समृद्धिको सपना, महिलाको श्रम र जीडीपी | Khabarhub Khabarhub

समृद्धिको सपना, महिलाको श्रम र जीडीपी




कूल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी सायद राजनीतिक अर्थशास्त्रमा सबैभन्दा बढी प्रयोग गरिने शब्द हो । भर्खरै मात्र तथ्याङ्क विभागले गरेको जीडीपी वृद्धिदरको प्रक्षेपणका आधारमा के नेपाल साँच्चिकै स्थायी रूपले उच्च बृद्धिदरको बाटोमा अग्रसर भएको हो त ? भन्ने चर्चा शुरु भएको छ ।

प्राविधिक रूपमा परिभाषित गर्ने हो भने जीडीपी भनेको कुनै पनि देशमा कुनै निश्चित समयावधि (प्रायः एक वर्ष) भित्र उत्पादन भएका सबै वस्तु तथा सेवाको वास्तविक मूल्य (बजार मूल्यमा मुद्रास्फीतीको असर घटाई सकेपछिको मूल्य) को योगफल हो । यस्तै उत्पादन भनेको त्यो क्रियाकलाप हो, जसले विभिन्न प्रकारका श्रोतहरूलाई मानिसको चाहना पूरा गर्ने वस्तु तथा सेवाहरूमा परिवर्तन गर्दछ । जुन देशमा जति धेरै वस्तु तथा सेवाको उत्पादन भयो त्यो देश त्यति नै धनी भएको मानिन्छ ।

नेपाल समृद्धिको यात्रामा अग्रसर छ भनेर निकै जोडतोडका साथ भनिँदैछ । समृद्धिको उच्चतम अवस्था भनेको त्यो अवस्था हो जहाँ देशका हरेक नागरिकले उनीहरूले चाहे अनुसारको जीवन बाँच्न पाउने क्षमता र अवसर प्राप्त हुन्छ ।

उत्पादनको माथिको परिभाषा अनुसार बाटोमा चिया पकाएर बेच्नु वा कुनै उद्योगले जुत्ता बनाएर बेच्नु वा कुनै गायकले होटलमा गएर गीत गाउनु वा कसैले पर्यटकलाई पथप्रदर्शकको रूपमा बाटो देखाउनु सबै उत्पादन हुन् । किनभने यहाँ समय र अन्य श्रोत प्रयोग गरेर मानिसको चाहना पूरा गर्ने वस्तु तथा सेवाको निर्माण गरिएको छ । अतः यी वस्तु तथा सेवाहरूले जीडीपी गणनामा योगदान पुर्‍याउँछन् । वस्तु तथा सेवा उत्पादन गर्न गरिने क्रियाकलापलाई आर्थिक क्रियाकलाप भनिन्छ ।

आमाको काम किन जीडीपीमा जोडिँदैन ?

अब अरू केही क्रियाकलापहरूलाई हेरौं । गाउँमा मेरी आमा बिहान ४ बजे उठ्नु हुन्छ । गाई वस्तुलाई दाना पकाउनु हुन्छ । घाँस हालिदिनु हुन्छ । एक छिनपछि गाई दुहेर सबैलाई चिया पकाउनु हुन्छ । चिया पाकी सकेपछि बुवासँग सँगै हामी पनि उठ्छौं र चिया पिउँछौं । चिया पिइ सकेपछि हामी स्कूलको गृहकार्य गर्न थाल्छौं भने बुवा गाउँको चोकको चिया पसलतिर लाग्नु हुन्छ । करिब २ घण्टा पछि आमाले खाना तयार गरिसक्नु भएपछि हामी खाना खाएर स्कूल जान्छौं भने बुवा आफ्नो अफिस जानु हुन्छ ।

दिउँसो आमाले घर सफा गरेर र हामी सबैका कपडा धोइसकेर वनमा जानुहुन्छ । त्यहाँबाट केही घाँस र दाउरा ल्याउनु हुन्छ । घरमा आएर हामीलाई खाजा बनाई दिनुहुन्छ र साँझको खाना पकाउन थाल्नु हुन्छ । हामी स्कूलबाट आएर खाजा खाइवरी खेल्न जान्छौं । बुवा अलि साँझ पख हातमा केही फलफूल बोकेर आउनु हुन्छ । हामी खाना खाइवरी होमवर्क गर्न थाल्छौं । बुवा रेडियो सुन्नु हुन्छ । आमाले भान्छा र भाँडाकुँडा सफा गर्नु हुन्छ । यति गर्दा करिब १० बज्छ र हामी सबै सुत्न जान्छौं ।

माथिको उदाहरणमा हामी भाइबहिनी, बुवा, आमा दिनभरि नै केही न केही क्रियाकलापमा व्यस्त हुन्छौं । तर, अहिलेको व्यवस्था अनुसार बुवाले गरेको काम मात्र जीडीपीमा गणना हुन्छ । र सबैभन्दा दुःखको कुरा आमाले गरेको त्यत्रो मिहेनत र काम जीडीपीमा गणना नै हुँदैन । यद्यपि आमाका दिनभरका क्रियाकलाप वस्तु तथा सेवाको उत्पादनमा केन्द्रित छन् र ती वस्तु तथा सेवाले हाम्रा चाहना पनि पूरा गरेका छन्, तर ती जीडीपीमा गणना हुँदैनन् ।

अहिलेको व्यवस्था अनुसार बुवाले गरेको काम मात्र जीडीपीमा गणना हुन्छ । र सबैभन्दा दुःखको कुरा आमाले गरेको त्यत्रो मिहेनत र काम जीडीपीमा गणना नै हुँदैन ।

यहाँ बुवाले काम नै गर्नु भएको छैन भन्ने होइन । बुवाले कमाएर नल्याउने हो भने हाम्रो घर व्यवहार नै चल्दैन । बुवाको आम्दानी नभएको भए आमाले पकाउनको लागि चामाल, दाल नै हुने नै थिएन । दूध दुहनको लागि गाई नै हुने थिएन । तर यहाँ भन्न खोजिएको कुरा मात्र के हो भने आमाले गरेको काम पनि गणना हुनु पर्ने हो ।

महिलाहरूले गर्ने घरायसी कामलाई जीडीपीमा समावेश नगर्ने परिपाटी विश्वभरि नै छ । महिलाहरूले गर्ने यस्ता कार्यलाई अवैतनिक कार्य (अनपेड जब) भनिन्छ । एक अनुमान अनुसार महिलाहरूको यस्तो अवैतनिक कार्यको मूल्य विश्वको कूल जीडीपीको करिब १३ प्रतिशत रहेको छ । अविकसित देशमा यो प्रतिशत अझ बढी हुन जान्छ किनभने विकसित देशको तुलनामा अविकसित देशमा महिलाले घर भित्र गर्ने काम निकै बढी हुन्छ ।

महिलाले अवैतनिक श्रमिकको रूपमा गरेको कामलाई जीडीपीमा समावेश नगर्दा के हुन्छ त ? सामान्य रूपमा सोंच्दा महिलाले गर्ने ती कामहरू समावेश गरेर जीडीपीको अङ्क बढाए पनि हाम्रो जीवनस्तरमा सुधार हुने होइन । किनभने ती कामहरूलाई जीडीपीमा समावेश गर्दैमा हाम्रो उत्पादन बढ्ने होइन । तर महिलाले गर्ने घरायसी कामलाई गणना नगर्दा वा जीडीपीमा समावेश नगर्दा तीन प्रकारका नकारात्मक असर पर्दछन् ।

पहिलो, हाम्रो जीडीपीको वास्तविक आकार कम हुन जान्छ । नेपालको जीडीपीको पछिल्लो आँकडा करिब ३० खर्ब रुपैयाँ बराबरको छ भने प्रतिव्यक्ति आय करिब १,००० डलर छ । यदि महिलाहरूले गरेका घरायसी कामको मूल्य विश्वको औषतसँग बराबर (१३ प्रतिशत) छ भन्ने मान्ने हो भने पनि यो कामलाई जीडीपीमा समावेश गर्दा नेपालको जीडीपी करिब ३४ खर्ब रुपैयाँ र प्रति व्यक्ति आय करिब १,१३० डलर पुग्ने थियो ।

यसर्थ महिलाले घरमा गर्ने कामलाई जीडीपीमा गणना नगर्दा हाम्रो वास्तविक जीडीपी कम देखिन जान्छ । तर यो समस्या त्यति ठूलो समस्या होइन किनभने यसरी बढेको जीडीपीको अङ्कमा हामीले गर्व गर्ने मात्र हो, हाम्रो जीवनस्तर बढ्ने चाहीं होइन ।

जीडीपीमा महिलाले गर्ने घरायसी कामलाई समावेश नगर्नु एक्काईसौं शताब्दीको सभ्य समाजका लागि एउटा ठूलो कलङ्क हो । र यसले धेरै समस्या सिर्जना गर्ने भए तापनि नेपाललेमात्र चाहँदैमा यसलाई जीडीपीमा समावेश गर्न सकिँदैन ।

दोश्रो, यो समस्याले विकसित र अविकसित देशको जीडीपीको फरक वास्तविक फरक भन्दा धेरै देखिन्छ । विकसित देशमा धेरै जसो महिलाले तलब वा ज्याला पाउने काम गर्दछन् र आएको तलबले हाम्रा देशका महिलाले घरमा बिना ज्याला काम गरेर उत्पादन गर्ने गरेको वस्तु तथा सेवा जस्तै वस्तु तथा सेवा किनेर घरमा ल्याउँछन् । जसले गर्दा दुवै देशमा उत्पादन त एउटै कुराको भएको छ । तर, विकसित देशमा त्यो उत्पादन जीडीपीमा समावेश हुन्छ भने हाम्रो जस्तो देशमा समावेश हुँदैन ।

यसको फलस्वरूप हामीहरूको जीडीपी कम देखिन्छ भने विकसित देशको बढी देखिन्छ । उदाहरणको लागि हाम्रो देशमा महिलाले बिहानको खाना पकाएर खुवाउँछन् । तर खाना पकाएको र खुवाएको यो काम जीडीपीमा गणना हुँदैन । विकसित देशमा महिलाले बाहिर काम गर्दछन र कमाएको पैसाले लन्च किनेर खान्छन् । यो किनेर खाएको लन्च जीडीपीमा गणना हुन्छ । वास्तविक भन्दा कम जीडीपी देखिनुले थुप्रै अरु समस्याहरू निम्त्याउँछ ।

तेश्रो, समस्या भनेको महिलाहरूलाई हेर्ने दृष्टिकोण हो । महिलाले घरभित्र गरेको कामलाई मुद्रामा परिवर्तन नगरिने भएकाले उनीहरूले दिनभरि कुनै काम नै गर्दैनन् भन्ने सामाजिक मान्यता र मानसिकता हाम्रो समाजमा स्थापित भएको पाइन्छ ।

त्यसैले हाम्रो समाजमा श्रीमान् र श्रीमतीबीच वादविवाद हुँदा प्रायः श्रीमान्ले श्रीमतीलाई तैले दिनभरि के गरेर बसेकी छस् र ? खाली मेरो कमाईमा मोज गरेर त बसेकी छस् नि ? भन्ने जस्ता आरोप लगाएको पाइन्छ । अर्कातर्फ घरायसी कामको मौद्रिक मूल्याङ्कन नहुनाले नै होला परम्परागत रूपमा पुरुषहरूले घरको काम नगरेर महिलाले गर्नु पर्ने चलन चलेको ।

यसले गर्दा महिलाको व्यक्तित्व विकासमा नकारात्मक असर परेको छ । महिलाहरूसँग पनि डाक्टर, इन्जिनियर, प्रशासक, व्यापारी, वैज्ञानिक, प्राध्यापक आदि बन्ने क्षमता हुँदा हुँदै पनि घरको कामले गर्दा यो क्षमता र प्रतिभा मारेर बस्नु पर्दछ । यसले महिला सशक्तिकरणको अभियानलाई पछाडि धकेलिदिएको छ । सशक्तिकरणको पहिलो आवश्यकता पहिचान वा मान्यता हो । यदि हामीले महिलाले गर्ने घरायसी कामलाई मान्यता दिएनौं भने महिला सशक्तिकरण फगत् एउटा नारामात्र हुन जान्छ ।

विश्वका विभिन्न देशका जीडीपीलाई तुलनायोग्य बनाउन प्रत्येक देशका जीडीपी एउटै तरिकाले मापन गर्नु पर्ने हुन्छ । विश्वभरि जीडीपी मापनको तरिकामा एकरूपता होस् भनेर संयुक्त राष्ट्र संघ, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, यूरोपियन कमिसन र ओइसीडी मिलेर राष्ट्रिय लेखा प्रणाली (सिस्टम अफ नेसनल एकाउण्ट–एसएनए) प्रकाशित गर्दछन् । एसएनएले राष्ट्रिय आम्दानी कसरी गणना गर्ने भन्नेबारे विस्तृत रूपमा व्याख्या गर्दछ । यसमा कुन उत्पादनलाई आर्थिक गतिविधि र कुन उत्पादनलाई गैर अर्थिक क्रियाकलाप भन्ने भनेर पनि छुट्याइएको हुन्छ ।

विश्वव्यापी रूपमा महिलाले गर्ने घरायसी कामलाई जीडीपीमा समावेश गर्ने अभियानमा ऐक्यबद्धता जाहेर गर्नु पर्दछ । यसले अलिकति भएपनि नेपाली महिलाको श्रमप्रतिको सम्मान हुन जान्छ ।

एसएनएको अहिलेसम्म तीनवटा संस्करण प्रकाशित भएको छ । जसमध्ये पहिलो दुई संस्करण (सन् १९६५ र सन् १९९३) महिलाले गर्ने घरायसी कामको बारेमा मौन छ । अर्थात् यी संस्करणले न त ती कामलाई आर्थिक गतिविधि हो भनेको छ, न त आर्थिक गतिविधि होइन नै भनेको छ । तर सन् २००८ को तेश्रो संस्करणको पेज नं. ९८ मा स्पष्ट रूपले महिलाले गर्ने घरायसी कामलाई आर्थिक गतिविधि मान्न अस्विकार गरिएको छ । यसका लागि दुईवटा कारण दिइएको छ ।

पहिलो, महिलाले गर्ने त्यस्ता कामलाई मापन गर्न गाह्रो हुन्छ । दोश्रो, त्यस्ता कामलाई जीडीपीमा समावेश गर्दा जुन उद्देश्यको लागि जीडीपीको गणना गरिएको हो त्यो उद्देश्य पूरा हुँदैन ।

तर यी कारणहरू त्यति ठोस देखिदैनन् । अहिलेको समयमा निकै जटिल प्रविधि र गणनाका तरिका विकसित भएका छन् । यी तरिका र प्रविधिको प्रयोगले जटिलभन्दा जटिल गैर–बजारीय (ननमार्केटेबल) वस्तु तथा सेवाको मूल्य मापन गर्न सकिन्छ । जब हामी हरित लेखा (ग्रीन एकाउन्टीङ) को कुरा गर्न सक्छौं भने घरायसी कामलाई मापन गर्न नसक्ने भन्ने हुँदैन । जहाँसम्म जीडीपी गणनाको उद्देश्य पूर्ति भन्ने कुरा छ, जीडीपीको यो कस्तो उद्देश्य हो, जुन महिलाको श्रमको पहिचान गर्दा पूरा हुँदैन ।

यदि त्यसो हो भने जीडीपीको उद्देश्य नै परिवर्तन गर्नु परेन र ? सबैभन्दा सजिलो तरिका, महिलाको घरायसी कामलाई मापन गर्ने र जीडीपीका विभिन्न अवयवहरू, जस्तो कृषि, उद्योग, सेवा, भने जसरी नै घरायसी काम भनेर राख्नु नै हो । यसरी गणना गरी सकेपछि जीडीपीमा कृषिको योगदान, घरायसी कामको योगदान जस्ता तथ्याङ्क आवश्यकता अनुसार उल्लेख गरे भै हाल्यो ।

जीडीपीमा महिलाले गर्ने घरायसी कामलाई समावेश नगर्नु एक्काईसौं शताब्दीको सभ्य समाजका लागि एउटा ठूलो कलङ्क हो । र यसले धेरै समस्या सिर्जना गर्ने भए तापनि नेपाललेमात्र चाहँदैमा यसलाई जीडीपीमा समावेश गर्न सकिँदैन । यसको प्रमुख कारण विश्वव्यापीरूपमा जीडीपीको एकरूपताप्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय मान्यता हो । विश्वका बहुसङ्ख्यक देशले महिलाले गर्ने घरायसी कामलाई आफ्नो जीडीपीमा समावेश नगर्दासम्म नेपालले मात्र समावेश गर्छु भनेर हुँदैन । यदि मानौँ नेपालले समावेश गरिहाल्यो भने पनि नेपालको जीडीपी अरु देशसँग तुलना योग्य हुँदैन जसले गर्दा यसको कुनै उपयोगिता हुँदैन ।

त्यसो भए हामीले के गर्नु पर्दछ त ? सर्वप्रथम विश्वव्यापी रूपमा महिलाले गर्ने घरायसी कामलाई जीडीपीमा समावेश गर्ने अभियानमा ऐक्यबद्धता जाहेर गर्नु पर्दछ । यसले अलिकति भएपनि नेपाली महिलाको श्रमप्रतिको सम्मान हुन जान्छ ।

दोस्रो, जीडीपी मै समावेश नभए पनि केही निश्चित समयको अन्तरालमा महिलाले गर्ने घरायसी कामको मूल्यको आँकलन गर्ने गर्नु पर्दछ । यसले हाम्रा दिदीबहिनीहरूको जीवनस्तर कसरी परिवर्तन हुँदैछ भन्ने देखाउँछ र सोही अनुसार नीति निर्माण गर्न सहयोग पुर्‍याउँछ ।

तेस्रो, हामीले ‘समय प्रयोग सर्वेक्षण’ (टाइम यूज सर्भे) गर्नु आवश्यक छ । यो सर्वेक्षण भारतलगायत विभिन्न देशहरूमा गर्ने गरिन्छ र यसले महिलाले गर्ने घरायसी कामको मूल्य आँकलन गर्न तथ्याङ्क पनि उपलब्ध गराउँछ ।

अन्तमा, नेपाल समृद्धिको यात्रामा अग्रसर छ भनेर निकै जोडतोडका साथ भनिँदैछ । समृद्धिको उच्चतम अवस्था भनेको त्यो अवस्था हो जहाँ देशका हरेक नागरिकले उनीहरूले चाहे अनुसारको जीवन बाँच्न पाउने क्षमता र अवसर प्राप्त हुन्छ ।

तर, देशको आधा जनसङ्ख्याले मूल्याङ्कन पनि नहुने काममा जीवन व्यतित् गर्नु परिरहेको अवस्थामा देशले समृद्धि हासिल गर्न सक्तैन । अतः हाम्रा नीति र कार्यक्रमहरूले महिलालाई चुल्होचौको, पानीपँधेरो अनि घाँसपातको घेराबाट मुक्त गरेर सार्वजनिक जीवनमा ल्याउन सक्नु पर्दछ । अनिमात्र देश वास्तविक समृद्धिको यात्रामा अग्रसर हुन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : १५ बजे

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

चितवन – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति पोखरेलले लिए शपथ 

मोरङ – मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त भएका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक

भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने

हैदराबाद- तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २- द रुल’

सङ्खुवासभाबाट ३४ करोड बढीको सुन्तला बिक्री

किमाथांका- जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री