आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ?  « Khabarhub

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी दलहरूले ल्याएको घोषणापत्र वा प्रतिबद्धता पत्रमा मुलुकको आर्थिक वृद्धिदरको अङ्क कसले बढी देखाउने भन्ने प्रतिस्पर्धा देखिएको छ ।

मुख्य चार ठूला दल मध्ये नेपाली कांग्रेसले आगामी ५ वर्षमा मुलुकको अर्थतन्त्रको आकार १ सय १५ खर्ब बराबर र प्रतिव्यक्ति आय २ हजार ५ सय पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

एमालेले आगामी ५ वर्षमा १ सय खर्ब बराबरको अर्थतन्त्र बनाउने र प्रतिव्यक्ति आय ३ हजार बराबर पुर्‍याउने लक्ष्य लिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १० प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ । तर, अर्थतन्त्रको आकारको भने अनुमान गरेको छैन ।

त्यस्तै, रास्वपाले ५ देखि ७ वर्ष भित्रमा एक सय अर्ब अर्थात् आजको मूल्यमा १ सय ४० खर्ब बढीको अर्थतन्त्रको आकार बनाउने र नेपालीको प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने वाचापत्रमा उल्लेख गरेको छ ।

अर्थतन्त्रको आकार वृद्धि गर्ने आधार के ?
गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर जम्मा ४.६१ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा ३.५ प्रतिशतमा सीमित हुने अर्थ मन्त्रालयले अनुमान गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको थियो । अर्थ मन्त्रालयले पछिल्लो समयमा गरेको अनुमान अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर कायम हुने हो भने यस वर्ष अर्थतन्त्रको आकार ६३.१३ खर्ब बराबरको मात्रै हुने अनुमान गर्न सकिन्छ ।

तर, आगामी ५ वर्षमा मुख्य ठूला राजनीतिक दलमध्ये कांग्रेसले १ सय १५, एमालेले १ सय र रास्वपाले १ सय बढी खर्ब बराबरको अर्थतन्त्र बनाउने दाबी गरेका छन् । जबकी नेपालको अर्थतन्त्रलाई हालको अवस्थाबाट ५ वर्षमा १ सय खर्बमा पुर्‍याउन ३७ खर्ब बढी अर्थात् वार्षिक औसत १० प्रतिशत बढीले आर्थिक वृद्धि गर्नुपर्ने हुन्छ ।

केही वर्षयता विशेषगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली नेतृत्वका पछिल्ला सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न भन्दै धेरै ऐन कानुनमा परिवर्तन गरे । तर, ती परिवर्तन पश्चात पनि अपेक्षित रूपमा मुलुकमा उत्पादन र औद्योगिकरणको वातावरण बनेको भने तथ्याङ्कले देखाएको छैन ।

नेपाली कांग्रेसले ५ वर्षमा १ सय १५ खर्ब बराबरको अर्थतन्त्रको आकार बनाउन १३७.५ खर्ब बराबरको लगानी परिचालन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । जसमा निजी क्षेत्रको ८० प्रतिशत हिस्सा कायम रहने र राज्यलाई सहजकर्ता र निष्पक्ष नियामकको रूपमा सीमित गर्ने जनाएको छ ।

कांग्रेसले ‘प्रो–प्राइभेट, प्रो–ग्रोथ र प्रो–सोसल जस्टिस’को बनाउन केन्द्रित हुने जनाएको छ । करका दर र सर्तमा कम्तीमा १०–१५ वर्षसम्म स्थिर रहनेगरी ‘स्ट्याबिलिटी क्लज’ कायम गर्ने नीति कार्यान्वयन गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले अर्थतन्त्रको विकासको लागि विशेषतः न्यूनतम साझा आर्थिक एजेन्डामा राष्ट्रिय सहमति, युवा उद्यमीका लागि क्राउड फन्डिङ, स्टार्टअपलाई विनाधितो कर्जा, एसएमई र कृषि कर्जामा स्थिर ब्याजदर, कृषि बिमाको प्रिमियम ९० प्रतिशत, लगानीमैत्री कर प्रणाली लगायत थुप्रै नीति अगाडि सारेको छ ।

एमालेले पाँच वर्षमा १ सय खर्बको अर्थतन्त्र बनाउन आर्थिक तथा क्षेत्रगत नीतिलाई लगानीमैत्री र उत्पादन सहयोगी बनाउने, वित्तीय क्षेत्रको पुँजी उत्पादक क्षेत्रमा लगाउने र पुँजीबजारको विकास गर्ने नीति अघि सारेको छ ।

आर्थिक वृद्धिमा गुणक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, राष्ट्रिय प्राथमिकता आयोजना कार्यान्वयन गर्न ऋण लिने, आगामी ५ वर्षमा आर्इसिटी क्षेत्रको योगदान ५ प्रतिशत पुर्‍याउने लगायतका नीति एमालेले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

साथै, एमालेले उद्योग क्षेत्रको बिस्तार गरेर गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २० प्रतिशत पु¥याउने, आयात घटाउने, आधुनिक खेती कृषिमा नै रोजगारी सिर्जना गर्ने लगायतका कार्यक्रम एमालेले अघि सारेको छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी पाँच वर्षभित्र १० अंकको आर्थिक वृद्धिदर कायम गर्न प्राकृतिक स्रोतको उत्पादनमुखी उपयोग, स्वदेशी लगानी वृद्धि, खर्च क्षमतामा वृद्धि, निजी क्षेत्र प्रवर्धन र साझेदारी र अर्थतन्त्रको पुनसंरचना गर्ने कार्यक्रम अघि सारेको छ ।

साथै, नेकपाले दक्षिण एसियाकै आकर्षक लगानी गन्तव्य बनाउने, स्टार्टअपलाई सुरुका ५ वर्ष कर छुट दिने, केही क्षेत्रमा विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने लगायतका नीति अगाडि सारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ५ वर्षमा १ सय अर्ब डलरको अर्थतन्त्रको आकार बनाउन कानुनी वातावरणका लागि केही ऐन तथा नियमावली खारेज वा संशोधन गर्ने र करको बोझ घटाउने, कर छली रोक्ने नीति अघि सारेको छ । त्यस्तै, रास्वपाले गतिहीन राष्ट्रिय गौरवका आयोजनालाई आगामी २ वर्षभित्र सम्पन्न गर्ने, पुँजीबजारको नियामकमा सुधार, पूर्वाधार विकासका लागि इन्फ्रस्ट्रक्चर बन्ड, आइटिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने नीति रास्वपाले अघि सारेको छ ।

साथै, रास्वपाले अर्थतन्त्रको विकासका निमित्त उर्जा, कृषि, पर्यटकको खर्च तथा आगमन संख्या, खानी उत्खनन लगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने नीति अघि सारेको छ ।

विश्वका कुन मुलुकमा के आधारमा भएको थियो उच्च आर्थिक वृद्धि
विश्वका केही देशमा अचम्मलाग्दो अंकमा आर्थिक वृद्धि भएको पाइन्छ । तथ्यांकअनुसार भूमध्यरेखीय गिनीमा सन् १९९७ मा १५० प्रतिशतले आर्थिक वृद्धि भएको थियो भने लिबियामा सन् २०१२ मा १२१ प्रतिशतले आर्थिक वृद्धि भएको भएको थियो । ती दुवै आर्थिक वृद्धिका कारण भने प्राकृतिक खनिज तेल थिए ।

त्यस्तै, सन् २०२२ मा गयनाले नयाँ तेल भण्डारको उत्खनन गरेर आर्थिक वृद्धिदर ६३.४ प्रतिशत गरेको थियो भने मकाउले कोभिडपछि पर्यटन र जुवा बजारको पुनरुत्थान हुँदा सन् २०२३ मा ८०.५ प्रतिशत आर्थिक वृद्धि गरेको थियो ।

चीनले पनि सन् २००७ मा औद्योगिक क्रान्ति र निर्यातको प्रक्रियाबाट १४.२ प्रतिशत आर्थिक वृद्धि गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ८ : १२ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन