कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन सकेका छैनन् ।
नगरपालिकाको कूल जनसङ्ख्या ५५ हजार ८०६ रहेकोमा हालसम्म पाँच हजार ७५६ जना मात्रै बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन कूल जनसङ्ख्याको करिब १० दशमलव ३१ प्रतिशत मात्रै रहेको छ । स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार सङ्घीय सरकारमार्फत पाँच हजार ७२६ र नगरपालिका–१० को सहयोगमा ३० जना बीमा कार्यक्रममा समेटिएका छन् । उनले स्वास्थ्य बीमा सम्बन्धी पर्याप्त जानकारी र यसले पुर्याउने फाइदाका बारेमा जानकारी नहुँदा नागरिक सहभागिता न्यून भएको पाइएको बताए ।
उनका अनुसार, स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन इच्छुक नागरिकले तोकिएको बीमा दर्ता केन्द्र वा अभिकर्तामार्फत परिवारको विवरण पेस गर्नुपर्ने हुन्छ ।
नागरिकता वा परिचयपत्र, परिवार सदस्यको विवरण र आवश्यक कागजातसहित आवेदन दिएपछि वार्षिक प्रिमियम शुल्क तीन हजार ५०० बुझाइ बीमा सदस्यता लिन सकिन्छ । सामान्यतया एक परिवार (पाँच जना सम्मको)ले न्यून शुल्क तिरेर वार्षिक रूपमा एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क वा सहुलियतमा पाउने व्यवस्था रहेको छ ।
बीमा कार्यक्रममा आबद्ध हुन केही चुनौती पनि देखिएका छन् । कतिपय नागरिकले बीमा प्रक्रिया झन्झटिलो भएको गुनासो गर्ने गरेका छन् । फाराम भर्ने प्रक्रिया, कागजात सङ्कलन, समयमै सेवा नपाउने चिन्ता, अस्पतालमा बीमा सेवा सहज नहुनुजस्ता कारणले पनि आकर्षण घटेको देखिन्छ । ग्रामीण क्षेत्रमा सूचना अभाव र पहुँचको कमी पनि प्रमुख समस्याका रुपमा रहेको छ ।
नगरपालिकाले आगामी दिनमा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा अभिकर्ताको सक्रिय परिचालन गर्ने योजना अघि सारेको उनको भनाइ रहेको छ ।













प्रतिक्रिया