नारकीय जीवन बिताउँदै पूर्वलडाकु निर्मला « Khabarhub

नारकीय जीवन बिताउँदै पूर्वलडाकु निर्मला


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएको नागरिक दैनिकमा खबर छ ।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्। ‘आमा सधैं भुइँमा नांगै सुत्नुहुन्छ। सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’

माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। पछि थलिइन्। अहिले मृत्युसँग लड्दैछिन्।

निर्मला उपचार खर्चको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छन्। ‘छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दिसापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि जलेका थिए। ‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आगोमा परेछन्। सबै जलेको। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘जलेर कुहिएको खुट्टा गनाएर घरमै बस्न नसकिने। अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भोग्नुपरेको पीडाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि लडेकी, आज मर्नका लागि लड्दैछे।’

दिसापिसाब तर्काउन नसकेपछि अनि जलेको खुट्टा गनाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको हो। ‘सुरुमा इन्डिया लगेर उपचार गरेको, भएन। धामी, झाँक्री, जडीबुटी सबै गरेम्। सन्चो होला भनेको, उस्तै छ’,सासू क्वारीले भनिन्। छोराले माओवादीको सेना हुँदा बिहे गरेको क्वारीले सुनाइन्। ‘बिहे गरेको केही समयमै बुहारी बिरामी परी। आठ वर्षको नाति छ। बिचरोले आमाको दूध पनि खान पाएन। भैंसी र बाख्राको दूध खाएर हुर्केको हो। घर चल्न धौ भएपछि परार छोराले अर्को बिहे गर्‍यो। यो बुहारी दिनभर बाहिर बस्छे, राति बाख्राको कोठामा लग्छौं’, क्वारीले भनिन्।

निर्मलालाई वर्तमान उपराष्ट्रपति तथा तत्कालीन माओवादी सेनाका सैन्य कमान्डर नन्दबहादुर पुन पासाङले लडाकुसम्बन्धी तालिम दिएका थिए। निर्मलाको बन्दुकको बलमा विभिन्न लडाइँ लडेका अर्का कमान्डर रोल्पाकै वर्षमान पुन ऊर्जामन्त्री छन्। माओवादी लडाकुको पाँचौं डिभिजन दहवन रोल्पाका कार्यवाहक कमान्डर राजबहादुर बुढाजिल्ला समन्वय समिति प्रमुख छन। तर उनीहरु कसैको नजर मृत्युसँग संघर्ष गरिरहेकी निर्मलामाथि परेको छैन। निर्मलाको घर भएकै क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव जिते। २०७० मा माओवादी नेत्री ओनसरी घर्तीले चुनाव जितिन् र सभामुख बनिन्। यसपाला वर्षमानले चुनाव जिते। तर उनीहरुले पनि निर्मलालाई सम्झेका छैनन्।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : १७ बजे

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा