शहीद गंगालालकी नातिनी पावना युवा उमेर मै एतिहाद एयरवेजको ‘कन्ट्री म्यानेजर’ | Khabarhub Khabarhub

शहीद गंगालालकी नातिनी पावना युवा उमेर मै एतिहाद एयरवेजको ‘कन्ट्री म्यानेजर’



काठमाडौं-नेपालको राजनीतिमा गंगालाल श्रेष्ठ र उनका माइला भाइ पुष्पलाल श्रेष्ठको ठूलो भूमिका छ । राणा शासनविरुद्धको अभियानका क्रममा तत्कालिन राणा शासकले हत्या गरेका मध्येका एक शहीद गंगालाल हुन् भने उनका माइला भाइ पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

उनै पुष्पलाललाई आदर्शमान्ने कम्युनिष्ट पार्टीहरुले यतिबेला देशको शासन सत्ता चलाई रहेका छन् । विसं १९७५ सालमा रामेछापको भंगेरिमा जन्मिएका गंगालाल र पुष्पलालमा राजनीतिक चेत थियो जसले गर्दा देशको परिवर्तनको लागि उनीहरुले महत्त्वपूर्ण योगदान दिए ।

000

गंगालाल राजनीतिमा सक्रिय भएपनि उनका छोरा शशिलाल श्रेष्ठ प्रत्यक्षरुपमा राजनीतिमा संलग्न भएनन् । चिनियाँ भाषाको अनुवादकका रुपमा सक्रिय शशिलालको एक महिना अघि प्यारालाइसि पछि ब्रेन ह्यामरेज भएर निधन भएको छ ।

नेपाली राजनीतिमा परिवारका सदस्य वा पिता पूर्खाले गरेको राजनीति र खेलेको भूमिका कारण शक्तिशाली पदमा पुग्ने सन्तानको संख्या उल्लेख्य नै छ । तर देश परिवर्तनका लागि लागेका गंगालाल–पुष्पलाल परिवारका सदस्यले भने त्यो पदचापलाई पछ्याएका छैनन् ।

गंगालालका छोरा शशिलाल राजनीतिमा लागेनन् । शशिलालका छोराछोरीपनि राजनीति भन्दा टाढै छन् ।

गंगालालकी नातिनी(शशिलाल) कि छोरी पावना श्रेष्ठ यतिवेला एतिहाद एयरवेजको कन्ट्रि म्यानेजर पदमा कार्यरत छिन् । तीन दशको उमेरमा हिँडिरेहकी पावना युवा उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सफल भएकी हुन् । युवा पुस्ताबाट महत्वपूर्ण भूमिकामा रहेकी एक जना प्रतिनिधि, राजनीतिक घरानाकी सदस्य पावनासँग हामीले पारिवारिक पृष्ठभूमि, उनले सम्हालिरहेको जिम्मेवारी, देशको परिस्थितिबारे युवा पुस्तोको सोचलगायतका विषयमा कुराकानी गरेका थियौं । आधुनिक पुस्ताकी प्रतिनिधि भएर होला सायद् उनको लवजमा अंग्रेजी भाषाको ठूलो प्रभाव थियो ।

शुरुमा हामीले पावनालाई उनको परिवार बारे प्रश्न राख्यौं । परिवारको संख्या र काम बारे पावनाले यसरी व्याख्या गरिन् ।

मेरो बुवाको नाम शशिलाल हो । उहाँ शहीद गंगालालको छोरा हुनुहुन्छ । पुष्पलाल मेरो बुवाको काका हुनुहुन्छ । मेरो बुवाको एकमहिना अघि निधन भएको हो । उहाँ प्यारालाइसिस पछि ब्रेन ह्यामरेज भएर वित्नुभएको हो ।

आमा सिनियर नर्स भएका कारण प्यारालाइसिस भएपछि आमाले नै बुवाको हेरचाह घरमा नै गर्नु भएको थियो । आमालाई पनि डाइवेटिज छ । तर उहाँ ठिक हुनुहुन्छ । मेरो एक जना भाइ हो उ अहिले आफ्नै काममा लागेको छ, पहिला उ पनि एयरलाइन्समा काम गर्थ्यो । दिदी चाहिँ कम्प्युटर डेटा साइन्टिस हो । अध्ययनका लागि दिदी अमेरिका जानुभएको थियो । विवाहपछि उहाँपनि अहिले नेपाल आउनुभएको छ । अहिले यतै बस्नुहुन्छ ।

जे खाएपनि जे लगाएपनि सामाजिक सञ्जालमा राख्नुपर्ने जस्तो खालको ट्रेनलाई कन्ट्रोल गर्नुपर्छ । युवाले अनप्रोडक्टिभ काममा समय विताइ रहेका छन् । त्यसैले अब प्रोडक्टिभ काममा लाग्नुपर्छ 

त्यसपछि हामीले पावनासँग राजनीतिबारे कुरा गर्‍यौं । राजनीतिमा सक्रिय नभएपनि राजनीतिक चेतना भने उनसँगको कुराकानीमा प्रस्ट देखिन्थ्यो । नेपाली राजनीतिमा परिवारवाद हावी देखिन्छ । तर गंगालाल–पुष्पलालका परिवारका सदस्यहरु भने राजनीतिमा सक्रिय छैनन् ।

तपाईहरुलाई राजनीतिमा लाग्नपर्‍यो भने सहज पनि छ, परिवारको नामका कारण सहज छ, यसबारे कहिलेकाहिँ परिवारमा छलफल हुने गरेको छ ? भनेर हामीले प्रश्न गर्दा पावनाले हाँस्दै जवाफ दिइन्–राजनीतिका बारेमा बेलाबेलामा परिवारमा कुरा हुन्छ । कहिलेकाही हामी पनि राजनीतिमा आउनुपर्छ कि के हो भन्ने कुरा हुन्छ । तर त्यसरी लाग्ने कुरा छैन । हामीले राजनीतिमा देश बनाउने भन्दा पनि आफ्नो आफ्नो क्षेत्रबाट नै देशको विकासमा सपोर्ट गर्ने हो । त्यो हाम्रो परिवारले आ–आफ्नो ठाउँबाट गरिरहेको छ ।

किन राजनीतिमा लाग्न मन लागेन ?

राजनीतिक चेतना सबैमा हुनुपर्छ । सचेत नागरिकका हिसावमा राजनीतिक चेतना हुनुपर्छ । तर सवै जना लाग्नुपर्छ भन्ने होइन । के कस्तो पेशा व्यवसायमा लाग्ने भन्ने व्यक्तिगत चाहना हो । देशको लागि केही गर्नुपर्छ भन्ने भावना छ । तर राजनीतिमा नलागेर पनि आफू जुन क्षेत्रमा भइन्छ त्यसबाट पनि त हामीले योगदान गरिरहेको हुन्छ नि ! सरकारलाई गर्नुपर्ने सहयोग गरिरहेका हुन्छौं । चुनावमा भाग लिएर भोट गरेर पनि त सहयोग गरेका हुन्छौं । युवाले आफ्नो सक्रियता आधुनिक रुपमा प्रयोग गरिरहेका हुन्छन् । उनीहरुले आफ्नो विचार भावनालाई सामाजिक सञ्जालहरुको माध्यमबाट राखिरहेको हुन्छ । युथहरुले सरकारलाई वाच गरिरहेको हुन्छ ।

म पनि पेशासँगै सामाजिक कार्यमा सक्रिय छु । हामीले महिला स्वास्थ्य लगायतमा काम गर्नका लागि एउटा संस्था पनि बनाएका छौं । कतैबाट सहयोग ल्याएर भन्दा पनि हामीहरु आफैंले केही उठाएर काम गरिरहेका छौं । सानो मात्रामा भएपनि हामीले महिलाको स्वास्थ्य, महिला शिक्षा लगायका काम गरिरहेका छौं ।

त्यसपछि हामीले पावनसँग वर्तमान सरकारबारे धारण बुझ्ने प्रयास गर्‍यौं । अहिले दुई तिहाइको सरकार रहेको छ, स्थिर सरकार बनेको छ यसबाट केही परिवर्तन भएको छ भन्ने लाग्छ तपाईलाई ?

मैले बुझेसम्म अहिलेको सरकारको मुख्य लक्ष्य भनेको विकास हो । नेपाल विकसित देशमा गनियोस् भन्ने सरकारले लक्ष्य लिएको छ यो राम्रो हो । त्यहि अनुसारका प्रोजेक्ट पनि सरकारबाट आइरहेका छन् ।

जे सुकै भएपनि सरकार देशमा ‘स्टेबल’ हुनुपर्छ । सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुन जरुरी छ । राजनीति गर्नेहरु देश र जनताप्रति ‘ रेस्पोन्सिबल र एकाउन्टेबल’ भएन भने पदमा बस्नुको कुनै अर्थ छैन ।

तपाईले सकारात्मक सोच्नु भयो भने कामहरु पनि सकारात्मक दिशा तिर अघि बढ्छ । केही पनि छैन भन्दै नकारात्मक सोच्दा सम्भावना पनि नकारात्मक हुन्छन् । ओपन र पोजेटिभ सोच्नुपर्छ 

नेपालमा पद ओगट्ने प्रवृत्ति छ । नेपालमा कर्मचारीतन्त्र र राजनीतिमा पद ओगट्ने प्रवृत्ति छ जुन गलत हो । उनीहरुलाई तालिम दिन पर्ने हो कि के हो चाहिँ मलाई थाहा भएन तर यो प्रवृत्ति हटाउनु पर्छ । उनीहरुको सोचाइ कस्तो हुने गरेको पाएको छु भने, म यो पदमा छु त्यसकारण मलाई सबैले आदर गरुन् वा मानुन् भन्ने राजनीति गर्ने र व्यूरोक्रायटहरुले सोच्छन् ।

पद त आज छ भोलि छैन भन्ने उनीहरुले बुझ्न खोज्दैनन् । पद भन्दा पनि देशको लागि के योगदान गरेको छ भन्ने महत्वपूर्ण हो । जसरी कुलमान घिसिङलाई पदका कारण भन्दा पनि उनको कामका कारण मानिसहरुले मानिरहेका छन् । भन्नुको मतलव पोजिशन(पद)मा भएर राम्रो काम गर्‍यो भने सबैले मान्छन् ।

अहिलेको युवाले चाँहि नेता र नेतृत्वबाट केही राम्रो काम अपेक्षा गरेका छन्, जसका कारण उनीहरु स्वयं नै नेताहरुलाई पछ्याउन सक्छन् । जबरजस्ती हामीलाई भोट देउ वा पछि लाग भन्नु पर्दैन । नेपाली राजनीतिमा क्वान्टिटी भयो र क्वालिटी भएन, त्यसलाई नेताहरुले सुधार गर्नुपर्छ ।

सरकारको काम कारवाही हेर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

यसो हेर्दा प्रगति नकारात्मक बाटोमा गएको छ भन्न मिल्दैन । चुनौतीहरु पनि हुन्छ कतिपय अवस्थामा । प्रतिपक्षी पनि छन् । अझ राम्रो कामका लागि सरकार खट्नुपर्ने देखिन्छ । काममा ढिलासुस्त गर्न भएन । मानिसहरुको चुनावअघि गरेको अपेक्षा अनुसार काम भएको छैन तर पनि नकारात्मक बाटोमा भने गएको छैन ।

केहीबेरको पारिवारिक र राजनीतिक कुराकानीपछि हामीले पावनासँग व्यवसायीक र पर्यटनका विषयमा कुरा गर्‍यौं । तीन दशकको उमेरमै पावनाले पाएको महत्वपूर्ण भूमिका बारे हामीले प्रश्न राख्यौं त्यसका लागि पावना इत्थेहादको कन्ट्रि मेनेजरको अवस्थासम्म आइपुग्नु अघि उड्डयन क्षेत्रमा प्रवेशबारे हामीले प्रश्न गर्‍यौं । जसलाई पावनाले यसरी सुनाइन्–मलाई पहिलादेखि नै पर्यटनमा रुची थियो । एसएसलसी सकिएपछिको खाली समयमा शिक्षण पेशामा लागे । त्यस क्रममा भाउजुले गल्फ एयरको कस्टमर सर्भिसमा खाली रहेको र रुची भए आवेदन दिन सुझाव दिनुभयो । आवेदन दिएँ । उहाँले नै मलाई अभिप्रेरित गर्नु भएको थियो । उहाँ अहिले ओमान एयरको स्टेशन म्यानेजर हुनुहुन्छ ।

उहाँको माध्यमबाट म उड्डयन क्षेत्रमा आए । रुची पनि थियो अनि त्यसमा वातावरण पनि बन्यो । कस्टमर सर्भिसमा बढी फोकस भएँ । पढाइ र करियरलाई अघि बढाउँदै लगे ।

हिन्दू कल्चर सबै धर्मको ओरिजिन हो । तर यसलाई मानिसले आफू अनुकुल व्याख्या गरे । त्यसमा अल्झिए । लिमिटेशन धेरै भयो, त्यसमा अल्झिनु भन्दा अगाडि बढ्न जरुरी थियो र छ

शिक्षा र पेशा मेल खाने प्रकृतिको थियो त ?

मेल त खाइहाल्छ शिक्षाले । व्यवस्थापन संकाय अध्ययन गरेको कारण सहयोगी भयो । अर्थशास्त्र, वाणिज्य सबै हुने भएका कारण सम्बन्धित बन्न गयो ।
त्यसपछि हामीले नेपाली समाजका बारेमा कुरा गर्‍यौं । पूर्वीय समाजमा महिलाले रोजगारी गर्ने, खुला खालको व्यहार गर्ने विषयलाई त्यति सहज रुपमा हेर्ने गरिएको छैन, त्यसले केही समस्या ल्याएको अनुभव गर्नुभएको छ भनेर हामीले प्रश्न गर्‍यौं ।

उनको जवाफ यस्तो थियो–पूर्वीय समाज पश्चिमको भन्दा फरक छ । महिलालाई हेर्न दृष्टिकोण फरक छ । तर मैले त्यो महसुस गरिन् । त्यस्तो भएको भए सायद यो पेशामा म हुँदैन थिएँ । म काममा नै फोकस थिएँ त्यसैले पनि यसबारे मैले खासै अनुभव गरिन ।

अहिले नेपाली समाजमा पनि परिवर्तन आएको छ । पश्चिमको प्रभावले कतिपयले नेपाली संस्कार, संस्कृति विर्सदै गएको जस्तो लागेको छैन तपाईंलाई ?

मलाई कस्तो लाग्छ भने परम्परा, संस्कार संस्कृतिलाई पनि साथसाथै लानुपर्छ । त्यो जीवनको एउटा पक्ष हो । तर आधुनिकतालाई पनि सोच्नुपर्छ । आधुनिक समयमा सामाजिक सञ्जाललगायत र विश्वपरिवेशलाई पनि पछ्याउनु पर्छ । आधुनिक भए भन्दैमा मौलिकतालाई विर्सनु हुँदैन । आफ्नो ओरिजिन विर्सनु हुन्न । मोर्डन पनि हुनुपर्छ तर आफ्नो संस्कार संस्कृति विर्सन हुन्न ।

हिन्दू कल्चर सबै धर्मको ओरिजिन हो । तर यसलाई मानिसले आफू अनुकुल व्याख्या गरे । त्यसमा अल्झिए । लिमिटेशन धेरै भयो, त्यसमा अल्झिनु भन्दा अगाडि बढ्न जरुरी थियो र छ । कल्चरलाई अंगालेर नयाँ सोचमा जानुभयो भने समस्या आउँदैन ।

उड्डयन क्षेत्रका बारेमा कुराकानी गरेपछि हामीले नेपालको पर्यटन क्षेत्रका बारेमा केहीबेर मन्थन गर्‍यौं । सरकारले ट्वान्टी/ट्वान्टीमा पर्यटक धेरै ल्याउने कल्पना गरेको छ । वार्षिक ११ लाखको सालाखाला अहिले पर्यटक आगामन छ तर सरकारले झण्डै दोव्वर बनाउने लक्ष्य राखेको छ, सम्भावना कत्तिको देख्नु हुन्छ ? भन्ने प्रश्नमा उनले पर्यटकको संख्या बृद्धि गर्ने सम्भावना रहेको बताइन् । उनले भनिन्–ह्युज पोटेन्सियल छ । नेपालको जस्तो प्राकृतिक वातावरण कतै पनि छैन । वातावरणका हिसावमा विश्वको अन्य देशमा छैन ।

इन्फास्टक्टरले मात्र पर्यटक ल्याउने भन्ने हुँदैन । हामीका भएको प्रकृति र स्वच्छता कायम गर्न सकियो भने पर्यटक आगमन बढाउन सकिन्छ ।

पूर्वाधारबाहेकाका हामीसँग भएका स्रोतहरुलाई मार्केटिङ क्याम्पेनिङ गर्नुपर्छ । जाने क्षेत्रहरुलाई थप गर्नुपर्छ । मानिसहरुको रुचीलाई हेरेर विस्तार गर्नुपर्छ । युवापुस्ताको रुचीलाई हेरेर त्यस अनुसार विस्तार गर्न सकियो भने पर्यटक बढ्न सक्छन् ।

अहिले सरकार स्थिर छ । र टुरिजिमलाई महत्व पनि दिएको छ । यस अर्थमा पनि केही अपेक्षा गर्न सकिन्छ । हवाइ क्षेत्रका भएका कारण हाम्रो कन्सर्न विमानस्थलमा छ । एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको विमानस्थल छ, निजगढको कुरा छ त्यसलाई पनि लग्न सकिन्छ । त्यो त दिर्घकालिन कुरा भयो अब कार्यक्रम घोषणा भइसकेपछि त अहिले भएकालाई कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण हुन्छ । सबै क्षेत्रबीच समन्वय भयो भने यो सम्भव छ । टुरिजिमका स्टेकहोल्डरबीच छलफल भयो भने राम्रो हुन्छ ।

त्यसपछि उनीसँग उनको आगामी योजना बारे प्रश्न राख्यौं । उनले जीवनलाई कसरी सोच्छिन् भन्ने हामीले चासो राख्यौं । उनले भनिन्–
जे कुरा पनि सोचमा नै भर पर्छ । तपाईले सकारात्मक सोच्नु भयो भने तपाईले गर्ने कामहरु पनि सकारात्मक दिशा तिर अघि बढ्छ । केही पनि छैन भन्दै नकारात्मक रुपमा सोच्नु भयो भने सम्भावनाहरुलाई पनि नकारात्मक रुपमा लिनुहुन्छ । ओपन र पोजेटिभ सोच्नुपर्छ । सधै खुसी हुनुपर्छ । सबैलाई सपोर्ट गर्ने व्यवहार गर्नु भयो भने तपाई सुखी हुनुहुन्छ । एक दिन त मर्नै छ, तर अरुका लागि केही गर्न सकियो भने राम्रो हुन्छ ।

युवा पुस्तालाई केही सन्देश छ ?

समय निकै महत्वपूर्ण छ । युवापुस्तामा सामाजिक नेटवर्किङ साइटमा गएर मात्र समय व्यतित गर्ने प्रवृत्ति बढेको छ । त्यसलाई सदुपयोग गर्न आवश्यक छ ।

जे खाएपनि जे लगाएपनि सामाजिक सञ्जालमा राख्नुपर्ने जस्तो खालको ट्रेनलाई कन्ट्रोल गरेर अघि बढ्नुपर्छ । अनप्रोडक्टिभ काममा युवाले समय विताइ रहेका छन् । त्यसैले प्रोडक्टिभ काममा आफ्नो समय विताउनु पर्छ । अहिले प्रतिस्पर्धाको बेला छ त्यसैले अरुसँगैको प्रतिस्पर्धामा आफूलाई कसरी राम्रो बनाउने भन्ने तर्फ लाग्नु आवश्यक छ । आफूले आफ्नो लक्ष्य निर्धारण गरेर त्यस तर्फ लाग्न जरुरी छ ।

अरुले के भन्छ भन्दै नकारात्मक विचार तर्फ लाग्नु भन्दा आफूले के गर्ने भनेर निर्धारण गरेर त्यसको प्राप्तिको लाागि लाग्नुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्दै गयो भने सबै कुरा मिल्दै आउँछ र नकारात्मक विषयलाई पनि सकारात्मक रुपमा सोच्ने बानीको विकास हुन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १० : ०६ बजे

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि