लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको हुवावे स्मार्ट कक्षा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
बिहीबार आयोजित कार्यक्रममा हुवावे नेपाल, नेपालस्थित चिनियाँ दूतावास, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल टेलिकमको सहकार्यमा निर्माण गरिएको स्मार्ट कक्षा विद्यालयलाई हस्तान्तरण गरिएको हो। परियोजनाअन्तर्गत कक्षाकोठामा डिजिटल बोर्ड, कम्प्युटर तथा अन्य आवश्यक प्रविधि जडान गरी डिजिटल शिक्षण वातावरण तयार गरिएको छ।
स्मार्ट कक्षा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष मदनबहादुर रानालाई ‘स्मार्ट पेन’ हस्तान्तरण गर्दै स्मार्ट कक्षाको औपचारिक उद्घाटन गरे।
कार्यक्रममा काठमाडौँस्थित हुवावे टावरबाट भर्चुअल माध्यममार्फत पनि सहभागिता जनाइएको थियो। सो अवसरमा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन, आर्थिक परामर्शदाता झु फेङ, एडभीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री तथा आरम्भ विद्यालयका अध्यक्ष नरेशप्रसाद श्रेष्ठलगायतले स्मार्ट कक्षाले शिक्षण सिकाइलाई थप प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालका अनुसार स्मार्ट कक्षा सञ्चालनका लागि हुवावे नेपालले विद्यालयलाई १० थान कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर, एक स्मार्ट बोर्ड तथा १५ वटा टेबुल उपलब्ध गराएको छ। साथै कक्षाकोठामा रङरोगन र कार्पेट व्यवस्थापनमा समेत सहयोग गरिएको उन जानकारी दिए
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष मदनबहादुर रानाले विद्यालयमा डिजिटल शिक्षा प्रणालीको आधुनिकीकरणमा सहयोग पुर्याइएकोमा हुवावे नेपाल तथा सहकार्य गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता प्रविधिमैत्री पूर्वाधारले विद्यार्थीको सिकाइ अनुभवलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।












प्रतिक्रिया