काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबारदेखि अचानक युटर्न गरेका छन् ।
गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन हिंसात्मक बनाएर युवाहरूको ज्यान लिएको अभियोगमा अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेमाा शक्ति सन्तुलन फेरिने अवस्था आएको हो । पार्टीमा ओलीविरोधी पक्ष बलियो बन्ने संकेत देखिँदा पौडेलको युटर्नलाई अर्थपूर्ण मानिएको छ।
११ औँ महाधिवेशनमा ओलीकै प्यानलबाट उपाध्यक्ष बनेका पौडेलले युटर्न गरेर विपक्षी तप्कामा आफूलाई खडा गरेपछि शक्ति सन्तुलन फेरिने अवस्था आएको हो ।
उनले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरेका पार्टीका कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति खेद प्रकट गर्दै सार्वजनिक रुपमा बोलेपछि एमालेभित्रको शक्ति संघर्ष नयाँ रूपमा देखिएको हो ।
फागुन २१ को चुनावी नतिजामा एमालेले नराम्रोसँग धक्का खाएसँगै पौडेल अध्यक्ष ओलीसँग असन्तुष्ट रहेको चर्चा थियो । त्यही बेला नै पार्टी बैठक राखेर ओलीलाई बिदा हुन दबाब दिने तयारीमा नेताहरू थिए । तर अध्यक्ष ओली पितृशोकमा परेपछि त्यसबेला उक्त सम्भावना टरेको थियो ।
ओलीको बिदाइबारे एमालेको इतर पंक्ति संगठित हुँदै गर्दा पौडेलले बिहीबार सार्वजनिक रुपमै असन्तुष्टि पोखेपछि पार्टीमा नयाँ बहस सुरू भएको छ । संसदीय दलका नेता बादलले बिहीबार ओलीको निर्देशनअनुसारको मन्तव्य दिएको उनैले बताइसकेका छन् ।
ओलीको निर्देशन र महासचिव शंकर पोखरेलको सल्लाहअनुसार बादलले मन्तव्य दिए पनि त्यसलाई लिएर तनाव बढेको हो । पौडेलले बिहीबार बादललाई लक्षित कठोर टिप्पणी गरेपछि अब उनी इतर समूहमा खुलेको नेताहरू बताउँछन् ।
एमालेको ११औँ महाधिवेशनमा पनि अन्तिम समयमा उनी उपाध्यक्ष पद सुनिश्चित गर्दै उनी ओली प्यानलमा खुलेका थिए। त्यसपछि महासचिवमा पोखरेललाई रोक्न पौडेलले जोडबल गरे । तर ओलीले उनैलाई दोहोर्याए । गत शनिबार गुन्डुबाट पक्राउ परेका ओली हिरासतमा हुँदा पौडेलले आफूलाई इतर समूहतिर खुलाउँदै शक्ति सञ्चयमा लागेका हुन् ।
कार्यवाहक अध्यक्षमा दाबेदारी
ओली हिरासतमा गएपछि पौडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी आउने आशा राखेको बताइन्छ । तर ओलीले पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई त्यो जिम्मेवारी दिए।
कार्यवाहक अध्यक्षसँगै संसदीय दलको नेतामा पनि बादल नै चयन भए । त्यसपछि पौडेल ओली बिच्किएका हुन्। एमालेको एघारौँ महाधिवेशनमा पनि उनी वरिष्ठ उपाध्यक्षको दौडमा थिए । तर ओलीले विश्वास गरेनन् । ईश्वर पोखरेलको विद्रोहले ओली उक्त पद नै नराख्ने निर्णयमा पुगे।
ओलीले आफूलाई भन्दा बढी विश्वास पूर्वमाओवादी नेतालाई गरेपछि पौडेल रिसाएका हुन् । उनले आफ्नो शक्ति कमजोर बनाउन ओली नै लागेको संकेत देखेपछि सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका हुन् ।
शंकरसँगको लडाइँ
शंकर र विष्णुको भूगोल एउटै हो-लुम्बिनी । यी दुईको शक्ति संघर्ष धेरै पुरानो हो । उनीहरू आफ्नो क्षेत्रमै लामो समयदेखि शक्तिको लडाइँमा छन्। लुम्बिनी प्रदेशमा उनीहरूको द्वन्द्व तलैसम्म देखिन्छ।
पाँच पटकसम्म अर्थमन्त्री बनेका पौडेल १२औँ महाधिवेशनमा अध्यक्षको दाबीसहित अघि बढ्न खोजेका छन् । उता महासचिव पोखरेल ओलीका विश्वासिला पात्र हुन् ।
अहिले एमालेमा पोखरेललाई पौडलेभन्दा बलियो मानिन्छ । बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बनाउन पनि पोखरेलले नै महत्वपूर्ण भूमिका खेले। यतिसम्म कि युवा पुस्ताका सुहाङ नेम्वाङलाई संसदीय दल उम्मेदवारी दिने प्रस्तावक र समर्थकलाई शंकरले नै रोकेका थिए ।
बिहीबार प्रतिनिधि सभामा बादलले भाषण गरेको पनि ओलीको निर्देशनमा शंकरले नै लेखेर दिएको एमाले बृत्तमा चर्चा छ। उक्त भाषणको आलोचना भएपछि आफूलाई भेट्न आएका नेतालाई ‘जस्तो लेखेर आएको थियो, त्यस्तै पढेको’, जवाफ दिएका छन्।

कसले देलान् साथ ?
विष्णुलाई संस्थापन इतरका योगेश भट्टराई र गोकर्ण विष्टले साथ दिन सक्छन् । ओलीलाई बिदा गर्ने हकमा पृथ्वी सुब्बा गुरुङ पनि खुल्न सक्छन् । तत्कालका लागि एमालेमा विष्णुभन्दा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने माग छ । युवाहरूले ओलीसँगै विष्णु र शंकरहरू पनि बिदा हुनुपर्ने माग चर्काइरहेका छन् ।
अहिलेकै अवस्थामा पौडेलले इतर समूहको नेतृत्व गरे पनि ओलीलाई हटाउने गरी घेराबन्दी गर्न अझै संख्या पुग्ने अवस्था देखिँदैन। गोकर्ण र योगेशले पनि ओलीलाई बिदा गर्न साथ दिन सक्छन् तर विष्णुलाई नेतृत्वमा ल्याउन उनीहरू तयार देखिँदैनन् ।
‘सचिवालयका गोकर्ण, योगेश, पृथ्वीसुब्बा लगायतले ओली हटाउने कुरामा विष्णु कमरेडलाई साथ दिनु होला । तर उहाँलाई नै नेतृत्वमा स्थापित गराउन उहाँहरू तयार हुनुहुन्न,’ एमालेका एक नेताले भने, ‘पहिलो पुस्ताका सबैलाई बिदा गर्ने आवाज उठ्दा विष्णु पौडेललाई अगाडि बढाउन अहिले सम्भव छैन । युवाहरू तयार देखिएका छैनन् ।’
उता इतर पक्षका योगेशले पनि बादलको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । तर उनी विष्णुलाई नेता बनाउने पक्षमा खुल्ने अवस्थामा छैनन्। उनी पार्टीमा युवा नेतृत्व स्थापित हुनुपर्ने पक्षमा छन् ।
जागे युवा
एमालेले संसदीय दलको नेतामा सुहाङलाई नलगेपछि युवा पंक्तिले विद्रोह गर्न थालेको छ। युवाहरू नेतृत्व परिवर्तनको पक्षमा देखिए पनि अहिले नै त्यो सम्भव देखिँदैन। असन्तुष्टि भुसको आगोजस्तै बलिरहेको छ तर त्यसले नेतृत्व फेर्ने हैसियत बनाएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा दुईतिहाइ नजिकको सिट ल्याएपछि एमालेका युवाहरू पनि अब विद्रोहको अवस्थामा छन् ।
अहिले एमालेमा विशेष महाधिवेशन गरेर ओलीलाई बिदा गर्नुपर्ने आवाज उठ्दै छ। यसको तयारीमा केही नेता लागिसकेका छन् । त्यहीकारण शीर्ष नेताहरू सुरक्षित हुने उपायको खोजीमा छन् ।
एमालेका युवा पंक्ति सडकमा आए शीर्ष नेतृत्वमाथि दबाब पर्न सक्छ । केही युवाले यसको तयारी गरिरहेको स्रोत बताउँछ। नेतृत्व फेर्ने बहसबीच दलको नेताको जिम्मेवारी युवालाई नदिएपछि आक्रोश बढेको छ। युवाको भावना नसमेटिएको भन्दै ओलीकै पक्षका विद्यार्थी नेताहरू नरेश रोकाया र समिक बडालले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन्।
शुक्रबार बसेको एमाले सचिवालय बैठकमा युवाहरूले च्यासल घेरे । उनीहरूले नेताहरूलाई फूल दिँदै पुस्तान्तरण गर्नुपर्ने आवाज उठाएका छन्। महासचिव पोखरेलको पुत्लासमेत जलाएका युवाहरूले च्यासलको बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई फूलको थुंगासहित दबाब दिए ।
अहिले युवाहरू महासचिव पोखरेलले सुहाङलाई रोकेको भन्दै आक्रोशित छन् । उनीहरूले शंकर पनि ओलीकै शैलीमा अगाडि बढेको भन्दै विरोध जनाएका छन् ।
पूर्वविद्यार्थी नेता समिक बडाल एमालेमा पुस्तान्तरणको बहस आवश्यक रहेको बताउँछन्। उनी पार्टी समयानुकूल चल्नुपर्ने बताउँदै पुस्तान्तरणको एजेन्डा उठाइछाड्ने बताउँछन्।
सुहाङले दलको नेतामा दाबी गरेर पुस्तान्तरणको बहसलाई थप बल दिएको बडालले बताए। ‘पुस्तान्तरणको बहस उठिसकेको छ। यसले व्यापक रूप लिन्छ,’ सुहाङ भन्छन्, ‘नेताहरूलाई बुझाउन समय लाग्ला, तर बिस्तारै बुझ्नुहुन्छ।’

ओलीको विकल्प को ?
ओलीमाथि फौजदारी अभियोग लागेको छ। ज्यान कसुर भएकाले पुर्पक्षका लागि थुनामा पठाइदिन पनि सक्छ । यस्तो अवस्थामा एमालेको नेतृत्व कसले सम्हाल्छ भन्ने बहस अहिले पार्टीमा सुरू भएको छ।
विष्णु पौडेल आफैं बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका नेता हुन् । उनलाई अध्यक्षको जिम्मेवारी दिन नहुने आवाज उठिरहेको छ। शंकर र बादलले पार्टीलाई प्रभावकारी रूपमा चलाउन नसक्ने भन्दै अब युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने नेताहरूको मत छ।
युवा पुस्ताका नेता आफूहरू पार्टी हाँक्न तयार रहेको बताउँछन् । परिआए जुनसुकै जिम्मेवारी लिन तयार रहेको सुहाङ लगायत नेताहरू बताउँछन्।
एमाले उपाध्यक्ष गोकर्ण बिष्ट, उपमहासचिव योगेश, नेतृ डा. बिन्दा पाण्डे, उषाकिरण तिमल्सिना लगायतको ठूलो पंक्तिले अहिले पार्टीमा पुस्तान्तरणको बहस उठाउँदै आएको छ। एमालेमा विष्णु पौडेल, शंकर पोखरेल र बादलभन्दा अझै तल झरेर युवाको नेतृत्व आउनुपर्ने माग बढेको छ।













प्रतिक्रिया