काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् ।
बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जिम्मेवारी जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य पूरा भएको बताइन् । ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,’ उनले भनिन्।
सम्बोधनका क्रममा उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन को समयमा आफूले डर र अनिश्चयबीच जिम्मेवारी सम्हालेको स्मरण गरिन् । आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई सम्झिँदै उनले श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई ढाडस दिइन् ।
कार्कीले आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यवसाय तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरिन् । साथै उनले सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरिन् ।
उनले हालै सम्पन्न निर्वाचनमार्फत नागरिकले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको बताउँदै नयाँ सरकारले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गरिन् ।












प्रतिक्रिया