग्थे, तर बुझ्न लायक पनि हुन्थे । यसले खलनायक पात्रलाई एक आयामबाट बहुआयामिक बनायो ।

उनले खलनायकलाई बुद्धिमान योजनाबद्ध, चलाख र मानसिक रूपमा बलियो देखाए । यसपछि नेपाली फिल्ममा खलनायक पनि नायक जत्तिकै शक्तिशाली हुन सक्छ भन्ने धारणा स्थापित भयो, जसले कथाको द्वन्द्वलाई अझ रोचक र विश्वसनीय बनायो ।
नेपालीदेखि बलिउडसम्म समान प्रभाव
थापाको प्रतिभा नेपाली सिनेमामा मात्र सीमित रहेन । बलिउड तथा हलिवुड अभिनेता प्रियङ्का चोपडा अभिनित बलिउड फिल्म ‘मेरी कोम’ (२०१४) मा थापाले कोचको भूमिका निभाए । यस भूमिकाका लागि उनी फिल्मफेयर अवार्डमा मनोनित समेत भएका थिए । यो उपलब्धिले उनलाई बलिउडमा पनि स्थापित गर्यो र नेपाली कलाकारको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्यो ।
उनले १३८ भन्दा बढी चर्चित नेपाली फिल्ममा अभिनय गरे । रिलिजको हिसाबले उनको अन्तिम फिल्म ‘एक्लो’ हो भने छायांकन सम्पन्न भएर रिलिजको प्रतीक्षामा रहेको ‘राम नाम सत्य’ र तुलसी घिमिरे निर्देशित ‘पहाड’ हुन् ।
थापा केवल सफल अभिनेता मात्र थिएनन् । उनी नेपाली सिनेमामा खलनायक पात्रको स्तर, गरिमा र गहिराइ बढाउने कलाकार थिए । उनले तयार पारेको मापदण्ड आज पनि नयाँ पुस्ताका कलाकारका लागि मार्गदर्शक बनेको छ ।

उनको अभिनय शैली, संवादको तौल, मौनताको शक्ति र चरित्रमा दिने मानवीय आयाम नेपाली फिल्म इतिहासमा सदैव स्मरणीय रहनेछ । थापाको निधनले एउटा शरीर बिदा भए पनि उनले सिर्जना गरेको कला, पात्र र प्रभाव नेपाली सिनेमा र सामाजिक स्मृतिमा अमिट रहनेछ ।
नेपाली सिनेमाले एउटा महान् कलाकार गुमाएको छ, तर उनले छोडेको विरासतले भावी पुस्तालाई अझै लामो समयसम्म प्रेरणा दिइरहनेछ ।













प्रतिक्रिया