नेपालमा वामपन्थी नेताको चहलपहल बढ्यो, चे ग्वेभाराकी जेठी छोरी काठमाडौंमा | Khabarhub Khabarhub

नेपालमा वामपन्थी नेताको चहलपहल बढ्यो, चे ग्वेभाराकी जेठी छोरी काठमाडौंमा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्युबाली क्रान्तिका क्रान्तिकारी नेता चे ग्वेभाराकी जेठी छोरी अलेइडा ग्वेभारा मार्च नेपाल आएकी छिन् ।

क्युबाप्रतिको ऐक्यबद्धताका लागि आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी नेपाल आएकी हुन् । नेपाल आउनुअघि मार्चले भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।

नेपालमा वामपन्थीको दुई तिहाई नेतृत्वको सरकार रहेको बेला पछिल्लो समय साम्यवादी तथा वामपन्थी मुलुकका नेता तथा प्रतिनिधिको भ्रमण बाक्लिँदै गएको छ । केही दिन अघिमात्र दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएराले नेपालको भ्रमण गरेका थिए ।

उनी युवासम्बन्धी एक सम्मेलनमा भाग लिन नेपाल आएका थिए । नेपाल भ्रमणमा रहँदा गुएराले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै क्रान्तिकारी नेता चे की छोरीले नेपाल भ्रमण गरेकी हुन् ।

शुक्रबार काठमाडौंस्थित मल्ल होटेलमा आयोजित क्युबाप्रति ऐक्यबद्धताका लागि नवौं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा सहमागी हुन भन्दै उनी नेपाल आएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मार्चले आफ्ना बाबु चे ग्वेभाराको छविलाई बजारीकरण गरिएको प्रति असन्तुष्टि प्रकट गरिन् ।

‘उनका क्रान्तिकारी विचार र दर्शनलाई प्रतिबन्ध लगाइएको छ । उनी यस्तो तिरस्कारका लागि योग्य छैनन्’ उनले भनिन्,‘ जे भएपनि उनले दुश्मनविरुद्ध लडेका थिए । त्यसैले उनीहरुबाट योभन्दा राम्रो अपेक्षा गर्न पनि सकिन्न ।’

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले दशकौं देखिको नाकाबन्दी र प्रतिबन्धका बावजुद क्युबाले विश्वसामु अन्यायपूर्ण व्यवहारले शान्ति तथा स्वतन्त्रताप्रेमी जनताको चेतनालाई मार्न नसक्ने उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

‘क्युबाविरुद्धको नाकाबन्दीले क्युबाली जनताको धैर्यता, राष्ट्रवादी दृष्टि र सार्वभौमिकता रक्षालाई कमजोर बनाउन सकेको छैन’ प्रचण्डले भने ।

उनले क्युबाविरुद्धको नाकाबन्दी मानवअधिकारको विश्वव्यापी मूल्य मान्यताको विपक्षमा रहेको समेत जनाए ।

‘संयुक्त राष्ट्रसंघ महासभाले क्युबाविरुद्ध लगाइएको नाकाबन्दी फुकुवा गर्न हरेक वर्ष भारी बहुमतसहित प्रस्ताव पारित गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायले क्युबाविरुद्धको नाकाबन्दीको विरोध गरेको करिव २६ वर्ष भइसकेको छ । विश्वव्यापी आह्वानका बावजुद क्युबामाथिको नाकाबन्दी जारी छ । क्युबाको पक्षमा नेपालले स्पष्ट रुपमा निरन्तर मत दिइरहेको छ’ उनले भने ।

कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि क्युबाविरुद्ध लगाइएको नाकाबन्दीको विरोधमा ऐक्यबद्धता प्रकट गरे ।

सम्मेलन आयोजनाका लागि नेकपाका नेता पशुपति चौलागाईको संयोजकत्वमा समिति बनेको थियो । सम्मेलनमा नेपालसहित क्युवा, ग्रिस, भारत, अष्ट्रेलिया, अमेरिकासहितका १७ मुलुकका प्रतिनिधिको सहभागिता थियो ।

क्युबाली प्रतिनिधिमण्डमा चे ग्वेभाराकी छोरी अलेइडा ग्वेभारा मार्च सहित अमेरिकामा पक्राउ परेका क्युबाली जासुस फर्नाडो गोन्जालेजको समेत कार्यक्रममा सहभागिता थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा शनिबार साझा धारणा सार्वजनिक गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

चे ग्वेभाराकी छोरी मार्च नेपाल आएसँगै वामपन्थीहरुले चे को क्रान्तिकारी  दर्शनबारे चर्चा गरिरहेका छन् । वामपन्थी युवा नेताहरुले चेकी छोरीलाई नेपालमा स्वागत गर्दै सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेका छन् ।

को हुन् चे ग्वेभारा ?

सन् १९२८ मा अर्जेन्टिनाको रोजारियो प्रान्तमा जन्मेका अर्नेस्टो ‘चे’ ग्वेभारा विभिन्न मुलकको क्रान्तिमा सहभागी भएका थिए । अर्जेन्टिनामा जन्मिए पनि चे क्युवाको क्रान्ति सकिएपछि क्युवामा मन्त्री बनेका थिए ।

सन् १९५३ मा मोङ्काडा ब्यारेकमा गरिएको आक्रमण असफल भएपछि पक्राउ परी बन्धक बनाइएको क्युबाली नेता फिडेल क्यास्ट्रो क्युबाबाट भागेर मेक्सिको पुगेका बेला उनको भेट फिडेलसँग भएको थियो । यही क्रममा सन् १९५६ मा चेसहित, फिडेल, उनका भाइ राउल क्यास्ट्रोसहित ८२ जना छापामार नेताहरु ग्रान्मा डुङ्गामा मेक्सिकोबाट क्युबा फर्केका थिए ।

१९५९ जनवरी १ मा तत्कालीन क्युबाली सैनिक तानाशाह फुल्हेन्सियो बाटिस्टाको सत्ता च्यूत गराउन सफल क्रान्ति सम्पन्न भएपछि ग्वेभारा विश्वका अन्य क्षेत्रमा क्रान्ति विस्तार गर्न लागि परेका थिए । सोही क्रममा सन् १९६५ मा तत्कालिन कङ्गोली शासक मबुतु सेसे सेकोविरुद्धको छापामार युद्धमा सहभागी हुन अफ्रिका पुगेका थिए ।

कङ्गोली छापामार युद्ध असफल भएपछि सन् १९६६ मा उनी ल्याटिन अमेरिकी मुलुक बोलिभिया पुगी त्यहाँ सक्रिय करिब ५० छापामारसँग मिलेर युद्ध लडेका थिए ।

छापामार युद्धकै क्रममा सन् १९६७ मा बोलिभियाको दुर्गम ला हिग्वेइरा गाउँमा अमेरिकी गुप्तचर निकाय सीआइएका जासुसले उनलाई नियन्त्रणमा लिई हत्या गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ४४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका