श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै, यसरी बच्नुस् « Khabarhub

श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै, यसरी बच्नुस्


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– अत्यन्त चल्तीका मुख्य सडकमा धुलो उडेर स्वास्थ्य समस्या बढाएको छ ।

जिल्लाका बर्दिवास–जलेश्वर, जलेश्वर–बखरी–सम्सी, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर, लालगढ–भङ्गाहा, धर्मपुर–कुर्था–जनकपुर र बर्दिवास–रौजा–जलेश्वरसहितका सडकमा उड्ने धुलोले श्वासप्रश्वास र आँखाका बिरामी बढेका हुन् ।

जिल्लाको बर्दिवास–१ स्थित बर्दिवास आँखा अस्पतालमा गत कात्तिकमा मात्र ३०० भन्दा बढी आँखाको समस्याका बिरामीले जाँच गराएका छन् । पछिल्ला दुई दिनमा मात्रै ७५ आँखाका बिरामीले जाँच गराएका अस्पताल सञ्चालन बोर्डका अध्यक्ष मुकुन्द पौडेलले बताए ।

यसबाहेक जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा श्वासप्रश्वासका बिरामीको सङ्ख्या पनि निकै बढेको छ ।

पछिल्लोपटक कात्तिक अन्तिम सातादेखि चिसो बढ्ने क्रमसँगै श्वासप्रश्वासका बिरामी निकै बढेका बर्दिवास अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा बिधानचन्द्र झा बताउँछन् । जिल्लामा पछिल्लोपटक श्वासप्रश्वास र आँखाका बिरामी बढ्नुको मुख्य कारण सडकमा उड्ने धुलो नै रहेको दुवै अस्पतालका चिकित्सकको भनाइ छ ।

बर्दिवासमात्र नभएर जिल्लाका लोहारपट्टी, रामगोपालपुर, सम्सी र जलेश्वरसहितका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । सवारी साधनको अत्यधिक चाप हुने सडकमा उड्ने धुलोले सर्वसाधारणका कोठाचोटा र भान्साघरसमेत धुलाम्य हुने गरेका छन् । करीब ४२ किलोमिटर दूरीको बर्दिवास–रामगोपालपुर–जलेश्वर सडकको अवस्था सबैभन्दा रुग्ण छ ।

छ महिना अगाडि उधिनेर (खोस्रेर, खनेर) धुलाम्य बनेको सडकमा पुनःनिर्माण र मर्मतसम्भारको काम अघि नबढाइँदा सर्वसाधारण सडकमा उड्ने धुलोले आजित भएका छन् । “घर कोठा केही भन्न पाइएन, सबै धुलाम्य छन्” बर्दिवास–२ बुद्धचोककी गृहिणी गायत्री शर्माले भन्नुभयो, “सडक उधिनेर धुलाम्य बनाउने निकायले पानीसम्म छर्कने दायित्वसमेत निर्वाह नगर्दा उदेकलाग्दो बनेको छ ।”

श्वासप्रश्वास (मैथिलीमा बोलीचालीमा दम्मा भनिन्छ) को समस्या बढ्नुमा धुम्रपानको लत, चिसो बढेसँगै राम्रो सम्भार नपाउनु नगर्नु, मौसमअनुसार सन्तुलित भोजन व्यवस्थापन गर्न नसक्नु र ग्रामीण बस्तीमा जाडो छल्न प्लाष्टिक, भिजेका पतिङर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’ को धुँवासमेत कारण भए पनि अहिले भेटिएका बिरामीचाहिँ धेरैजसो धुलोकै कारण बढेका चिकित्सकहरुको ठम्याइ छ ।

अस्पतालमा आउने यस प्रकृतिका बिरामीमा ५० वर्ष उमेर कटेका, सुत्केरी र स–साना बालबालिका छन् । बालबालिकामा निमोनियाको समस्या पनि सम्भारमा कमी र धुलोकै कारण रहेको जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरीटेण्डेण्ट डा राजीव झाको ठम्याइ छ ।

यस्तो स्वास्थ्य समस्या दलित र गरीबको झुपर बस्ती (पराले झुप्राका बस्ती) मा बढी देखिएको डा झाको भनाइ छ । आहार, निद्रा, आन्तरिक र बाह्य सरसफाइ, श्रम तथा मौसमअनुसार लवाइ सन्तुलित गरेर सडकको धुलो खान नपरे कुनै स्वास्थ्य समस्या नआउने डा झाले बताउनुभयो ।

सडक निर्माण र मर्मतसम्भारमा ध्यान नदिइँदा बढेको धुलो नियन्त्रण गर्न बर्दिवास–रामगोपालपुर–जलेश्वर सडक छेउका बासिन्दाले कैयौँपटक सडकजामको साङ्केतिक आन्दोलन गरे पनि निकास भने नआएको सो सडकखण्डकै रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुरका सामाजिक, राजनीतिक कार्यकर्ता छठु पटेल बताउँछन् ।

यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले सडक पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्दै कामको जिम्मेवारी बोकेका निर्माण कम्पनी र रेखदेखको मुख्य जिम्मेवारी रहेको सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामलाई तत्काल काम थाल्न र धुलाम्य सडकमा दिनहुँ पानी छर्कन ध्यानाकर्षण गराइएको बताए ।

सडक निर्माण र मर्मतसम्भारबारे जिज्ञासा राख्न खोज्दा सडक डिभिजन कार्यालयका अधिकारी सम्पर्कमै आउन चाँहदैनन् । अब सडक निर्माण र मर्मतसम्भारको काम गतिमा नबढाइए चारपाङ्ग्रे र त्यसभन्दा माथिका साधन सडकमा गुड्न नदिने आन्दोलन शुरु गरिने बर्दिवास–रामगोपालपुर–जलेश्वर सडकखण्ड छेउका बासिन्दाको भनाइ छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ४४ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर