प्रहरीलाई घुस १० रुपैयाँ सम्म ! « Khabarhub

प्रहरीलाई घुस १० रुपैयाँ सम्म !


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेको नयाँ पत्रिकामा खबर छ ।

पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ परेका हुन् । १५ जना मोटरसाइकलचालक पनि पक्राउ परेका छन् । प्रहरीलाई घुस दिन खोजिएको रकम ८२ हजार दुई सय १० रुपैयाँ पुगेको छ ।

रानीपोखरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले घुसमा प्रहरीले शून्य सहनशीलताको नीति लिएको बताए । उनले भने, ‘पछिल्ला दिन प्रहरीले घुस लिने र दिनेमा शून्य सहनशीलता नीति लागू गरेको छ । घुस लिने र दिने कोही भेटिए ठाउँका ठाउँ कारबाही गरिने सर्कुलर छ । यो परिणाम यसैको प्रभाव हो । यसलाई प्रहरीले अझ कडाइका साथ कार्यान्वयनमा लैजानेछ ।’

प्रहरीका अनुसार अधिकांश चालकले सवारीचालक अनुमतिपत्र तथा ब्लुबुक नभएपछि प्रहरीलाई घुस दिने प्रयास गरेका छन् । मादकपदार्थ सेवन(मापसे) गरी सवारीसाधन चलाउनेले पनि प्रहरीलाई घुस दिन खोजेका छन् । तर, प्रहरीले घुस दिनेलाई नै पक्राउ गर्न थालेपछि पछिल्ला दिन घुसको घटनामा कमी आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही महिनामा ट्राफिक प्रहरीले मात्रै घुस दिन खोज्ने ५३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक रहेको महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए । उनले भने, ‘ट्राफिक प्रहरीले प्रत्येक दिन मापसे जाँच गर्छ । यस क्रममा लाइसेन्स र ब्लुबुक जाँच हुने नै भयो । जसको कागजपत्रमा गडबड छ, उसले प्रहरीलाई घुसको अफर गर्छ । तर, प्रहरीले त्यस्ता चालकलाई पक्राउ गरेको छ ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घुस दिन खोज्ने अधिकांशलाई १० हजार रुपैयाँ धरौटीमा छाडिएको छ । पछिल्ला दिन पक्राउ परेकाहरूको हकमा भने अनुसन्धान बाँकी नै रहेकाले उनीहरू प्रहरी हिरासतमै छन् । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्नेहरू धमाधम पक्राउ परेको घटनाबाट जनमानसमा ठूलो मनोवैज्ञानिक सन्देश जाने दाबी गरे ।

उनले भने, ‘ड्युटीमा रहेका प्रहरी जवानलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्मको घुस अफर आएको छ । परिणामको हिसाबले न्यून भए पनि धमाधम पक्राउ पर्नुले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । यसले प्रहरीप्रतिको विश्वसनीयता बढाउँछ ।’

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : १६ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम