प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको कांग्रेसबाट १४ नयाँ अनुहार « Khabarhub

प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको कांग्रेसबाट १४ नयाँ अनुहार

३२ वर्षीय युवकदेखि ७१ का वृद्धसम्म विजयी



काठमाडौं- नेपाली कांग्रेसबाट प्रत्यक्षमा जितेका १८ जना नेतामध्ये चारजना पुराना अनुहार दोहोरिएका छन् । अधिकांश शीर्ष नेता पराजित हुँदा ७० कटेका टेकबहादुर गुरुङमात्रै विजयी भए । गुरुङ मनाङबाट तेस्रो पटक संसदमा प्रवेश गर्दा इलाम-१ ३४ वर्षीय निश्कल राई जस्ता युवाहरू जनताका प्रतिनिधि बनेका छन् ।

लज्जास्पद हार भोगेको कांग्रेसबाट यसपटक १८ जनाले प्रत्यक्षतर्फ चुनाव जिते । तीमध्ये चारजना ४० वर्षमुनिका छन् । त्यसमा रौतहट-२ बाट मोहम्मद फिरदोस आलम, इलामका ३४ वर्षीय निश्कल राई, पाल्पा-१ का सन्दीप राना र मुस्ताङका योगेश गौचन ४० मुनिका छन् । योगेश ३२ का हुन् भने पुन ३८ र फिरदोस र ३९ वर्षका छन् । योगेश कांग्रेसबाट जित्ने कान्छा सांसद हुन् ।

यस्तै प्रत्यक्षमा जित्ने बासना थापा कांग्रेसकी एक्ली महिला सांसद बनिन् । ०७९ को निर्वाचनमा तेह्रथुमबाट सीता गुरुङले प्रत्यक्षमा कांग्रेसबाट निर्वाचन जितेकी थिइन् । कांग्रेसमा पुराना अनुहार मनाङ-१ का टेकबहादुर गुरुङ, मुस्ताङ-१ का योगेश गौचन थकाली र रसुवा-१ का मोहन आचार्य हुन् ।

२०७९ मा प्रत्यक्षमा ५७ सिट जितेर पहिलो शक्ति बनेको कांग्रेस यसपटक १८ मा खुम्चिएको छ । कांग्रेस सभापति गगन थापा नै सर्लाही-४ बाट १२ हजार मतले हार्दा महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे पनि निराश भए । उनीसँगै कांग्रेसका अन्य शीर्ष नेता पनि बढारिएका छन् ।

२०७९ मा समानुपातिकमा कांग्रेसले ३२ सिट जितेको थियो । अहिले मतगणना जारी छ तर कांग्रेसले फेरि त्यति सिट ल्याउने कुनै सम्भावना छैन ।

यी हुन् कांग्रेसबाट जितेका १८ अनुहार

१. टेकबहादुर गुरुङ : मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ २०७० सालदेखि नै निरन्तर सांसद हुँदै आएका छन् । २०७९ को निर्वाचनमा पनि उनी मनाङबाट सांसद भएका थिए । ७१ वर्षका टेकबहादुर मनाङ-१ बाट विजय हुँदा २४१५ मत ल्याएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका यशोदा गुरुङले ४४५ मत ल्याइन् ।

२. प्रकाश सिंह कार्की : सोलुखुम्बु-१ बाट निर्वाचित प्रकाश सिंह कार्की ६२ वर्षका छन् । १३,१६६ मत ल्याएर कार्की विजयी हुँदा निकटतम् प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका अशीम राईले ९४१४ मत ल्याए । २०७४ सालमा प्रदेश सभा सदस्यमा पराजित उनी पहिलो पटक प्रतिनिधिसभामा पुगेका हुन् ।

३. जनकराज गिरी : बाजुरा-१ बाट निर्वाचित जनकराज गिरी ६० वर्षका भए । २७ हजार १६३ मत ल्याएर गिरी विजय हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत ल्याए । इमान्दार राजनीतिज्ञ उनले स्नातक तहसम्म अध्ययन गरेका छन् ।

४. विष्णुबहादुर खड्का : खड्का सुर्खेत-१ बाट पहिलो पटक संसद् पुगेका हुन् । उनी कांग्रेस नेता पूर्णबहादुर खड्काका भाइ हुन् । ५८ वर्षीय खड्काले २६,८९७ मत ल्याएर निर्वाचित भएका छन् । उनले नेकपा एमालेका धनकुमार शाहीलाई पराजित गरे ।

शाहीको मत १८,९९० छ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्णबहादुरलाई टिकट नदिएपछि विष्णुबहादुरले टिकट पाएका थिए । ४६ सालको जनआन्दोलनमा पहिलो पटक ११ दिन र दोस्रोपटक २६ दिन भन्दा बढी हिरासत बसेका उनी व्यवसाय क्षेत्रमा सक्रिय छन् ।

५. मोहम्मद फिरादोस आलम : आलमले रौतहट-२ बाट निर्वाचन जितेका छन् । २९,५२८ मत ल्याएर उनी विजयी हुँदा निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८४२ मत ल्याए ।

उनी विवादास्पद कांग्रेस नेता मोहम्मद अफ्ताव आलमका छोरा हुन् । आलमको यसअघि नै निधन भइसकेको छ। ३९ वर्षीय उनले एमबीबीएससम्म अध्ययन गरेका छन् । २०७९ को निर्वाचनमा पराजित उनी यस पटक विजयी भए ।

उनका बुवा आलमले ०५४, ०५६, ०६४ को निर्वाचन जितेका थिए । ०७० सालको निर्वाचनमा आलम पराजित भए । ०७४ मा आलम फेरि विजयी भए । उनका छोरा फिरादोसले दोस्रो पटकमा चुनाव जिते । ०७९ मा उनी स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पराजित भएका थिए ।

६. अभिषेक प्रताप साह : उनले कपिलवस्तु-३ बाट निर्वाचन जितेका छन् । ४३ वर्षका उनी २३ हजार ५३४ मत ल्याएर विजयी भए । निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत ल्याए। उनी चौथो पटक प्रतिनिधिसभामा पुगेका हुन् ।

७. खड्कबहादुर बुढा : खड्कबहादुरले जाजरकोट १ बाट निर्वाचन जित्दा नेकपा नेता शक्तिबहादुर बस्नेतको विरासत ढालेका छन् । उनी पहिलो पटक प्रतिनिधिसभा सांसद भएका हुन् । २० हजार १४२ मत ल्याएर उनले जित्दा निकटम् प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेत पराजित भए । शक्तिले १७ हजार ४०७ मत ल्याए ।

८. सन्दीप राना : सन्दीपले पाल्पा-१ बाट निर्वाचन जितेका छन् । यससँगै उनले त्यहाँ नेकपा एमालेको ३४ वर्ष लामो विरासत पनि भत्काएका छन् । ३८ वर्षीय उनले १८ हजार ३३६ मत ल्याएर जित्दा निकटम् प्रतिद्वन्द्वीय एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत ल्याए । सन्दीप पनि पहिलो पटक प्रतिनिधिसभा सांसद बनेका हुन्। उनी भारतीय जनता पार्टीका नेता अमित शाहनिकट भएर काम गरेका व्यक्ति पनि हुन् ।

९. नरेन्द्रकुमार केरुङ : नरेन्द्रले पाँचथरबाट जितेका छन् । ५३ वर्षका नरेन्द्र दुई पटकसम्म पराजित भएका थिए । २०७४ मा उनी प्रदेशसभामा पराजित भए । त्यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा समेत हारे ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको दुई पटकसम्म सभापति बनेका उनले १७ हजार २३३ मत ल्याएर जिते । उनका निकटम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत ल्याएका छन् ।

१०. निश्कल राई : युवा नेता निश्कलले इलाम क्षेत्र नम्बर १ बाट जितेका छन् । निश्कल प्राध्यापन पेशा छोडेर राजनीतिमा होमिएका हुन् । ३४ वर्षीय उनले १४ हजार ५४३ मत ल्याएर विजयी हुँदा निकटम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत ल्याए ।

११. बासना थापा : ४५ वर्षीया बासनाले दैलेख-१ बाट जितेकी छन् । १२ हजार ३६२ मत ल्याएर बासनाले जित्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७१६ मत ल्याए । पहिलो पटक प्रतिनिधिसभा पुगेकी उनी कर्णालीमा प्रत्यक्षतर्फ जित्ने एक्ली महिला हुन् । उनी यसअघि दैलेखको नारायण नगरपालिकाकी उपप्रमुख थिइन् ।

१२. सन्तोष सुब्बा : कांग्रेसले यसपटक तेह्रथुमबाट यसअघि प्रत्यक्ष चुनाव जित्ने एक्ली महिला सीता गुरुङलाई रोक्यो । सीतालाई रोकेर टिकट दिएको निर्णयलाई सन्तोष सुब्बाले सही सावित गरे । ४८ वर्षका सुब्बाले ११ हजार ५६१ मत ल्याएर जित्दा निकटतम् प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकाले १० हजार ६८२ मत ल्याए ।

पहिलो पटक प्रतिनिधि सभामा पुगेका सन्तोष कांग्रेसका वैचारिक नेताका रूपमा चिनिन्छन् । विद्यार्थी राजनीति हुँदै प्रतिनिधिसभामा पुगेका उनी स्थानीयस्तरमा राम्रो छवि भएका रुपमा चिनिन्छन् ।

१३. मोहन आचार्य : रसुवा-१ बाट जितेका आचार्य ४८ वर्षका छन् । १० हजार ६२६ मत ल्याएर जितेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता वसन्त भट्टलाई पराजित गरे । वसन्तले ९ हजार ९७१ मत ल्याए । मोहन आचार्य निर्माण व्यवसायमा संलग्न छन् । ०७४ र ०७९ को सालको चुनावपछि प्रतिनिधि सभामा दुईपटक विजयी भइसकेका उनलाई रसुवाका मतदाताले फेरि रोजे ।

१४. जयपति रोकाया : हुम्लाबाट निर्वाचित रोकायाले ८ हजार ७९७ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले ७,२४३ मत ल्याए । पहिलो पटक प्रतिनिधि सभामा पुगेका उनी लामो समय कांग्रेसको राजनीतिमा सक्रिय थिए । विद्यार्थी संगठन हुँदै कांग्रेसमा आएका उनी तीन कार्यकाल नेपाल तरुण दल हुम्लाको अध्यक्ष भएका थिए ।

१५. खड्ग शाही : मुगु-१ बाट जितेका खड्ग शाही ५८ वर्षका छन् । ७ हजार ९९४ मत ल्याएर विजयी भएका उनले नेकपा एमालेका पूर्णबहादुर रोकायालाई हराए । रोकायाको मत ६ हजार ७१८ छ। पहिलो पटक संसदीय राजनीतिमा होमिएका उनी सामाजिक काममा पनि सक्रिय छन् ।

१६. योगेश गौचन थकाली : मुस्ताङबाट विजयी थकाली ३२ वर्षका युवा हुन् । ३ हजार ३०७ मत ल्याएर विजयी उनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरे । विष्टको मत १ हजार ८०६ मत छ । ०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी दोहोरिएका छन् ।

१७- भरतबहादुर खड्का : डोटी-१ बाट निर्वाचित उनी ६८ वर्षका छन् । १४ हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका दीपकबहादुर धामी दोस्रो भए । धामीले १४ हजार ११० मतमा चित्त बुझाउनु परेको छ ।

खड्का २०३९ सालमा भएको गाउँ पञ्चायतको चुनावमा २३ वर्षकै उमेरमा निर्वाचित भएका थिए । खिर्सनी गाउँ पञ्चायतको प्रधानपञ्च बनेका उनी निरन्तर राजनीतिमा सक्रिय छन् । स्नातक तहसम्म अध्ययन गरेका उनी प्रतिनिधिसभामा पहिलो पटक प्रवेश गर्न लागेका हुन् ।

१८. भरत कुमार स्वाँर : अछाम-१ बाट निर्वाचित स्वाँरले १० हजार ७५९ मत ल्याएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका बलिया उम्मेदवार भीमबहादुर रावललाई पराजित गरे । रावलले १० हजार २३ मतमा चित्त बुझाए। ७० वर्षीय स्वाँर पहिलो पटक प्रतिनिधिसभामा पुगेका हुन् । लामो समय कांग्रेसको राजनीतिमा योगदान दिएका उनले कम्युनिस्टको किल्ला भत्काइदिए।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : २३ बजे

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई

कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

काठमाडौं- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु

‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

ढोरपाटन– काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८

‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

काठमाडौं– काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका