काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको आरोप लगाएकी छिन् । ग्रामीण विकास विषयमा स्नताकोत्तर गरेकी उनी सडकपेटीमा नङ काट्ने, तौल जोख्ने मेसिन लिएर बस्थिन् । साथै, सडक संगीत गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् ।
आफूजस्तै दृष्टिविहीन श्रीमान् र उनले सडकलाई नै कर्मथलो बनाएका थिए । तर काठमाडौँ महानगरपालिकाले आफूहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरी सडकबाट उठाएकोमा उनको घोर आपत्ति छ ।
महानगरले सडकपेटीमा खुद्रा व्यापार गर्न, गीत गाउन र माग्न रोक लगाएपछि दृष्टिविहीनहरू आफूहरूको व्यवस्थापन गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका छन् । त्यस्तै, रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

असारको चर्को घाममा सेतो छडी श्रीमान्को हात समातेर मण्डलामा उभिएकी अम्बिकाले राज्यले आफूहरूलाई भोटबैँकको रुपमा मात्रै प्रयोग गरेको आरोप लगाएकी छिन् ।
खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘नेताहरूले चुनावको बेला मात्रै चिन्नुहुन्छ । भोट हालेर जिताएर पठाएपछि बिर्सनुहुन्छ । हिजोका पुराना नेताले पनि त्यसै गर्नुहुन्थ्यो । अहिले नयाँ भन्नेहरूले भोटबैँकको रुपमा प्रयोग गर्नुभयो । अपाङ्गता तथा असक्ततामाथि पनि राज्यले बल प्रयोग गरेर शक्ति प्रदर्शन गर्नु निकम्मापन हो ।’
‘नगर प्रमुख विष्णु जोशीले दृष्टिविहीन ‘चिनी चियापत्ति’ भन्ने शब्द प्रयोग गरे । तिमीहरूलाई भाटा हान्छु भने, उनी थप भन्छिन्, ‘म दृष्टिविहीनको सुरुवाल घुँडासम्म च्यातिदिए । लछारपछार पारेर गाडीमा हालेर होल्डिङ सेन्टर लगे । बिहानदेखि बेलुकासम्म पानी पनि नदिएर राखे । बेलुका ५ बजे डिएसपी आएपछि झनै झडप भयो । प्रहरीले हामीमाथि हातपात ग¥यो । हाम्रो मोबाइल जफत गरियो ।’
त्यसैगरी अम्बिकाका श्रीमान् अर्जुन सापकोटाले कोठाभाडा र चार वर्षको छोराको स्कुल फी समेत तिर्न नसकेको बेलामा महानगरले सडकबाट उठाएर आफूहरूमाथि अन्याय गरेको बताए । उनले भने, ‘सडकमा बसेर मागेर गुजारा गर्न, धुवाँ धुलोसँग पौँठेजोरी खेल्दै अगरबत्ती बेचेको रहरले होइन । बाध्यताले हो । हामी पनि सडकमा बस्न चाहन्नौँ। सरकारले हामीलाई सडकमा बस्न नपर्ने वातावरण बनाइदिनुपर्यो ।’
हेटौंडाका ४२ वर्षीय सापकोटा र अम्बिकाले पाँच वर्ष अगाडी प्रेम विवाह गरेका थिए । अहिले उनीहरूको एक चार वर्षको छोरा छन् । सानोठिमी मगरगाउँमा भाडा गरेर बस्ने उनीहरू सडकमै भेटिएका थिए ।

यसरी जुर्यो लगन
प्रेमको लहरो कसरी झाँगियो त ? अम्बिका भन्छिन्– अगरबत्ती बेच्न हिँड्ने क्रममा भेट भएको हो । ग्रुप भएर हामी बेच्न हिँड्थ्यौ । एकदिन ग्रुप जुध्यो । त्यसैक्रममा चिनापर्ची भयो । बिस्तारै–बिस्तारै कुराकानी बढ्दै गएपछि मायाप्रेम हुँदै गयो । तीन महिनाको प्रेम सम्बन्धलाई विवाह गरेर श्रीमान्– श्रीमती बन्यौ । २०७८ साल वैशाख २७ गते बिहे गर्यौं ।
आवाज सुनेरै प्रेम जाग्यो । प्रेम हृदयले महसुस गर्ने हो । आँखाले देखेर मात्रै हुँदैन । हृदय हामीसँग पनि छ । आँखा नभएर प्रेम गर्न छेकिँदैन । बोलीवचन र व्यवहारले मन जित्न सकिन्छ ।
मेरो तुलनामा धेरै कम पढ्नुभएको छ । तर उहाँ इमानदारीमा सबैभन्दा माथि पाएँ । धन सम्पत्ति, शैक्षिक योग्यताभन्दा पनि इमानदारी ठूलो कुरा हो । आजसम्म जाँडरक्सी छुनुभएको छैन । उहाँभन्दा धेरै छुची बरु म आफैँ छु । घरमा मेरो निर्णय चल्छ ।
आर्थिक अभावका झमेला
दुईकोठाको महिनाको ८ हजार ३ सय नियमित तिर्नुपर्छ । कसरी तिर्ने ? छोराको स्कुलको फिस तीन महिनादेखि तिर्न सकेको छैन । ड्रेसको तिर्न सकेको छैन । स्कुलले फोन गरेर बोलाइरहेको छ । शुल्क जुटाउन सकिरहेको छैन । कसरी जाने ? कसरी बाँच्ने भन्ने स्थिति आयो । सडकमा गीत गाएर हिँड्न कत्ति पनि रहर छैन । दृष्टिविहीनको क्षमता हेरेर जागिर दिने हो वा अन्य केही व्यवस्थापन गर्ने हो । सरकारले छिटो गरिदेओस् । बाध्य भएर सडक आन्दोलनमा आउनुपर्यो ।

समयमा उपचार नपाउँदा ज्योति गुम्यो
अर्जुनको दश वर्षको उमेरदेखि आँखा कमजोर हुँदै गएपछि उनले पढ्न छाड्नुपर्यो । त्यस्तै अम्बिकाको पनि ५ वर्षको उमेरमा आँखा पाकेर दृष्टि हरायो । समयमा उपचार पाएको भए, आँखा ज्योति जोगाउन सकिन्थ्यो । परिवारको आर्थिक उपचार गर्ने अवस्था थिएन । काठमाडौँ आएर उपचार गर्न बुवाआमाले सक्नुभएन ।
शिक्षा
अर्जुनले सात कक्षासम्म पढेका छन् । अम्बिकाले स्नातकोत्तर गरेकी छिन् । उनले ६ महिना जिल्ला विकास समितिको छात्रवृत्तिमा पढिन् । त्यसपछि पछि कान्तिपुरको देवेन्द्र भट्टराईले उनी र उनी जस्तै दृष्टिविहीनहरूको समाचार छापिदिए । समाचारपछि धेरै सहयोगीहरू अगाडी आइपुगे । उनी एनआइसी बैँकले छात्रवृत्तिले कलेज पढिन् ।
जागिर खोज्दाको छटपटी
सर्टिफिकेट बोकेर धेरै ठाउँमा जागिरको लागि गए तर कसैले पनि राखेनन् । तीनपटक पर्यटन बोर्डमा सर्टिफिकेट लिएर पुगे । उहाँहरू बोलाएरै गएको थिएँ । सीटीभीटीमा दुई पटक दिएँ ।

धूप बेच्ने, तौल नाप्ने, नङकट लिएर चोकचोकमा बेच्न बस्थ्यौँ । तर काठमाडौँ महानगरले सबै सामान फालिदिए । सडकमा बस्न दिएनन् । फेरि सडक संगीत गर्दै जीविकोपार्जन गर्दै आएका थियौँ । अहिले त्यो पनि गर्न दिएन ।
मेरो नेता राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले के गर्नुहुन्छ दिदी भनेर सोध्नुभयो ? धूप बेच्छु भने पनि उहाँले ढिलोमा २० दिनमा जागिर लगाउँछु भनेर आश्वासन दिनुभयो । भोट माग्ने बेला तपाईँको माग पुरा गर्छौ भनेर हात जोड्नुभयो । उहाँ दुई पटक सांसद हुनुभयो तर त्यसपछि भेटघाट छैन । सबैको हितको लागि बोल्नुहुन्छ । तर आफ्नै ठाउँको अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको लागि बोलेको सुनेको छैन ।
हाम्रो आन्दोलनमा श्रम संस्कृति पार्टीका नेता आएर भेट्नुभयो । तर शाही आउनुभएको छैन । कृपया एकपटक माइतीघरमा हामी पीडितका कुरा सुन्न आइदिनुहोला । लकडाउनका उहाँले अपाङ्गता भएकालाई राहत वितरण गर्नुभएको थियो । फेरिका दिनमा भोट चाहिँदैन ?
राजनीतिक यात्रा
ज्ञानेन्द्र शाहीको प्यानलको मान्छे हो । अघिल्लो चुनावमा समानुपातिकमा उठेको हो । पहिले पुलिसका हाकिम ठाकुरमोहन श्रेष्ठले सिफारिस गर्नुभएपछि पार्टीले कोटामा राखेको थियो । शाहीसँग सानो बच्चा बोकेर भोट माग्न हिँडे । राजनीतिमा रुचि छ । नेता हुन्छु भन्ने थियो तर कर्मले सडकमा गीत गाएर बस्ने बनायो । त्यो पनि सरकारले लखेटेर उठिबास लगायो । अपाङ्गता भएका व्यक्तिहरूको लागि आवाज उठाउँछु भन्ने थियो । संगीत र समाजसेवामा रुचि छ ।






















प्रतिक्रिया