बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित « Khabarhub

बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– मलेसियाको बोर्नियो टापुको तटीय बस्तीमा आइतबार बिहान भएको भीषण आगलागीले ठूलो मानवीय सङ्कट निम्त्याएको छ ।

समुद्रमाथि काठका खम्बामाथि बनाइएका घना घरहरूमा लागेको आगो तीव्र गतिमा फैलिँदा करिब एक हजार घर पूर्ण रूपमा नष्ट भएका छन् भने नौ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।

अग्नि तथा उद्धार विभागका अनुसार आगलागी सबाह राज्यअन्तर्गत सन्दकन जिल्लाको एक तटीय ‘पानी गाउँ’ मा सुरु भएको थियो ।

काठ र अन्य ज्वलनशील सामग्रीबाट बनेका घरहरू एकआपसमा अत्यन्तै नजिक भएकाले आगो छिट्टै फैलिएको थियो । समुद्रमाथि खम्बामा उभ्याइएका संरचनाहरूमा फैलिएको आगो नियन्त्रण गर्न उद्धारकर्मीलाई निकै कठिनाइ परेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार तीव्र हावा र घरहरूको घनत्वले आगो फैलिन झन् सहयोग पुगेको थियो । साथै, प्रभावित क्षेत्रमा पुग्ने बाटो साँघुरो हुनु र ज्वारभाटाको असरका कारण पानीको सतह घट्दा उद्धार तथा नियन्त्रण कार्यमा थप समस्या उत्पन्न भएको थियो ।

घटनामा हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन । तर हजारौँ स्थानीयवासी आफ्नो वासस्थान गुमाएर विस्थापित भएका छन् र उनीहरूलाई अस्थायी शिविरमा सारिएको छ । स्थानीय प्रशासनले राहत तथा पुनः स्थापनाका लागि काम अघि बढाएको जनाएको छ ।

सबाह क्षेत्रमा पाइने यस्ता ‘पानी गाउँ’ हरू प्रायः गरिब तथा सीमान्तकृत समुदायको बसोबास क्षेत्र मानिन्छन् । समुद्रमाथि बनाइएका यी अनौपचारिक बस्तीहरूमा पूर्वाधारको अभाव, असुरक्षित आवास संरचना र भीडभाडका कारण आगलागीको जोखिम उच्च रहने गरेको छ ।

त्यहाँ बसोबास गर्ने धेरै मानिसहरू न्यून आय भएका, आदिवासी समुदायका वा औपचारिक नागरिकता नभएका व्यक्तिहरू हुने गर्छन् ।

स्थानीय गाउँ प्रमुख सरिफ हासिम सरिफ इटिंका अनुसार प्रारम्भिक रूपमा खाना पकाउने क्रममा लागेको आगो नियन्त्रण बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि आगलागीको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री अनवर इब्राहिमले विस्थापित परिवारलाई केन्द्रमा राखेर सङ्घीय र राज्यस्तरीय निकायहरूले राहत तथा उद्धार कार्य समन्वय गरिरहेको जानकारी दिए । उनले प्रभावितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

सबाहका यस्ता तटीय बस्तीहरूमा विगतमा पनि पटक–पटक आगलागीका घटना हुने गरेका छन् । स्थानीय अधिकारीहरूले यस्ता क्षेत्र उच्च जोखिममा रहेको स्वीकार गर्दै आए पनि संरचनागत सुधार र सुरक्षित बसोबास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

यसपटकको आगलागीले पुनः एकपटक त्यस्ता बस्तीको असुरक्षा र दीर्घकालीन समाधानको आवश्यकता उजागर गरेको छ । रासस
 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ५० बजे

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको

प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ

बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरू)

काठमाडौं– बुटवलमा जीतगढी विजय उत्सव सुरु भएको छ । बुटवल