राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू « Khabarhub

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । 

अधिवेशनको उद्घाटनका अवसरमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले परिपक्व, संयमित र समन्वयकारी सदनका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि कायम राख्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले राष्ट्रियसभा स्थायी सदन भएकाले प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुने संवैधानिक व्यवस्था अनुसार हालै १९ जना सदस्यलाई बिदाइ र १८ जना नयाँ सदस्यलाई स्वागत गरिएको जनाउँदै नवनिर्वाचित सदस्यको सहभागिताले संसद्को काम अझ समृद्ध र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकल बहुमत प्राप्त भएको र वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा संसद्को भूमिका अझ जिम्मेवार बनेको धारणा राखे । 

लोकतान्त्रिक व्यवस्थामा जनादेश सर्वोपरि हुने उल्लेख गर्दै उनले सरकारलाई सुशासन, पारदर्शिता, जबाफदेहिता र प्रभावकारी सेवा प्रवाहतर्फ मार्गदर्शन गर्नु संसद् र सांसदको कर्तव्य भएको स्पष्ट पारे ।

अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको सहकार्यलाई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै दुई सदनबीच समन्वय र सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिए । 

उनले राष्ट्रियसभालाई सङ्घीय संरचनाको सन्तुलन र दीर्घकालीन दृष्टिकोणको प्रतिनिधि संस्थाका रूपमा व्याख्या गरिएको उल्लेख गरे ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको क्षति र सिंहदरबारमा निर्माणाधीन नयाँ भवन हालसम्म सम्पन्न नभएकाले हालको अधिवेशन पनि पुरानै भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष दाहालले जानकारी दिए । 

उनले निर्माणाधीन उक्त नयाँ भवन यथाशीघ्र सम्पन्न भई आधुनिक प्रविधिसहित संसद् सञ्चालन हुने अपेक्षा व्यक्त गरे ।

नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले यसले संसदीय अभ्यासलाई अझ व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । 

आगामी दिनमा विधेयक, नीतिगत विषय तथा राष्ट्रिय सरोकारका मुद्दामा सदस्यहरूको सक्रिय, रचनात्मक र उत्तरदायी सहभागिता रहने उनले विश्वास व्यक्त गरे ।

लोकतन्त्रको सुन्दर पक्ष स्वस्थ बहस, विचारको विविधता र सहमतिमा आधारित संस्कृतिमा निहित हुने रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसद्भित्र गरिमामय र तथ्यपरक बहस आवश्यक रहेकामा जोड दिए । 

उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै राजनीतिक मतभेदभन्दा माथि उठेर काम गर्न सबै सदस्यलाई आह्वान गरे ।

आजको बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त बेहोराको जानकारी गराएका थिए । आजको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष र राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ५५ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन