वर्षका यी १२ फिल्म – जसले ‘हाइप’ बनाए तर ‘फ्लप’ भए | Khabarhub Khabarhub

वर्षका यी १२ फिल्म – जसले ‘हाइप’ बनाए तर ‘फ्लप’ भए


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्ष रिलिज भएका फिल्ममध्ये धेरै फिल्म दर्शकलाई यादसमेत छैन । औसत रुपमा हप्तामा दुईवटा फिल्म रिलिज हुँदा सम्रग फिल्म क्षेत्रले नै घाटाको व्यापार गरेको छ ।

यस वर्ष रिलिज भएका‍/हुने  ९६ वटा फिल्मका नाम र रिलिज मिति त धेरै दर्शकलाई थाहा छैन । तर, दर्शक जानकार भएका केही फिल्मले राम्रो हाइप बनाएर पनि घाटाको व्यापार गरे ।

यस वर्ष रिलिज भएका फिल्ममध्ये दर्शकप्रति रुचि जगाएर राम्रो ‘हाइप’ बनाउन सफल भएका फिल्मले पनि बक्स अफिसमा निकै निराशाजनक व्यापार गर्न पुगेका छन् । वर्षान्तमा खबरहबले यस वर्ष चर्चा कमाएर पनि असफल भएका फिल्मको सूची तयार पारेको छ:

डमरुको डन्डिबियो

स्पोर्टस् जानरामा निर्माण भएको यो फिल्मले आशा गरिएअनुसारको व्यापार गर्न सकेन । फिल्म रिलिजअघि जुन हाइप थियो, त्यो हाइप रिलिजपछि घट्यो । खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको कथानकलाई दर्शकले रुचाएनन् । समीक्षात्मक रुपमा पनि फिल्मले खासै राम्रो प्रतिक्रिया पाउन सकेन ।

रोमियो एण्ड मुना

निर्देशक नरेशकुमार केसीको निर्देशन रहेकाले पनि यो फिल्मलाई खुबै चासोका साथ हेरिएको थियो । किनकि, उनले यसअघि ‘निभ्न लागेको दियो’ जस्तो स्तरीय फिल्मको निर्देशन गरेका थिए । समीक्षात्मक रुपले फिल्मले औसत प्रतिक्रिया पाए पनि दर्शकले भने फिल्मलाई खासै चासो दिएनन् । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको अभिनय रहेको यो फिल्म लभस्टोरी फिल्म हो । भीएफएक्सको समेत राम्रै प्रयोग गरिएको फिल्मले दर्शकको निराशाजनक साथ पायो ।

कायरा

आर्यन सिग्देलको कमब्याक फिल्म भनिएको यो फिल्मले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । यो फिल्ममा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी थियो । लभस्टोरी जानरामा निर्माण गरिएको यो फिल्मको स्किृप्टलाई लिएर दर्शकले गालीसमेत गरे ।

मेरी मामु

निर्माता सन्तोष सेनले निर्माण गरेको यो फिल्ममा उनले आफ्ना छोरा अयुब सेनलाई मुख्य भूमिकामा अभिनय गराइएको र एक गीतले चर्चा पाएका कारण दर्शकप्रति फिल्मको चासो थियो । तर, यो फिल्मको मेकिङ र स्टोरीका कारण फिल्म पूर्ण असफल बन्यो ।

रोज

वर्ष २०७५ मा प्रदीप खड्काको रोज पहिलो फिल्म थियो । यो फिल्म छायांकनमा हुँदा नै यति विवाद भएको थियो कि, यही विवादले फिल्मको एक खालको क्रेज बनेको थियो । अर्कातिर फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणाको पनि अभिनय रहेकाले दर्शकले चासोका साथ हेरेका थिए । तर, जब फिल्म रिलिज भयो, फिल्मको कथा यति पट्यारलाग्दो भयो कि, कति दर्शकले त पूरा फिल्म पनि हेर्न सकेनन् ।

कथा र मेकिङका कारणले फिल्म असफल रह्यो ।

इन्टु मिन्टु लण्डनमा

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको जोडी रहेको यो फिल्मका गीत संगीत र ट्रेलरले दर्शकलाई बाँधेर राखेका थिए । मिडियामा पनि फिल्मलाई लिएर चर्चा गरिएको थियो भने दर्शकले पनि यो फिल्मबाट आशा गरेका थिए । तर फिल्मले खासै व्यापार गर्न भने सकेन ।

फिल्म रिलिजपछि यसको कथा हिन्दी फिल्म ‘दिलबाले दुल्हनिया ले जायंगे’ बाट प्रभावित भएको थाहा पाएपछि दर्शकले फिल्ममा खासै चासो दिएनन् । चासो राखेका दर्शकले पनि उक्त फिल्मसँग तुलना गर्न थाले । जब दर्शकले हिन्दी फिल्म ‘डीडीएलजे’ जस्तो पाएनन्, तब फिल्मलाई ठीकै भन्न थाले । यद्यपि यो फिल्मले जेनतेन आफ्नो लगानी सुरक्षित गरेको भन्ने गरिन्छ ।

गोपी

यस वर्ष रिलिज भएकोमध्ये दर्शक र समीक्षकले धेरै आश गरेको फिल्म पनि हो, गोपी । ‘घामपानी’ का निर्देशकले निर्देशन गरेको र समीक्षक सामीप्यराज तिमल्सिनाले लेखेका भएकाले पनि फिल्मलाई चासोका साथ हेरिएको थियो । तर, यो फिल्मले न दर्शकको साथ पायो, न त समीक्षकको साथ पायो । फिल्मको कथा, कलाकारको अभिनय र सम्पादन पक्षमा पनि दर्शकको आपत्ति रह्यो ।

समर लभ

सुबिन भट्टराईको चर्चित आख्यान ‘समर लभ’ माथि निर्माण गरिएको भएर पनि यो फिल्मलाई दर्शक तथा सुबिन भट्टराईका पाठकले चासोका साथ हेरेका थिए । तर फिल्मको पहिलो टिजर रिलिज हुनासाथ दर्शकको क्रेज स्वात्तै घट्यो । फिल्मले सार्वजनिक गरेका गीत र ट्रेलरले पनि दर्शकको ध्यान तान्न सकेनन् । अर्कातिर दर्शकलाई फिल्मका मुख्य पात्र चयन पनि चित्तबुझ्दो लागेन । समीक्षात्मक रुपमा समेत तारिफ नपाएको यो फिल्म व्यावसायिक रुपमा पनि पूर्ण असफल रह्यो ।

द म्यान फ्रम काठमाडौं

हलिउडको बजारलाई समेत लक्षित गरी निर्माण गरिएको भनिएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ विदेशी कलाकारले अभिनय गरेका कारण पनि चर्चामा थियो । तर यो फिल्म पनि रिलिजको केही दिनमै हलबाट साइड लाग्यो । फिल्मले समीक्षात्मक रुपमा त तारिफ पाएन नै । बक्स अफिसमा पनि राम्रो गर्न सकेन । फिल्मका निर्देशक भने दोस्रो फिल्म बनाउने भनेर लागिपरेका छन् ।

साइँली

दुई वर्षअघिको चर्चित गीत ‘साइँली’ को थेममा निर्माण गरिएको फिल्म ‘साइँली’ सोही गीतका कारण चर्चामा थियो । फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका थियो । समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया पाएको यो फिल्म व्यावसायिक रुपमा भने सफल रहन सकेन । फिल्ममा निर्देशक रामबाबु गुरुङ थिए ।

क्याप्टेन

युवा अभिनेता अनमोल केसीले अभिनय गरेकाले प्रतीक्षित भनिएको फिल्म ‘क्याप्टेन’ ले पनि रिलिजअघि राम्रो माहोल बनाएको थियो । प्रचारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत फिल्म देखाइयो । तर, फिल्मको हाइपलाई आधार मान्ने हो भने यो फिल्म पूर्ण फ्लप बन्यो ।

दिवाकर भट्टराईले निर्देशन गरेको यो फिल्मले रिलिजको दिन नै निकै निराशाजनक व्यापार गरेको थियो । ‘इनिसियल’ कलेक्सन गर्ने आँकलन गरिएको यो फिल्मले शुक्रबार पनि राम्रो व्यापार गर्न सकेन । अनमोलको क्रेजले फिल्म हेर्ने दर्शकलाई केही प्रभाव पारेन । यद्यपि फिल्मले कमाइ गरेको वितरक पक्षको दाबी छ ।

लभ स्टेशन

यस वर्ष रिलिज भएको प्रदीप खड्काको दोस्रो फिल्म ‘लभ स्टेशन’ शीर्षककै कारण चर्चामा थियो । प्रदीपसँगै ‘लिलिबिली’ नायिका जसिता गुरुङको शीर्ष भूमिका रहेको यो फिल्मलाई लभस्टोरी भनिएको थियो ।

रिलिजपछि फिल्मको कथा टर्कीका दुई फिल्मबाट चोरी भएको आरोप लागेपछि फिल्मको व्यवसायमा असर परेको छ । यो फिल्मले समीक्षात्मक रुपमा साथ नपाए पनि फिल्म हेरेका दर्शकले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् । फिल्ममा उज्ज्वल घिमिरेको निर्देशन छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन