‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’ « Khabarhub

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

इतरका नेताको गतिविधिलाई अस्वभाविक मान्दैनौँ



काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित महाधिवेशनको मिति तोकेको छ । महाधिवेशनको मिति तोकेपछि पूर्वसभापति शेरबहादुर देउवा समर्थक संस्थापन इतर समूह सम्पर्क कार्यालय खोल्नेदेखि पार्टी फुटाउनेसम्मका गतिविधिमा सक्रिय रहेको सूचना आइरहेका छन् । कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्का निकट एक नेताले दिएको जानकारी अनुसार कांग्रेस फुटाउने विषयमा अहिलेसम्म धेरै नेताहरू अझै सहमतिमा पुगिसकेका छैनन् ।

तर, १५ औँ महाधिवेशनसम्म सबै कांग्रेसीहरु एक हुने विषयमा भने आशंका कायमै छ । विदेशमा उपचाररत पूर्वसभापति देउवा पक्षका नेताहरूले तल्लो तहसम्म उर्दी जारी गरेर विशेष महाधिवेशन पक्षलाई असहयोग गर्न भनेको आरोप लागिरहेको छ । तर, विशेष महाधिवेशन पक्षधर १५ औँ महाधिवेशनमा कांग्रेस एक ढिक्क हुने बताउँछन् ।

विशेष महाधिवेशन गरेर महामन्त्री बनेका नेता गुरुराज घिमिरे पार्टी विस्तारका लागि सिमरामा छन् । उनै महामन्त्री गुरुराज घिमिरेसँग हामीले कांग्रेसभित्रको विवाद, १५ औँ महाधिवेशन, अबको महाधिवेशनमा युवा सहभागिता र पछिल्लो राजनीति घटनाक्रमबारे केन्द्रित रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

कांग्रेस त फुट्न लागेछ है ?

नेपाली कांग्रेस फुट्या पनि छैन, फुट्दा पनि फुट्दैन । विचारमा फरक होला तर एक ढिक्क छ । भविष्यमा पनि फुट्दैन ।

यहाँहरुले विशेष महाधिवेशन गर्नुभयो । तपाईँ त महामन्त्री नै बन्नुभयो, गगन थापा सभापति हुनुहुन्छ । तर त्यो महाधिवेशनलाई अर्को पक्षले त ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ जस्तो भयो भनेछन् ?

नेपाली कांग्रेसको विशेष महाधिवेशनवत र प्रक्रियासम्मत भएको कुरा निर्वाचन आयोगले घोषणा गरिसकेको छ । सर्वोच्च अदालतले दिएको वैधानिकताबाट पनि विधिसम्मत र प्रक्रियासम्मत भएको प्रमाणित भइसकेको छ । यो निराधार आरोप लगाउनुको पछाडि कुनै पनि तर्क छैन । जो नेताले यो आरोप लगाइरहेको छ, त्यसको विवेकलाई पनि आफैँ विचार गर्नुहोस् । म यति मात्रै भन्न सक्छु कि त्यो प्रतिक्रिया जायज होइन ।

त्यसकारण हामी आफू नेतृत्वमा आउनेभन्दा पनि पार्टीलाई आन्तरिक रुपमा व्यवस्थित गर्न लागेका हौँ । यसका चुनौतीहरूलाई समयमै सामना गर्नसक्ने पार्टी बनाउनका लागि पार्टी नेतृत्व परिवर्तन मात्रै होइन समग्र पार्टीको आन्तरिक जीवनलाई नै परिवर्तन गर्न लागेका हौँ । नीतिगत, सांगठनिक लगायत पक्षको रूपान्तरण गरी नेपाली कांग्रेसलाई सफल र लोकप्रिय पार्टी बनाउनुपर्छ । यसकै निम्ति हामीले विशेष महाधिवेशन सम्पन्न गरेका हौँ । यो विषयमा विवादको कुरा छैन ।

संस्थापन पक्षका नेताहरूको छुट्टै भेला छ, कार्यालय पनि छुट्टै खोल्दै हुनुहुन्छ अरे । अब उहाँहरुले बैठक पनि छुट्टै बसाउँदै हुनुहुन्छ, यसलाई कसरी हेर्ने ?

सम्पर्क कार्यालय खोल्न पाइन्छ । सम्पर्क कार्यालय खोलेर भेला पनि गर्न पाइन्छ । भेला गरेर छलफल गरेर १५ औँ महाधिवेशनलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्न पाइन्छ । सम्पर्क कार्यालय खोलेर पार्टीलाई कमजोर पार्ने, पार्टीलाई अप्ठ्यारो पार्न चाहिँ पाइएन । सम्पर्क कार्यालय खोल्ने परम्परा पुरानै हो । यो आपत्तिजनक कुरा पनि होइन । पार्टीका जो साथीहरू केन्द्रीय समिति र जिम्मेवारीमा हुनुहुन्छ वा बाहिर हुनुहुन्छ, सबैले एकताबद्ध भएर १५ औँ महाधिवेशन सम्पन्न गर्ने, प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धाबाट आएको परिणामलाई स्वीकार गर्ने हो । हामीसँग अर्को विकल्प र बाटो छैन ।

नेतृत्वमा भएका व्यक्तिहरूले संवाद छलफल नै गर्नुभएन रे ?

हामीले छलफल गर्दा उहाँहरुले सर्वोच्च अदालत र निर्वाचन आयोगले दिएको वैधतालाई हामी नकार्दैनौँ भन्नुभयो । उहाँहरुले हामीसँग एउटा कुरा गर्ने, बाहिर अर्को गतिविधि गर्नु हुँदैन । उहाँहरुले हामीलाई स्वीकार्नुभएको हो । उहाँहरु पनि विशेष महाधिवेशन पक्षधर नेतालाई नेतृत्व मानेरै १५ औँ महाधिवेशनमा जोडिन खोज्नुभएजस्तो छ । हामी संवादभन्दा बाहिर छैनौँ । तर आज एउटा संवाद हुने, भोलि अर्को कुरा हुने परिपाटी चाहिँ गर्नुभएन । विचारमा फरक भएपनि पार्टी विधि र नीति त सबैले मान्नुपर्छ । पार्टी सभापतिसहित हामी सबै पदाधिकारी यसमा गम्भीर छौँ । आवश्यक परेको खण्डमा फेरि छलफलमा जोडिन्छौँ ।

संस्थापन इतरका नेताहरूले गरेको पछिल्लो गतिविधिलाई तपाईँहरूले सामान्य ढंगले हेर्‍या हो ?

संस्थापन इतरका नेताहरूले गतिविधि गर्नुलाई अस्वभाविक मान्दैनौँ । किनभने हामीले यो विशेष महाधिवेशन गर्दा उहाँहरु सहमत हुनुहुन्थेन । अहिले आएर उहाँहरुले यो गतिविधि गर्नुलाई हामी अस्वभाविक रुपमा लिँदैनौँ । कुरा के हो भने नेतृत्व र विशेष महाधिवेशनको विषयमा विवाद नरहेपछि अब हाम्रो ध्यान चाहिँ सबै एक भएर १५ औँ नियमित महाधिवेशन सम्पन्न गर्नेतिर हुनुपर्छ । उहाँहरूसँग कुरा हुँदा पनि उहाँहरुले यो कुरा छलफलमा बताउनुभयो । हामी छलफलमा नजुटेको होइन । तर, कति छलफलमा जुट्ने भन्ने पनि होला ।

उसो भए कांग्रेसको १५ औँ नियमित महाधिवेशनका लागि केकस्तो तयारी हुँदैछ ?

समय हामीले निर्धारण गरिसकेका छौँ । असोज १६, १७, १८, १९ मा हाामीले महाधिवेशनको मिति तोकेपछि त्यसको बृहत तयारीमा जुटेका छौँ । निर्वाचनको समयतालिका पनि प्रकाशित भइसकेकाले प्रारम्भिक निर्वाचनदेखि केन्द्रीय महाधिवेशनसम्मको सबै तालिका सार्वजनिक गरिसकेपछि निर्धारित समयमा भित्र महाधिवेशन हुन्छ । सबै साथीहरूको सहभागिता हुन्छ । सबै एकताबद्ध भएर पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्छौँ । असहमति राख्ने साथीहरु पनि महाधिवेशनमा सहभागी बन्नुहुन्छ । त्यसका निम्ति हामीले उहाँहरूको भावना कदर गरेर, उहाँहरूलाई उचित स्थान दिएर सँगै ल्याउन प्रतिबद्ध छौँ ।

अब चारैतिर छरिएको कांग्रेसले नियमित महाधिवेशन सफल बनाउन के गर्नुपर्छ ?

विधिको शासनका लागि हामीले आठ दशक लामो लडाई लड्यौँ । नेपाली कांग्रेस स्थापना भएको ८० वर्ष भयो । विधिको शासनको स्थापना पनि भयो । प्रजातन्त्रको स्थापना/पुनर्स्थापना पनि भयो । गणतन्त्रसम्मको लडाईं हामीले लड्यौँ । देशमा पनि लोकतान्त्रिक शासन प्रणाली विधिपूर्वक सञ्चालन हुनुपर्छ, पार्टीभित्र पनि पार्टी विधानको अधीनमा सबै रहनुपर्छ । विधानको सम्मान गर्नुपर्छ र अहिले विधानले व्यवस्था गरेको बाटो र प्रक्रिया अपनाएर नेतृत्व परिवर्तन गरेको अवस्था हो । यो कुरालाई निर्विवाद ढङ्गले अगाडि बढाउनुपर्छ ।

नेतृत्वलाई स्वीकार गरिसकेपछि विधि र प्रक्रिया अन्तर्गत भएका गतिविधिहरू पनि स्वीकार गर्नुपर्छ । हाम्रो तर्फबाट गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्छौँ । कर्तव्य पूरा गर्छौँ । सबै नेतालाई आवश्यकता अनुसार स्थान दिन्छौँ । उहाँहरूका माग र भनाइहरू सुन्छौँ । अधिकतम सम्बोधन गर्नुपर्ने कुरा गर्छौँ । तर विधान र विधिको सर्वोपरिता स्वीकार गर्नेबित्तिकै समस्या रहँदैन । विधिको शासन र विधानको सर्वोच्चतालाई हामी सबैले स्वीकार गर्न तयार हुनुपर्छ ।

विगतमा कांग्रेस मात्रै होइन, अरुको महाधिवेशन पनि तोकिएको समयमा नभएका उदाहरणहरू छन् । यसमा पनि के ग्यारेन्टी छ र ? विवादै विवाद छ ।

अहिलेसम्म हामीले अर्को मिति तोकेका अथवा समय सारेका छैनौँ । सार्न हामीलाई धेरै सुविधा पनि छैन एकाध महिना मात्रै हो । काम गर्दागर्दै समय पुगेन भने अलि बढीमा महिना जाने हो । मंसिरसम्म जान सक्ला । तर हामीले अहिलेसम्म तोकिएकै समयमा महाधिवेशन गर्न खोजेका हौँ । विधि र प्रक्रिया सबैले मानेको खण्डमा तोकिएको समयमा महाधिवेशन गर्न हामीलाई गाह्रो छैन । कांग्रेसको महाधिवेशन सुनिश्चितै छ । यसमा कसैले शङ्का गर्नु पर्दैन ।

कांग्रेस पन्ध्रौँ महाधिवेशनमा एकजुट भएर जान्छ भनेर तपाईँहरू विश्वास गर्नुहुन्छ ?

कांग्रेस अहिले पनि एकै छ । विचारमा मत भिन्नता देखिन्छ। विविधता देखिएको मात्रै हो । अब रह्यो गुटबन्दीको कुरा, गुटबन्दी त स्थापनाकालदेखि नै थियो । आ-आफ्ना मतहरू थिए । मत मिल्ने साथीहरू एक ठाउँमा मत नमिल्ने साथीहरू अर्को ठाउँमा हुनुहुन्थ्यो । त्यो प्रतिस्पर्धी समूह स्थापनाकालदेखि नै थियो । प्रतिस्पर्धा चाहिँ स्वस्थ हुनुपर्छ । काममा प्रतिस्पर्धा हुनुपर्छ । पार्टी संगठनलाई सुदृढ बनाउनुपर्छ । पार्टीको जनाधार बलियो बनाउने र पार्टीलाई लोकप्रिय बनाउने कुरामा, पार्टीको छवि सुधार्ने कुरामा, नयाँ पुस्तालाई स्थान दिने कुरामा एकजुट हुनुपर्छ । अस्वस्थ प्रतिस्पर्धालाई हामीले निषेध गर्नुपर्छ । गुटहरूले स्वस्थ अभ्यास गरे भने गुट हुनुको अर्थ पनि रहन्छ । गुटलाई निषेध गर्न सक्दैनौँ । तर गुट स्वस्थ्य हुनुपर्छ ।

तर पूर्वसभापति शेरबहादुर देउवाले विदेशबाट कांग्रेसलाई चलाउँदै हुनुहुन्छ रे । तपाईहरु विशेष महाधिवेशनबाट आएको नेतृत्व त डमी हो भन्दा रहेछन् ?

व्यक्तिको सर्वोपरिता र हैकमलाई प्रजातन्त्रले स्वीकार गर्दैन । पार्टी विधान र विधिको सर्वोपरिता नै स्वीकार्य हुन्छ । शेरबहादुर देउवा वा जोसुकै अरु नेता भएपनि पार्टी व्यक्तिगत छायाँबाट चाहिँ मुक्त रहनुपर्छ । संस्थाको रूपमा पार्टीले काम गर्नुपर्छ । सबै संस्थागत हुनुपर्छ, व्यक्तिको प्रभावबाट मुक्त हुनुपर्छ ।

यो निराधार कुरा हो, हल्ला मात्रै हो । यो सम्भव हुने कुरा पनि होइन । एउटा व्यक्तिले पार्टी चलाउने भन्ने कुरा सम्भव छैन । नेताको व्यक्तिगत छायाँबाट पार्टी मुक्त हुनुपर्छ, चाहे शेरबहादुर देउवा होस् या अरु …।

अब १५ औँ महाधिवेशनबाट पनि तपाईँहरू गगन थापालाई नै नेतृत्वमा ल्याउने ?

उहाँ विशेष महाधिवेशनबाट सभापति बन्नुभएको हो । अब पन्ध्रौँ महाधिवेशनबाट पुनः सभापति बन्ने कुरा स्वाभाविक हो । उहाँले आकांक्षा गर्नुभयो र महाधिवेशन प्रतिनिधिहरूले उहाँलाई स्वीकार्दा सम्भव छ ।

पछिल्लो परिस्थिति फेरिएको छ, तेस्रो पुस्ताले नेतृत्व लिने सम्भावना कतिको छ ?

युवाको ठूलो सङ्ख्या नेतृत्वमा आउनुहुन्छ । तर माथिको नेतृत्वको विषयमा कुरा गर्नुभएको भने त्यहाँ महाधिवेशन प्रतिनिधिको इच्छा कस्तो रहन्छ भन्नेमा निर्भर हुन्छ । हो, विधानले तोकेको व्यवस्था अनुसार जो कहिले पनि लड्न पाउँछ । वडादेखि केन्द्रीयसम्म युवा पार्टी नेतृत्वमा आउँछ । अब पनि पार्टीलाई युवाकरण नगरिए, युवालाई अवसर नदिइए अहिलेको युगको चुनौतीहरूलाई सामना गर्न सक्दैन । र, जनताको बीचमा दर्बिलोगरी पार्टीलाई उभ्याउन सकिँदैन । त्यसकारण युवाको सहभागिता र युवा नेतृत्व समयको आवश्यकता हो । र अनिवार्यता पनि हो।

तपाईँहरू ५० का हाराहारीमा पुगेका नेताहरुले पनि युवा नेतृत्वमा आउन चाह्यो भने छोडिदिनुहुन्छ ?

हामीभन्दा राम्रो गर्ने युवाहरू आए छोड्नुप र्छ। उहाँहरुको बाटो छेक्नु हुँदैन, तगारो बन्नु हुँदैन । नयाँ पुस्ता हामीभन्दा योग्य र विकसित भएर आयो भने त हामीले बाटो छोडिदिनुपर्छ । हामीभन्दा राम्रो गर्ने युवा नेतृत्वमा आयो भने छोड्न तयार छौँ । तगारो बन्दैनौँ । पदको लागि म कांग्रेसमा बसिरहेको होइन । म त कांग्रेस पार्टी विधि नीति र सिद्धान्त अनुरुप चल्नुपर्छ भनेर काम गरिरहेको हो । मलाई पदको लोभ छैन । तर पार्टीले जुन सिद्धान्त र नीति विचार अघि सारेको छ । त्यो बाटोमा हिँडाउनलाई चाहिँ खटेर लागेको हुँ । मलाई केही पनि लोभ छैन ।

अन्तिममा, अहिले तपाईँहरू जिल्ला र प्रदेशगत रुपमा दौडिरहेको देखिन्छ । खासमा कांग्रेस शुभचिन्तकले के भन्छन् ?

नयाँ आउनुपर्छ भन्नेहरूको पनि लाइन छ । बुढाखाडाले सम्मानजनक ठाउँमा बसेर नयाँलाई अवसर दिनुपर्छ भन्नेहरु पनि भेटिनुहुन्छ । हैन सबै युवा भन्दा पनि ठिक्क दोस्रो पुस्ता तेस्रो पुस्ता नेतृत्वमा रहनुपर्छ भन्ने मत पनि छ । समग्रमा अहिलेको निर्वाचनको परिणाम ठूला दलका पहिलो पुस्ताको कारण हो भन्नेहरू पनि भेटिनुहुन्छ । सबै खालका मान्छेहरु छन् ।

तर, वर्तमान नेतृत्वप्रति असहमति राख्ने व्यक्तिहरु कमै हुनुहुन्छ । धेरै साथीहरू जोडिनु पनि भइराखेको छ । अब एकचोटि एउटालाई हेर्‍यौँ, हामीले तपाईंहरुलाई चेतावनी दिएको हो भन्ने किसिमका जनताहरु पनि भेटेका छौँ । हामीले सबैको कुरा सुन्दै हिँडेका छौँ । उहाँहरूको कुरालाई मनन् गर्नेछौँ । पाका पुस्ताहरू र युवा पुस्ता पनि पार्टीमा जोडिने क्रम जारी छ । धेरै जना साथीहरु रिसाउनु पनि भएको छ । यसलाई हामीले स्वभाविक मान्नुपर्छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : १७ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना