दोस्रो बिहे गरेर श्रीमान् फरार, गर्भवती श्रीमतीको बिचल्ली « Khabarhub

दोस्रो बिहे गरेर श्रीमान् फरार, गर्भवती श्रीमतीको बिचल्ली


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- ताप्लेजुङ जिल्लाको सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका एक युवकले श्रीमतीलाई गर्भवती बनाएर अर्को विवाह गरी वेपत्ता भएका छन् । अन्तरजातीय विवाह गरेका विजय ताम्लिङ लिम्बूले अर्को विवाह गरी वेपत्ता भएपछि उनकी गर्भवती श्रीमती प्रमिला सिवाको बिचल्ली भएको छ । पाँचथरको याङ्वरक गाउँपालिका–४ की प्रमिलाले एक वर्ष अघि विजयसँग प्रेम विवाह गरेकी थिइन् ।

आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उनको बिचल्ली भएको हो । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सिवालाई झुक्याएर विजयले दोस्रो विवाह गरेपछि उनी पाँचथर थर्पुस्थित माइतीमा बस्दै आएकी थिइन् ।

विवाहपछि श्रीमान् र सासू–ससुरासँगै झापाको काकडभिट्टामा बस्दै आएकी प्रमिलाले श्रीमानको घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुव्र्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताइन् ।

गएको पुस महिनामा श्रीमानले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको उनले बताइन् । श्रीमान् वेपत्ता भएपछि घरका अन्य सदस्यको दुव्र्यवहार र शारीरिक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उनको भनाइ छ । माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा छिन् । उनको हेरचाहका लागि कोही छैनन् । आमा पनि शारीरिकरूपमा अशक्त र बुबा पनि वृद्ध भएका कारण प्रमिलाको बिजोग भएको छ ।

कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध सुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै उनीहरुको अन्तरजातीय विवाह भएको थियो । गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरेपनि आफूले सन्तानलाई धर्ती देखाउने आशाले कसैको कुरा नमानेको उनले बताइन् । गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनू भन्ने जवाफ आएको उनको भनाइ छ ।

‘अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरुले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे, हामी अर्की केटी खोजिदिन्छौँ भनेपछि मलाई उहाँले छोड्नुभयो ।’ उनले भनिन् ।

दोस्रो विवाह गरेर श्रीमान बेपत्ता भएपनि उनले झिनो आशा राख्दै भनिन्, ‘छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ०८ बजे

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६