पहिरो प्रभावित डोल्पाको दुर्गम जगदुल्ला गाउँका ५० घर जोखिममा, सरकारसँग राहतको गुहार « Khabarhub

पहिरो प्रभावित डोल्पाको दुर्गम जगदुल्ला गाउँका ५० घर जोखिममा, सरकारसँग राहतको गुहार


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार आएको पहिरोका कारण स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै ज्यान गयो । गाउँका अरु ६ जना घाइते भए । उनीहरुमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी छ भने गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत् उपचारार्थ सुर्खेत पठाइएको छ ।

आइतबार सबेरै करिब १ बजेदेखि भीषण वर्षा भइरहेकामा ३ बजे गाउँको सिरानदेखि बग्ने धुलाखोला र आसपासका खोल्साबाट आएको गेग्रान र लेदोसहितको बाढी गाउँमा पसेको थियो । बाढीका कारण मानवीय क्षतिसँगै गाउँका ५० बढी घर र ज्ञानोदय आधारभूत विद्यालय समेत उच्च जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर पाण्डेयले जानकारी दिए ।

‘राति १ बजेदेखि ठूलो पानी पर्‍यो । केहीबेरमा गाउँमाथिको डाँडाबाट ग्रेगान र लेदोसहित खसेको पहिरो तल बेँसीमा रहेको गाउँमा पस्यो,’ उनले खबरहबसँग भने, ‘पहिरोका कारण एक जनाको ज्यान गयो भने ६ जना घाइते मध्ये एकको अवस्था गम्भीर भएपछि हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेत पठाइएको छ ।’

उनका अनुसार १५ घरमा लेदोसहितको बाढी पसेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासी बिहानैदेखि उद्धार तथा राहत कार्यमा जुटिरहेको उनले जानकारी दिए । ‘राति जनप्रतिनिधि र स्थानीय मिलेर उद्धार गर्‍यो । बिहान भएपछि जिल्लाबाट प्रहरी र सेनाको टोली पनि आउनुभयो,’ उनले भने ।

जिल्ला प्रशासन प्रमुखसहितको विपद् व्यवस्थापनको टोली पनि निरिक्षणमा आउँदै गरेको उनको भनाइ छ । थप जोखिमबारे प्रश्न गर्दा उनी भन्छन्, ‘कालो बादल अझै पनि छ, पानी फेरि पर्छ होला । त्यसले गर्दा जोखिम अझै बढ्ने देखिन्छ ।’

उनका अनुसार बाढीले क्षति पुर्‍याएका घरका नागरिकलाई आज आफन्तको आश्रयमा बस्न सुझाव दिइएको छ । राहतका लागि भने तत्कालका लागि पालिकाले राहत स्वरुप २० हजार देखि दश हजार रुपैँयासम्म नगद सहयोग उपलब्ध गराएको उनले बताए ।

‘असार मसान्त भएकाले पालिकाको खातामा पनि पर्याप्त रकम छैन । तर, पनि बढी क्षति पुगेकालाई प्रतिपरिवार २० र सामान्य क्षति भएको घरलाई दश हजार दिएका छौँ,’ उनले थपे, ‘गाउँ नजिकैको सानो बजारबाट सामान किन्न सुझाएका छौँ । यहाँ पनि खासै सामान पाइँदैन । सदरमुकाम नै जानुपर्छ ।’ उनले पालिकासँग पर्याप्त रकम नभएकाले प्रदेश र संघ सरकारसँग सहयोगको अपिल गरे ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ८ : ०४ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका