लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन « Khabarhub

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

बिहीबार ज्येष्ठ सदस्य केसीसँग शपथ लिँदै नवनिर्वाचित सांसद



काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रम तय गरेको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा ज्येष्ठ सदस्यले अन्यलाई शपथ गराउने छन्।र संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद अर्जुननरसिंह केसीले शपथ गराउँदै तयारी गरेको छ।

त्यस अगाडि केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति निवासमा शपथ लिँदै छन्। ७८ वर्षीय केसीले लामो समय नेपाली कांग्रेसमा सहकार्य गरेका समकालीन नेता ८१ वर्षीय राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिन लागेका हुन्।

बुधबार केसीले शपथ लिएपछि बिहीबार नयाँ प्रतिनिधिसभा सदस्यले केसीसमक्ष सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा शपथ लिनेछ।

जेन-जी आन्दोलनअघि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि तथा राष्ट्रिय दुवै सभाका बैठक हुँदै आएका थिए। उक्त आन्दोलनमा केन्द्रमा आगजनी भएपछि शपथका लागि सिंहदरबारमा नयाँ हल तयार भएको हो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आगलागीका कारण केन्द्र क्षतिग्रस्त बनेको छ। संघीय संसद् सचिवालयले ६ वर्षदेखि सिंहदरबारमा निर्माणाधीन भवनमै शपथको व्यवस्था गरेको छ । निर्माणाधीन भवनको काम हालसम्म सम्पन्न भइसकेको छैन।

शपथ कार्यक्रममा सहभागी २७५ प्रतिनिधिसभा सदस्यमध्ये २४ जनाले ११ भिन्न मातृभाषामा शपथ लिँदै छन्।

को हुन् ज्येष्ठ सदस्य केसी?
२००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा जन्मिएका केसी २०१८ सालदेखि राजनीतिमा सक्रिय छन्। कानुनतर्फ बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन गरेका छन् । उनीसँग कानुन व्यवसायीका रूपमा समेत काम गरेको अनुभवसमेत छ ।

पञ्चायती शासनकालमा छ वर्ष नौ महिना जेल जीवन बिताएका केसीले नेपाली कांग्रेसको सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीका विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरेका छन्। उनी कांग्रेसका अनुभवीमध्येका एक नेता हुन्।

पार्टीमा लामो राजनीतिक योगदान गरेका केसीसँग शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकासमन्त्री भएर काम गरेको अनुभवसमेत छ। नेता केसी समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्छन्।

केसी २०३६ को जनमत संग्रहपछिको राष्ट्रिय पञ्चायत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर संसद् छिर्न सफल भएका पात्र हुन्। यसपटक समानुपातिकतर्फबाट सांसद बनेका उनी पटक–पटक लाभको पदमा बसेको भन्दै आलोचित छन्। त्यसैमाथि उनलाई सभापति गगनकुमार थापाको ससुरा भएकै कारण समानुपातिक सांसद बनेको भन्दै कतिपयले प्रश्न गरेका छन्।

शुक्रबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठक बाहिर पत्रकारसँग कुरा गर्दै केसीले यो आरोपको खण्डन गरे । ‘अर्जुननरसिंह केसीको यति लामो संघर्ष केही होइन? गगनको ससुरा मात्रै हो त?’ भन्दै सञ्चारकर्मीलाई प्रश्न गरेका थिए।

संसदीय दलमा केसीको दाबी
कांग्रेस संसदीय दलको नेताको दाबेदारसमेत रहेको केसीले घोषणा गरेका छन्। ‘संसदीय दलको नेतामा मेरो दाबेदारी रहन्छ। तर यो निर्णय कार्यसमिति बैठकले गर्नेछ,’ सोही क्रममा उनले भनेका थिए। यद्यपि उनलाई संसदीय दलको नेता नबनाउन अप्रत्यक्ष दबाब बढेकाले सम्भावना न्यून रहेको थापाको सचिवालयका एक सदस्य बताउँछन्।

२०७९ साल फागुन २५ गते नेपालको चौथो राष्ट्रपति भएका पौडेलले संस्कृत साहित्य र नेपाली साहित्यमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन्। उनी २०१७ सालमा संसद् विघटनको विरोधमा आन्दोलनमा होमिएका थिए। २०१८ देखि २०६२ सालसम्मका विभिन्न राजनीतिक आन्दोलनका क्रममा उनले १४ वर्षभन्दा बढी जेल जीवन बिताएका छन्। २०४८ सालदेखि पटक–पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी २०५१ सालमा सभामुखसमेत बनेका थिए। पौडेल स्थानीय विकास, कृषि, सूचना तथा सञ्चार, गृह मन्त्रालय र उपप्रधानमन्त्री हुँदै राष्ट्रपतिको जिम्मेवारीमा पुगेका हुन् ।

केसीले बुधबार शपथ गरेपछि उनले बिहीबार नवनिर्वाचित सबै प्रतिनिधि सभा सदस्यलाई शपथ गराउनेछन्। शुक्रबार प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिनेछन्। रास्वपाको एकमना सरकार बनाउन लागेका शाहले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बालेनसँगै अन्य मन्त्रीको शपथ शुक्रबार नै हुनेछ । रास्वपाले मन्त्रीमा पठाउने नाम भने छलफल जारी रहेको बताए पनि टुंगो लगाइसकेको छैन ।

रास्वपाभित्र सभापति रवि लामिछानेले पार्टी चलाउने र वरिष्ठ नेता बालेनले सरकार चलाउने सहमति भएको छ । बालेनले पार्टीका नेतालाई सभापतिसँगको छलफलमा मन्त्री बनाउने तयारी गरेका छन् ।

२०१५ सालपछि नेपालमा पहिलो पटक एउटै दलले बहुमतको सरकार बनाउन लागेको हो । फागुन २१ गतेको चुनावमा रास्वपाले २७५ मध्ये १८२ सिट जितेको छ । दुई तिहाई बहुमतका लागि रास्वपाको दुई सिट कम छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : ११ बजे

सडकमा बसेर आम जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम