लालिगुराँसको अस्तित्व जोगाउने अभियान, फूल टिप्न प्रतिबन्ध « Khabarhub

लालिगुराँसको अस्तित्व जोगाउने अभियान, फूल टिप्न प्रतिबन्ध


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।

जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । ‘गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा घण्टाको दूरीमा पर्छ, आन्तरिक तथा बाह्य पर्यटक फूल हेर्न जान्छन्, चुँडेर लैजान्छन्’, सार्कीले भने, ‘वर्षेनी फूल चुँडेर ल्याउँदा लालीगुराँसको बोट नै सङ्कटमा परेको छ, राष्ट्रिय फूल लालीगुराँसको अस्तित्व बचाउन पनि वन समिति कठोर बनेको हो ।’

उनका अनुसार फूल टिपेर सौन्दर्य बिग्रिन थालेको र लालीगुराँसले राताम्य हुने समयमै फूल टिपेर उजाड हुन थालेपछि बाध्य भएर वन समिति यो अभियानमा लागेको हो । उनले राष्ट्रिय फूल लालीगुराँसले वनको शोभा बढाइरहेको र फूल हेर्न जानेले फूल नै चुँडेर ल्याउन थालेपछि वन समितिले कसैले पनि फूल चुँड्न नपाउने गरी प्रतिबन्ध लगाएको बताए ।

उनले भने, ‘उपभोक्ता समितिले सार्वजनिक सूचना जारी गरी फूल टिप्न प्रतिबन्ध लगाएको हो । वन क्षेत्रमा अहिले गुराँस फुल्ने समय शुरु भएको छ । फुलेका गुराँसको सौन्दर्य हेर्न जानेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र सौन्दर्य गुम्ने खतरा बढ्यो । त्यसैले जङ्गलमा जानेले लालीगुराँस चुँड्न पाउने छैनन् । वनमा लालीगुराँस भएको ठाउँमा गएर फोटो खिच्न पाउँछन् । तर चुँडेर ल्याउन पाउने छैनन् । वन उपभोक्ता समिति लालीगुराँस संरक्षणमा जुटिसकेको छ ।’

अध्यक्ष सार्कीले गुराँसको फूल टिप्नेलाई हदैसम्मको कारवाही गर्ने चेतावनी पनि दिएका छन् । ‘गुराँस हेर्न मात्र पाइने, टिप्न नपाइने नियम बनाएका छौँ’, उनले भने, ‘फूल टिप्न प्रतिबन्ध लगाएपछि यस क्षेत्रको गुराँस वनको संरक्षणमा सहयोग पुग्ने भएको छ ।’ यतिबेला जुम्लाका वनमा गुराँस फुलेकाले वनपाखा राताम्मे भएका छन् । बालकदेखि युवा अनि वृद्धवृद्धासम्मको ध्यान गुराँसमै छ ।

शुक्रबार र शनिबार ढाणथपला वनक्षेत्रमा लालीगुराँस हेर्न जानेको निकै ठूलो भीड लाग्छ । फूलको थुँगा टपक्क टिपेर शीरमा सिउरिनेदेखि बोटैमा चढेर फोटो खिचाउने गर्छन् । हिजोआज ढाणथपला वनमा गुराँसको फेदैमा पुगेर रमाउने प्रशस्तै भेटिन्छन् । कर्णाली प्राविधिक शिक्षालय पनि सो वनक्षेत्रमै पर्ने भएकाले त्यो क्षेत्र अहिले निकै चर्चामा छ । लालीगुराँस राष्ट्रिय फूल भएकाले फूलको सम्मान गर्न सबैले जान्नुपर्नेमा जोेड दिइएको छ । जुम्लामा रातो र सेतो दुवै प्रकारको गुराँस पाइन्छ । जिल्ला भित्रिने अतिथिलाई लालीगुराँसको माला लगाएर स्वागत गर्ने मान्यता छ । यो समयमा विद्यालयबाट भागेर भए पनि लालीगुराँस खेल्न बालबालिका जङ्गल पुग्छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १० : ०१ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट