आमाले पढ् भन्नुहुन्छ, बाबाले खेल् भन्नुहुन्छ, म चाहिँ ‘च्याम्प’ को सपना देख्छु | Khabarhub Khabarhub

आमाले पढ् भन्नुहुन्छ, बाबाले खेल् भन्नुहुन्छ, म चाहिँ ‘च्याम्प’ को सपना देख्छु




काठमाडौं – सन् २०१८ मा सम्पन्न ‘दुबई जुनियर इन्टरनेशनल’ सिरिजको यु–१५ मा नेपालका तर्फबाट प्रिन्स दाहालले स्वर्ण जिते । जीतसँगै नेपाली खेल जगतमा चर्चा हुन थाल्यो उनको ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको यो स्वर्ण नेपाली ब्याडमिन्टन खेल जगतका लागि नयाँ कीर्तिमानी पनि थियो । किनकि, प्रिन्सले जितेको उक्त स्वर्ण उमेर समूहमा नेपालले भित्र्याएको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो ।

त्यतिबेलादेखि नै प्रिन्सलाई नेपाली खेल जगतमा सम्भावना बोकेका खेलाडीका रुपमा कतिपयले हेर्न थालिसकेका थिए । अहिले उनी अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा भाग लिइरहेका छन् । उनी नेपालको च्याम्पियन बन्ने सपनाका साथ सङ्घर्षरत छन् ।

उनले यति धेरै चर्चा पाउनुमा दुबईमा जितेको त्यही एउटा स्वर्ण नै काफी बन्यो । त्यो स्वर्ण, जसलाई बेलाबेलामा उनी चुम्ने गर्छन् ।

यही स्वर्णले नै उनलाई ‘र्‍याकेट’सँग अझ बढी नजिक बनाइदिएको छ । उनले ब्याडमिन्टन खेलेरै अरु उपाधि जिते, तर पहिलो अन्तर्राष्ट्रिय स्वर्णको नै बढ्ता चर्चा हुने गर्छ ।

‘भर्खर त करिअर शुरु भएको छ, अझै धेरै सिक्न बाँकी छ,’ प्रिन्स सुनाउँछन् ।

उनी चाहन्छन् – नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकियोस्, खेल क्षेत्रमा पनि नेपालीले धेरै गर्न सक्छन् भन्ने उदाहरण बन्न सकियोस् ।

‘सिक्दैछु, थोरै सफलताले पनि यति धेरै खुशी छ, अझै बढी जोश थपिदिएको छ, झन् मेहनत गर्नै हौसला मिलेको छ,’ खिस्स हाँस्दै प्रिन्स सुनाउँछन्, ‘नेपाललाई जिताउने लक्ष्य छ, त्यसैका लागि दिनरात मेहनत गरिरहेको छु ।’

उमेरले भर्खर १५ पुगेका प्रिन्स ब्याडमिन्टनमा पनि प्रिन्स नै छन् । भन्छन्, ‘भोलि मेरो च्याम्प बन्ने लक्ष्य छ ।’

च्याम्प अर्थात् किङ । ब्याटमिन्टन किङ ।

‘सहज त कहाँ छ र ? ब्याडमिन्टनमा पनि पहिलेदेखि नै गज्जबैले जमेका दाजुहरु हुनुहुन्छ, उहाँहरुको साथ पनि चाहिन्छ नि !,’ प्रिन्स भोलिको जटिलता केलाउँदै सुनाउँछन् ।

ब्याडमिन्टन क्षेत्रको वरीयता हेर्ने हो भने प्रिन्सका तुलनामा अरु खेलाडी धेरै अगाडि छन् । कतिलाई उनले ‘आइडल’ का रुपमा हेरेका छन् भने कतिलाई उनले आफ्नै प्रतिस्पर्धीका रुपमा पनि हेरेका छन् । तर, उनको चाहना नेपालीबीच प्रतिस्पर्धी गर्नुभन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा नै आफूलाई चिनाउने छ ।

त्यसो त, नेपालमा ब्याडमिन्टन मात्र होइन, अरु खेलमा पनि औँलामा गन्न सकिने सीमित खेलाडीबाहेक अन्य खेलाडीले खेलेरै जीवन गुजारा गर्ने अवस्था छैन । खेलसँग सम्बन्धित निकायहरुले पनि वर्षमा एकाध प्रतियोगिता मात्र आयोजना गर्ने गरेका छन् । यस्तो अवस्थामा समेत खेलाडीले आफैले खेल क्षेत्रमा आफ्नो वृत्ति खोजिरहेका छन् ।

‘नेपालमा प्रर्याप्त खेलहरु भए पो हामीले पनि अझै धेरै सुधार गर्ने मौका पाउने थियौँ,’ प्रिन्स गुनासो गर्छन्, ‘सरकारी निकायले पनि खेलकुदलाई चासो दिए राम्रो हुने थियो ।’

प्रिन्स नेपाली वरीयतामा शीर्ष दशभित्र पर्छन् । तर, उनको लक्ष्य शीर्ष स्थानमा पुग्ने नै छ । ‘कुनै दिन नेपाल च्याम्पियन त बन्नु छ,’ प्रिन्स मुस्कुराउँछन् ।

उनले व्यावसायिक रुपमा ब्याडमिन्टन खेल्न थालेको जम्मा ३ वर्ष भयो । त्यसो त प्रिन्स आफ्ना बुबा नारायण दाहालले खेलेको ब्याडमिन्टन हेरेरै हुर्केका हुन् । बुबाकै कुरा गर्दा उनले सुदूरपश्चिमबाट क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा समेत सहभागिता जनाइसकेका थिए ।

‘म ब्याडमिन्टन खेलेको देख्ने बुबाको सपना थियो, त्यसैले होला बुबाको सधै साथ पाइयो,’ प्रिन्स भन्छन्, ‘बुबाले मलाई सधै ब्याटमिन्टनका लागि ‘मोटिभेट’ गर्नुभयो, अहिले पनि उहाँसँग खेलकै विषयमा बढी कुरा हुन्छ ।’

जन्मगाउँ दार्चुलाको खलङ्गामा हुँदा बुबाले ब्याडमिन्टन खेलेको हेरेरै हुर्केका थिए प्रिन्स । बिहानै बुबा र्‍याकेट बोकेर अभ्यास गर्न जान्थे । सानो प्रिन्स बुबाको पछिपछि लागेर उतै लाग्थे । त्यतिबेलै प्रिन्सले पहिलोपटक समाएका थिए, र्‍याकेट ।

‘त्यो समय मलाई अहिले पनि याद आउँछ,’ प्रिन्स हाँस्छन् ।

अहिले उनी ललितपुरमै बसोबास गरिरहेका छन् । स्कूलमा पनि उनी ब्याडमिन्टन भनेपछि हुरुक्कै हुन्छन् । बरु अहिले त उनीसँग नियमित स्कूल जाने समय नै हुँदैन ।

‘आमाले पढ् भन्नुहुन्छ, बाबाले खेल् भन्नुहुन्छ, म चाहिँ ‘च्याम्प’ बन्ने सपना देख्छु,’ प्रिन्सले आफ्नो कुरा सुनाउँछन् । र, खिस्स गर्छन् ।

बुबाले प्रिन्सलाई ब्याडमिन्टनमै ‘फोकस’ गरिरहन्छन् तर आमाले भने पढाइमै ‘फोकस’ हुन सुझाउँछिन् । कहिलेकाहीँ प्रिन्स बुबा र आमा दुवैको कुरा सुनेर ‘हस्’ भनिरहेका हुन्छन् ।

‘आमाले सधै स्कूल जाऊ, पढ भन्नुहुन्छ,’ यत्ति बोल्छन् उनी ।

प्रिन्स अहिले ललितपुरको डाँफे स्कूलमा अध्ययन गरिरहेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता पठाउन प्रायोजकहरुले पनि हौसला बढाइदिएका छन् ।

अहिले उनी जिम जान्छन् । निरन्तर अभ्यास गर्छन् । उनको खेलप्रतिको लगाव देखेर खेलप्रेमी व्यक्तित्वहरुले उनलाई साथ दिइरहेका छन् ।
हालै खेलकुद पत्रकार मञ्चले ‘एनएसजेएफ स्पोर्टस अवार्ड’ को ‘पिपुल्स च्वाइस’ विधामा मनोनयन गरेको छ ।

अर्कातिर उनी आगामी डिसेम्बरमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अभ्यासमा निरन्तर जुटेका छन् । भन्छन्, ‘बिहानै ७ बजेदेखि अभ्यास गर्छु, मेहनत गरिरहेको छु, सागमा छानिएँ भने देशका लागि स्वर्ण भित्र्याउने लक्ष्य छ ।’

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ४ : ४२ बजे

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन

‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको ‘निर्मोही’ सार्वजनिक

काठमाडौं– कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको

म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम

काठमाडौं- अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर– भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता