०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन « Khabarhub

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन



नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो । घरको तल्लो तलामा बसेर सोही कार्यक्रमसहित राजनैतिक गतिविधि र बजारको रौनक नियालिरहेका थिए– ८६ वर्षीय मतदाता सुरेन्द्रबहादुर सिंह । वकालत पेशामा लामो समय बिताएका उनीसँग काठमाडौं–१ का कांग्रेस उम्मेदवार प्रवल थापाले मत मागे । तर उनी आफ्ना एजेण्डा बारे भने खुलेनन् । 

दुई हात जोडेर मत मागे निस्किहाले । खबरहबकर्मी पनि सो दिन मतदाता र उम्मेदवारको प्रचारप्रसार शैलीसहितको समाचार तयार गर्न सोही क्षेत्र पुग्दै गर्दा यी सबै दृश्यको प्रत्यक्षदर्शी बन्यो । 

थापाले मत माग्दा ज्येष्ठ सदस्यका रुपमा सिंहले आशीर्वाद त दिए तर उनमा खासै उत्साह भने थिएन । उनको त्यो असन्तुष्टि देखिसकेपछि हामीले उनको त्यसबारे बुझ्ने प्रयास गर्‍र्यौ । राणाशासनदेखि पञ्चायत चुनाव समेत भोगेका सिंहको अनुभवको सम्पादित अंशः 

तपाईँले भेट्नुभएका उम्मेदवारमा देश र जनताले खोजेको मुद्दा पाउनुभएको छ ? 

यो तपाईँले बडो हाँसोलाग्दो प्रश्न गर्नुभयो । देशको लागि गर्ने होइन,  म त आफ्नो पोल्टोमा पार्न यो गर्दिन्छु त्यो गर्दिन्छु भन्ने मात्रै भेटेको छु । यथार्थ मुद्दा बोक्ने कोही देखिएको छैन अहिलेसम्म । 

वैकल्पिक पार्टी पनि उदाएका छन् । राम्रो गर्छौँ, देश बनाउँछौँ भनेका छन् नि हैन र ?

नयाँ पार्टी त झन आधारहिन प्रचार गर्ने सत्ताको भोगी जस्तो देख्छु म । नयाँको प्रचार मात्रै हो । उदयमान शक्तिको मुख्य नाइके रवि लामिछानेमाथि मुद्दा छ । पहिले पनि २ वटा चुनाव गराए अहिले पनि जितेरै आए भने पनि संसदमा बस्न पाउने हुन् कि हैनन् ? 

हाम्रो कर खर्च गर्ने बाटो मात्रै हो । जनतालाई अहिले झुटो आश्वासन दिएर अलमल्याउने काम भएको छ । बालेन शाहले पनि काठमाडौंमा त राम्रै काम गरे तर अहिले उनी पनि ज्यादै उत्ताउलो र महत्वाकांक्षी देखिए ।

प्रधानमन्त्री तोकेरै दलहरू चुनावी अभियानमा छन्, ती मध्ये देशको आक्रोशलाई सम्हालेर लैजान सक्ने कोही देख्नुभएको छ ? 

राजनीति, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध सबै बुझेका केपी ओली थिए । उनी पनि बुढो भइसके । त्यसैमाथि विभिन्न काण्डमा मुछिएका छन् । पार्टीभित्र पनि मतभिन्नता छ । आफूले मात्रै एकतन्त्रीय रुपमा पार्टी चलाउन खोजेको देखिन्छ ।  पार्टीमा मतभिन्नता छ । ईश्वर पोखरेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि लिएर जानुपर्थ्यो, त्यो राम्रो गरेनन् । 

यता गगन थापा म केकेन गर्छु भनेर विशेष महाधिवेशनबाट सभापति बनेर लागेका छन् । सबै मिलेर जाऊ भनिरहेको बेलामा जान्ने भएर आफ्नो ग्रुपलाई उचाले । यसबाट गगनसहित नेपाली कांग्रेसलाई केही फाइदा हुँदैन । यहाँ आफ्नो घर भएको, भिजेको समाज छोडेर सर्लाहीमा जादैँमा भोट कहाँ पाइन्छ ? 

त्यहाँबाट ३/४ पटक जितिसकेको अमरेसलाई टक्कर दिन गाह्रो छ । मधेसीले आफ्नै समुदायको उम्मेदवार तान्छ । पहाडियालाई गन्दैन । पार्टीले जिताइदिन्छ भनेर मात्रै हुँदैन त्यहाँ उसको वेश छैन । मधेसको विरासत फर्काउने भन्दैमा हुन्छ र ! 

उम्मेदवार सबै आफ्नो दुनो सोझ्याउन झुटो प्रचारमा लागेका छन् । खोइ, कसैले केही खास गरेको देखिएन । 

२०४७/०६३ पछि पनि नयाँ लहर आएको तर खासै स्थायित्व त कहिले भोग्न पाइएन किन होला ? 

२००७ सालको क्रान्तिमा केटाकेटी नै भए पनि झण्डा बोकेर हिँडेको हो । प्रजातन्त्र स्थापना पछि छोटो अवधि भए पनि बीपी कोइरालाको कार्यकालमा केही राम्रो भयो । ०१७ सालमा महेन्द्रले ‘कू’ गरेपछि बिगारेका हुन् । मेरो बुझाइमा नयाँ पुराना भन्ने स्लोगन मात्रै हो । 

त्यसका लागि मान्छेमा पहिले चेतना आउनुपर्छ । देशको नेतृत्व गर्ने वा हामी आम नागरिक पनि जब लोभीपापी हुन्छौँ, त्यसपछि त्यहाँ केही राम्रो हुँदैन । २०६४ को संविधानसभा निर्वाचनमा बहुमत पाएको माओवादीमा पनि त्यही भयो । 

निष्ठा र इमानदारी उम्मेदवारमा छैन । जुनसुकै पार्टीमा पनि आफू उक्लिन आफ्नै साथीलाई पछार्न समेत कसैले बाँकी राखेनन् । यस्तो भावनाले कहाँ काम गर्छ । सामूहिक सहकार्य हुनुपर्छ । त्यो नदेखिँदा पार्टी टुक्रिने, बहुमत नआउने भएको हो । 

काठमाडौं–१ राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि चर्चा छ नि ?

अँ रविन्द्र मिश्रजी अस्ति मत माग्न आउनुभएको थियो । म सदाचार, इमानदार, दुरदर्शी छु भन्नुभयो ।  यी कुरा उम्मेदवारले होइन, मतदाताले अनुभूति गरेर भन्नुपर्ने कुरा हो । तर यो शैली केही वर्षयता सबै उम्मेदवारमा देखिएको छ । 

०४८ मा मैले  दाङ–१ को निर्वाचन अधिकृतको जिम्मेवारी पाएको थिएँ । त्यतिबेला त्यहाँबाट नेपाली कांग्रेसका खुमबहादुर खड्का विजयी भएका थिए । त्यो समय उम्मेदवारहरूले आफैँलाई ‘म इमानदार छु’ भन्दै भोट माग्दैनथे । प्रहरी र हाम्रोमा कुनै उजुरी परेको मलाई सम्झना छैन । 

आजजस्तो आफैँलाई पारदर्शी र सदाचारी भन्दै प्रचार गर्ने घमन्ड त्यतिबेला थिएन । आफैँले आफूलाई इमानदार भन्नु भनेको तराईको उखान ‘मु मियाँ मिठो’ भनेजस्तै हो । यिनले सत्तामा पुगेपछि केही गर्छन् भन्ने आस गर्न सकिँदैन ।

पहिलेका नेताहरूमा घमन्ड कम थियो, जनताको मुद्दा उठाउँथे । तर २०५२ सालपछि चुनावमा पैसाको चलखेल बढ्दै गयो । अहिले त उम्मेदवारी दर्ताकै दिनदेखि पैसा बाँडिएको उजुरी आउन थालिसकेको सुन्न पाइन्छ ।

नयाँ अनुहार आए पनि धेरै फरक पर्ला जस्तो देखिँदैन । सत्तामा पुगेपछि आफ्ना मान्छे भर्ती गर्ने र आफ्नै स्वार्थमा केन्द्रित हुने प्रवृत्ति दोहोरिन्छ । मैले पञ्चायतदेखि प्रजातन्त्रसम्म नजिकबाट देखेको छु । पञ्चायतले केही राम्रा काम गरे पनि कमजोरी धेरै थिए, त्यसैले व्यवस्था त प्रजातन्त्र नै सही हो ।

तर आज पनि कमल थापा जस्ता पात्रहरू राजा फर्काउने कुरा गर्दै दुर्गा प्रसाईँ जस्ता अराजक व्यक्तिलाई उचालिरहेका छन्, जुन लोकतन्त्रका लागि चिन्ताजनक छ । जबसम्म राजनीति सेवा होइन, सत्ता र स्वार्थको साधन रहन्छ, तबसम्म पुराना होउन् वा नयाँ—नतिजा उस्तै आउँछ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ११ : ५४ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि