चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी « Khabarhub

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी



काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्दैछ । फागुन २१ को चुनावअघि रास्वपा भित्रिएका बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन हुँदैछन् । उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा चुनावमा होमिएको थियो ।

बालेनलाई रास्वपाको संसदीय दलको चयन गरेर मात्रै रास्वपा सरकार गठनमा लाग्नेछ । त्यसअघि मन्त्रीको टुंगो लगाउने नेताहरूको तयारी छ ।

१२ गते सांसदको शपथ खाएपछि १३ या १४ गते बालेन्द्र शाहले प्रधानमन्त्री शपथ खानेछन् ।

आज साँझ रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ल छलफलमा जुटेका थिए ।

बैठकमा शनिबारसम्ममा बालेन्द्रलाई संसदीय दलको नेता बनाइसक्ने र १३ या १४ गते प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गराउने सहमति भएको पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।

‘निर्वाचन आयोगले आज समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेको छ। यो शनिबार भित्रमा पार्टीको केन्द्रीय कमिटी र सचिवालय बैठक बसेर पार्टीका वरिष्ठ नेतालाई संसदीय दलको नेता बनाउँछौँ,’ स्रोतले भन्यो, ‘बीचमा मन्त्री छान्ने, सभामुख छान्ने प्रक्रिया हुन्छ त्यसपछाडि १२ गते सबैले शपथ खान्छौं १३ या १४ गते नयाँ सरकार बन्छ ।’

यता रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत १३ गते प्रधानमन्त्रीले शपथ गराउने तयारी भएको बताउँछन् । ‘प्रधानमन्त्रीको शपथ १३ गते नै गराउने गरी छलफल चलिरहेको छ । प्राविधिक कारणले भएन भने १४ गते भित्रमा नयाँ सरकार आइसक्छ’ उनले भने ।

संसद सचिवालयले बिहीबार दिउँसो जारी गरेको सूचनामा १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहणको कार्यतालिका छ। यता संसदका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पनि आफूले शपथ सांसदहरुलाई खुवाउनका लागि जानकारी आएको बताए ।

बैठकमा सहमति जुटेको विषयमा रास्वपा स्रोतले बताएअनुसार मिलेसम्ममा १३ गते नै बालेन प्रधानमन्त्री नियुक्त हुनेछन्।

‘मिलेसम्ममा १३ गते नै प्रधानमन्त्री नियुक्त गर्ने छलफल चलेको छ। हाम्रो बसमा मात्रै यो कुरा नभएकाले १४ गते भित्रमा सरकार बनिसक्छ,’ स्रोतले भन्यो, ‘संसद सचिवालय र राष्ट्रपति कार्यालयले पनि त्यही अनुसार काम गर्नुपर्ने हुँदा १४ गते सम्ममा नयाँ सरकार देख्न पाइन्छ। प्राविधिक उल्झन नभएको खण्डमा १३ गते नै पनि नियुक्त गर्न सकिने छलफल गरेका छौं।’

खबरहबसँगको कुराकानीमा पार्टी उपसभापति डिपी अर्यालले निर्वाचन आयोगले समानुपातिकमा रहेका व्यक्तिहरूलाई प्रमाणपत्र दिइसकेपछि सरकार गठनमा बिलम्ब नगर्ने बताइसकेका छन् । उनले यस अगाडि पनि चैतको दोस्रो साताभित्रमा सरकार गठन भइसक्ने जानकारी गराएका थिए।

विवादरहित व्यक्ति ल्याउने तयारी

चार नेताहरू बीच भएको छलफलमा मन्त्रीहरूको विषयमा सामान्य कुराकानी भएको छ। कुराकानीका क्रममा नेताहरूले मन्त्रिपरिषद चुस्त बनाउने र विवादरहित व्यक्ति र परिणाम दिनसक्ने व्यक्तिहरूलाई मन्त्रालय सुम्पिने तयारी गरेको बताए। नेताहरूबीच सरकार बालेनले र पार्टी रविले दबाबरहीत ढंगले चलाउने सहमति भएको बताइएको छ ।

नेताहरूबीच अर्थमन्त्रीमा उपसभापति वाग्ले लगभग पक्का भइसकेका छन् । उता गृहमन्त्रीका विषयमा कसलाई बनाउने भन्ने सहमति नजुटेको नेताहरू बताउँछन् ।

मन्त्री बन्ने नामहरूमा सामान्य छलफल

चार नेताहरूबीच कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा पनि छलफल सुरु भएको छ। आजको बैठकमा बालेन्द्रले पार्टीले नै मन्त्री बनाउन लागेका व्यक्तिहरूको मापदण्ड तयार पार्नुपर्ने र आफूले पनि त्यसमा सहयोग गर्ने बताएको स्रोतको भनाइ छ ।

बैठकमा मन्त्रालयको सङ्ख्या घटनाउनेबारे पनि छलफल भएको बताइएको छ । ‘यो यो पात्र मन्त्री बन्न सक्छन् है भन्ने विषयमा छलफल सुरु भएको छ। व्यक्तिहरूको नामै तोकेर ती व्यक्तिहरूको विषयमा अध्ययन गर्ने कुरा आएको छ,’ पार्टी उच्च स्रोत भन्छ, ‘नामहरू लगभग फाइनल हुने प्रक्रियामा छन्। धेरैजना मन्त्रालय सम्हाल्ने मन्त्रीहरूको विषयमा दुवै पक्षले एउटै नाम लिए पनि केही मन्त्रालयको विषयमा भने फरक फरक प्रस्ताव आएका छन् ।’

एकै चरणमा शपथ गराउने छलफल

चार नेताको बीचमा प्रधानमन्त्रीको रुपमा बालेन्द्रले शपथ खाएसँगै अरु मन्त्रीपरिषद् पनि एकै चरणमा बनाउने छलफल चलेको छ। सम्भव भएसम्म एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने र सभामुखमा पनि योग्य व्यक्तिलाई पठाउने साझेदार जुटेको स्रोतको भनाइ छ ।

उपसभामुखमा पनि प्रमुख प्रतिपक्षी दलको तर्फबाट एकजनालाई पठाउनका लागि अपिल गर्ने समेत छलफल चलेको छ। ‘एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने लगभग सहमति जुटेको छ,’ पार्टीको स्रोतले भन्यो, ‘सभामुख हाम्रो पार्टीबाट जानुहुन्छ उपसभामुख पनि प्रमुख प्रतिपक्षी दलको तर्फबाट पठाउन अपिल गर्ने कुरा भएको छ ।’

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ९ : २६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको