वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिकको सहभागिता | Khabarhub Khabarhub

वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिकको सहभागिता


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  छ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् । वाग्मती सफाइ महाअभियानको ३३२ औँ हप्तामा त्रिपुरेश्वर र गुसिङ्गाल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल नदी संरक्षण संस्थाको सक्रियतामा अमेरिका, क्यानडा र बङ्गलादेशका नागरिक सहभागी भएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपालका नदी नाला सफा बनाउन अभियान चलिरहेको छ भन्ने सन्देश प्रवाह गर्न विदेशी नागरिकलाई सहभागी गराइएको संस्थाका अध्यक्ष मेघ आलेले बताए । सहभागी विदेशी नागरिकले केही वर्षअघि चर्चा गरिएजस्तो नदीमा फोहोर नभेटिएकाले सफाइ अभियानलाई तीव्रता दिइ नदीमा स्वच्छ पानी प्रवाह गराउनुपर्ने बताएका थिए । उनीहरुले काठमाडौँ स्वच्छ र सफा बन्दै गएको सन्देश लिएर जाने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष आलेले सुनाए ।

सफाइमा २० संस्थाका ३५० भन्दाबढी अभियानकर्मी सहभागी भएका अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । आजको सफाइबाट पाँच मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्वआयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश महर्जनको पनि सक्रियता थियो ।

तीनवटै सुरक्षा निकायका अधिकारीको सफाइमा विशेष सक्रियता थियो । मुहानदेखि नै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २९४औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गर्‍यो । पितृपक्षका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान एवं पिण्डदान गर्ने भक्तजनका कारणले जम्मा भएको फोहोर व्यवस्थापन गरिएको थियो ।

कुहिने फोहोर डस्टविनमा राखी नकुहिने फोहोर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । रुद्रमती सफाइको २८६औँ हप्तामा सेतोपुलबाट देवीनगर पुलसम्म सफाइ गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं. १० को समेत संस्थागत सहभागिता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले सुनाए ।

देवीनगर क्षेत्रमा धेरै फोहोर भएपछि वडा अध्यक्ष रामकुमार केसीले महिला सदस्यको संयोजकत्वमा सफाइ समिति नै गठन गरी अभियानमा परिचालन गर्नुभएको छ । आजको सफाइबाट तीन मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा ५ सयभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

विष्णुमती सफाइ अभियानको २५९ औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं. १० क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सिद्धेश्वर र नमूनानगर टोल सुधार समिति, सरसफाइ प्रेमी स्थानीयवासी, वडाध्यक्ष अमृत थापा लगायतको सक्रियता रहेको सफाइ संयोजक शोभाकान्त पाण्डेले बताए ।

तिलगङ्गास्थित वाग्मती नदी सफाइको २३२औँ हप्तामा त्यस क्षेत्रमा सफाइका साथै जनचेतनामूलक अभियान पनि सञ्चालन गरियो । मनोहरा सफाइको १३१औँ हप्तामा महानगरपालिका वडा नं ३२ कोटेश्वरस्थित शान्ति टोल क्षेत्रमा सफाइ गरी तीन टन फोहोर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको थियो ।

चक्रपथ सफाइ अभियानको १२९औँ हप्तामा गोङ्गबुबाट मानव सेवा आश्रमसम्मको सडक क्षेत्रमा सफाइ, जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । सफाइमा टोखा नगरपालिका वडा नं ९ र १० का अध्यक्ष क्रमशः केपी नेपाल र मधुसुदन पाण्डे लगायतका अभियानकर्मीको सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियानले हाल देशव्यापीस्वरुप ग्रहण गरेको छ । हाल देशका १०५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । यी सबै अभियान वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई शुरु भएका हुन् । यसैक्रममा आज चक्रपथको पश्चिम खण्ड बाफल, मीनभवनस्थित आलोकनगर, ललितपुरको गोदावरी खोला, वाग्मतीको सुन्दरीघाट, गुह्येश्वरीलगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ५ : ०८ बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा