सलिनमानको चाहना - दर्शकले ‘लुक्स’बाट होइन, अभिनयले चिनून् | Khabarhub Khabarhub

सलिनमानको चाहना – दर्शकले ‘लुक्स’बाट होइन, अभिनयले चिनून्



काठमाडौं- शहरमा आधा दर्जन चकलेटी अनुहारका नायकलाई दर्शकले रुचाएका छन् । तीमध्येका एक हुन्, सलिनमान बनिया ।

सिनेमा ‘ए मेरो हजुर २’ उनका लागि डेब्यु सिनेमा थियो । सो सिनेमाले सलिनलाई एकाएक चर्चामा ल्यायो । चकलेटी र केही भिन्न लूकमा देखिएका सलिनमानले रिलिजअघि नै चर्चा कमाइसकेका थिए ।

पहिलो फिल्मबाट राम्रो चर्चा भयो । फिल्म रिलिजसँगै चर्चा गौण हुन थाल्यो । त्यसपछि सलिन एकाएक हराए ।

नयाँ फिल्म खेल्ने मुडमा थिएनन् उनी । किनकि, पहिलो फिल्मले उनलाई यसरी अत्याएको थियो कि, यो क्षेत्रमा फेरि फर्कनै मन थिएन । ‘ए मेरो हजुर २’ बाट राम्रै तारिफ पाएका उनलाई यो तारिफ चाहिनेभन्दा बढी नै लागिरहेको थियो ।

फिल्मकर्मी र दर्शकको अपेक्षाले उनलाई ‘प्रेसर’ दिइरहेको थियो ।

सलिनमान सुनाउँछन्, ‘मलाई पहिलो फिल्मले नै प्रेसर दियो, फिल्मबाट दर्शकको अपेक्षा धेरै भयो, चर्चा पनि भयो ।’

यो उनका लागि प्रेसर मात्र थिएन । आफूले भर्खर हिँड्न सिकेको फिल्मी करिअरका लागि चुनौती पनि थियो । फिल्मबाट अफर त आइरहेका थिए । तर, अहँ ! उनलाई कुनै फिल्मको कथाले चित्त बुझेको थिएन ।

‘मैले त अब फिल्म क्षेत्रमा नफर्कने सोच बनाएको थिएँ, यो क्षेत्रमा फेरि काम गर्छु जस्तो लागेको थिएन,’ सलिनमान सुनाउँछन्, ‘पारिवारिक पृष्ठभूमि पनि त यो क्षेत्रसँग जोडिएको थिएन नि, न कुनै निर्देशक चिनेको थिएँ, न त कोही निर्माता र कलाकारसँग नै मेरो राम्रो चिनजान थियो ।’

न रुचिको क्षेत्र । न त आफूलाई ‘हिरो’ हुने रहर । उनको रहर त बरु बिजनेसम्यान बन्ने थियो । तर, पहिलो फिल्मबाटै उनी रुचाइए । उनी फिल्मको भूमिकामा पनि ‘चुजी’ बने ।

फेसबूकले जुराइदिएको फिल्मी करिअर

सलिनलाई आफू हिरो हुन्छु भन्ने त लागेको थिएन । तर, सलिन नृत्यमा भने सानैदेखि चासो राख्थे । स्कूले बेलादेखि नै साथीभाइहरुसँग मिलेर डान्स गर्थे उनी ।

त्यतिबेला ‘बी बोइङ’ले बजार तताएको थियो । त्यस्ता गीतहरु खुबै सुनिन्थे । स्कूलपछि भने उनका साथीहरु पनि छुटे । प्लस टु पढ्दा पनि डान्स गर्ने रहर मरेको थिएन । फेसबूक चलाउँथे । एक हजार फलोअर्स थिए इन्स्टाग्राममा चाहिँ ।

‘मैले डान्स गरेको दुईवटा भिडियो फेसबूकमा शेयर गरेको थिएँ, झरना दिदी (थापा) ले तिनै भिडियो हेर्नुभएछ र उहाँलाई डान्स गर्नेले अभिनय पनि गर्न सक्छन् भन्ने विश्वास पनि रहेछ ।’, सलिनमानले अभिनय यात्राको सुरुवात यसरी सुनाउँछन् ।

उनले झरना थापाको फिल्मी यात्रा पनि नृत्यबाटै भएको बताए, ‘उहाँ पनि त पहिले डान्सबाटै फिल्म क्षेत्रमा आउनुभएको रहेछ नि ।’

‘ए मेरो हजुर २’ का लागि झरनाले पनि एउटा ‘क्युट’ हिरोको खोजी गरिरहेकी थिइन् । फेसबूकमा शेयर गरेका तस्वीर पनि निर्देशक थापालाई राम्रो लागेर फिल्ममा अफर गरेको सलिन सुनाउँछन् ।

धेरै बोल्दैनन् । मौन बस्छन् सलिन । स्टाइलिस छन् । कतिले उनलाई ‘स्टाइलिस कलाकार’ भन्ने ट्याग लगाइदिन्छन् । तर, सलिनलाई भने दर्शकले ‘स्टाइल’ को कारण होइन कि, अभिनयका कारण चिनून् भन्ने लोभ छ । उनी प्रष्ट पार्छन्, ‘म के चाहन्छु भने मेरो कामलाई लिएर दर्शकले माया गरिदिनुहोस्, स्टाइल त आफ्नो ठाउँमा छ तर म कामको बढी चर्चा होस् भन्ने चाहन्छु ।’

‘ए मेरो हजुर २’ मा के उनको काम दर्शकले मन पराएका हुन् ? उनको साँच्चिकै त्यस्तो धेरै चर्चा भएको हो त ? जबकि, सलिनमान आफूलाई पनि चर्चित कलाकार मान्दैनन् । उनलाई लाग्छ, उनी सिकिरहेका एक सामान्य कलाकार हुन् । जसले बल्ल दुईवटा चलचित्रमा अभिनय गर्ने मौका पाएको छ । सिकाइ निरन्तर छ ।

‘म के चाहन्छु भने मेरो कामलाई लिएर दर्शकले माया गरिदिनुहोस्, स्टाइल त आफ्नो ठाउँमा छ तर म कामको बढी चर्चा होस् भन्ने चाहन्छु ।’

उनले यो ग्ल्यामरमा दुनियाँमा आउनुभन्दा पहिलो फाटफुट मोडलिङ गरिरहेका थिए । तस्वीरहरु खिचिरहेका हुन्थे । फिल्ममा अडिसन दिएपछि भने उनले साम्राज्ञीको अपोजिटमा खेल्नुपर्ने भयो ।

फिल्मको तयारीका लागि उनले वर्कशप गर्नुपर्ने थियो । उनलाई अभिनय सिकाइरहेका थिए बुद्धि तामाङले ।

‘पहिलो फिल्मका लागि बुद्धि दाइले पनि निकै मेहनत गर्नुभयो, त्यतिबेला त मेरो नेपाली पनि प्रष्ट थिएन, हरेक कुरामा मैले उहाँको साथ पाएँ,’ सलिनमान दुई फिल्ममा काम गर्दाको अनुभवलाई तुलना गर्दै भन्छन्, ‘त्यही भएर हुनुपर्छ, दोस्रो फिल्ममा काम गर्दा मलाई धेरै सजिलो भयो, परिपक्वता पनि आयो ।’

एउटा सिनेमा खेलेर उनले जति चर्चा पाएका छन्, त्यो चर्चा आफ्ना लागि पर्याप्त भएको बताउँछन् सलिन । पहिलो फिल्मले उनलाई फ्यान फलोइङ पनि राम्रै दिइरहेको छ । ‘फिल्म क्षेत्रमा के लाग्नु जस्तो लाग्थ्यो तर फ्यानले माया गर्दा खुशी लाग्छ, मलाई सलिन भन्दै चिनेर सेल्फी लिन आउँदा मेरो मुड नै फ्रेस हुन्छ,’ सलिनमानलाई लाग्छ, ‘एउटा फिल्म खेलेर यति धेरै माया पाउनु ठूलो कुरा हो, भित्रैबाट खुशी भइन्छ ।’

भाग्न खोज्दाखोज्दै ‘यात्रा’ मा

सलिनमान भन्छन्, ‘मलाई वाशरुमको समस्या छ, यो क्षेत्रमा वाशरुमको समस्याले ‘ए मेरो हजुर २’ को बेलामा दुःख पाएको थिएँ, यो क्षेत्र नै यस्तै रैछ भन्ने लाग्यो, त्यसैले अर्को फिल्म खेल्ने मन लागेको थिएन ।’

हुन पनि सलिनले अफर आएका धेरै फिल्मको स्किृप्ट ‘रिजेक्ट’ गरेका थिए । तर, ‘यात्रा’ ले उनलाई भगाएन । बरु ‘यात्रा’ मा सामेल गराइदियो ।

‘यो फिल्मको स्किृप्टले यसरी तान्यो कि, मैले रिजेक्ट गर्नै पाइन, दर्शकलाई पनि यो फिल्मले मजाले तान्छ भन्ने लाग्छ ।’, यतिबेला सलिन केही विश्वासका साथ मुस्कुराउँछन् । र, भन्छन्, ‘अझै मेहनत गर्ने मन छ ।’

पैसा कि पारिश्रमिक ?

अहिले बजारमा कलाकारको एउटा फिल्म ‘हिट’ भएपछि सीधै पारिश्रमिकको डिल हुने गरेको निर्माताको गुनासो सुनिने गर्छ । त्यसो त केही फिल्म उद्योग नबुझेका निर्माताले कलाकारको रेट बिगारेको आरोप पनि लगाउने गर्छन् । सलिनमान भने पैसाभन्दा पनि पहिले फिल्म राम्रो बनाउन कम्प्रमाइज गर्नुपर्ने धारणा राख्छन् ।

‘आफूले मेहनत गरेअनुसार पारिश्रमिक त चाहिन्छ, जुन काम गर्दा पनि पैसा पाइन्छ नै, मलाई के लाग्छ भने कलाकारको काम भनेको दर्शकलाई खुशी बनाउने हो, आफूले कडा मेहनत गर्ने हो,’ सलिनमान अगाडि थप्छन्, ‘हामी नै पारिश्रमिकको पछि भाग्न थाल्यौँ भने त हामी कलाकार होइन व्यापारी भयौँ नि हैन र ?’

उनको चाहना हो, ‘आफूले राम्रो फिल्ममा काम गर्न पाइयोस्, दर्शकले कामको तारिफ गरेर सलिन सलिन भनोस् ।’

‘यात्रा’मा सुध्रिएको अभिनय

पहिलो फिल्म आफ्ना लागि पूरै नौलो भएकाले चाहेजति काम देखाउन नपाएको सलिनमान दाबी गर्छन् । उनको दाबी छ, ‘पहिलो फिल्मभन्दा दोस्रो फिल्म अभिनयका हिसाबले अझ सशक्त छ ।’

उनी चाहन्छन्, हरेक नेपाली फिल्म राम्रो बनोस् । फिल्म हेर्ने दर्शकलाई पनि रमाइलो लागोस् । मेहनत गरेर बनाएको फिल्म हेर्न हलमा दर्शक आउनुभएन भने साह्रै दुःख लाग्छ ।

उनका अनुसार यो फिल्ममा उनले सक्दो मेहनत गरेको बताउँछन् । मन पराउने दर्शक त छन् नै । मन नपराउने दर्शकको मन जित्न चाहन्छन् उनी ।

तर म हार मान्दिन

सलिनमानलाई ‘यात्रा’ मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’ रिलिज भएपछि केही फ्यानले गाली पनि गरे । यो गीत बिगारेको भन्दै फ्यानले गालीसमेत गरे । सलिनमान भने नयाँपन गर्न खोज्दा केही दर्शकलाई मन नपरेको बताउँछन् ।

‘हामीले यो गीतलाई नयाँ तरिकाले ल्याउन खोजेका थियौँ, दर्शकलाई मन परेन तर म हार मान्दिन,’ उनी सुनाउँछन्, ‘गीत मन परेन भन्ने पनि हुनुहुन्छ तर गीत मन पराएर लाइक गर्ने पनि हजारौँ हुनुहुन्छ, म त्यसलाई पनि ख्याल गर्छु ।’

आफ्नो सधै चाहना दर्शकको चित्त बुझाउने रहेको र कहिलेकाहीँ कलाकारले गर्न खोजेको काम दर्शकलाई मन नपर्ने उनी स्वीकार्छन् । शायद, ‘चट्ट रुमाल क्या मालुम’ पनि एउटा प्रयोग थियो ।

म भर्खर आएको कलाकार हुँ

भलै सलिनमान एउटै फिल्ममा अभिनय गरेका छन् तर उनलाई ठूलो दर्शक समूहले चिन्छन् । ‘मास अडियन्स’मा पुगिसकेका छन् । पहिलो फिल्मले नै दिएको तारिफले सलिनमानलाई सकस पनि बनाएको थियो । अहिले भने उनलाई दर्शकको चित्त बुझाउनमा ध्यान छ । निकै मेहनत गर्न चाहन्छन् अभिनयमा ।

अभिनयमा मात्र होइन कि, उनी गेटअपमा पनि चेन्ज गर्न खोजिरहेका छन् । हरेक फिल्ममा उनी फरक देखिने प्रयासमा हुन्छन् ।

‘फिल्म चल्ने त स्टारडमभन्दा पनि कन्टेन्टले नै हो, पहिलो दुई दिन स्टारडमले चल्ला तर त्यसपछि कथा राम्रो छैन भने फिल्म चल्दैन ।’, सलिनमानको बुझाइ छ ।

उनी बलिउड अभिनेता सलमान खानकै फिल्म पनि राम्रा नभए नचल्ने उदाहरण दिँदै सुनाउँछन्, ‘फिल्म चल्ने भनेको दर्शकको रिभ्यु आएपछि हो, राम्रा फिल्मलाई दर्शकले आफै प्रचार गर्नुहुन्छ ।’

तुलनात्मक रुपमा उनले अहिले चर्चामा रहेका कलाकारको तुलनामा सलिन नयाँ भएकाले आफूलाई पछिल्लो पङ्क्तिमा राख्ने गरेको बताउँछन् सलिन । तर, उनी आफूले दर्शक तथा मिडियाले तुलना नगरिदिए हुन्थ्यो भन्ने चाहना रहेको बताउँछन् । भन्छन्, ‘म चलेका कलाकारभन्दा पछाडि छु झैँ लाग्छ, बल्ल एउटा फिल्म खेलेको नयाँ कलाकार हुँ, अर्को कुरा त मलाई कसैसँग प्रतिस्पर्धा गर्नु छैन, आफ्नै मेहनतले काम गर्नु छ ।’

फिल्मका लागि ‘कडा’ मेहनत

दोस्रो फिल्मसम्म आइपुग्दा सलिनमानले फिल्मका लागि कडा मेहनत गरेको बताउँछन् । फिल्मकै लागि भनेर आफ्नो स्टाइलमा हल्का चेन्ज ल्याएका थिए । तर दर्शकले मन पराएको लूक पनि नबिग्रियोस् भनेर उत्तिकै सचेत थिए । फिल्म हेर्ने दर्शकलाई पनि यो फिल्म मन परोस् भनेर निर्माण टिमले नै कडा मेहनत गरेको सलिन बताउँछन् ।

‘फिल्ममा लगानी पनि धेरै छ कि, हामीले स्तरीय सिनेमा बनाउन हरेक पक्षबाट प्रयास गरेका छौँ, दर्शकको टेस्टअनुसार एक्सन पनि फिल्ममा छ,’ सलिन दर्शकलाई आग्रह गर्छन्, ‘एउटा चेतनामूलक कथा पनि समेटेका छौँ, अरुलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश पनि दिन्छ ।’

अन्त्यमा प्रेमको बारेमा प्रश्न गर्दा भने उनी बोल्नै खोजेनन् । फिस्स हाँस्दै भने, ‘अरु कुरा गरौँ न हुन्न ? मिडियामा प्रेमका कुरा मात्रै त कति गर्नु ? तपाईँसँग कुरा गर्दा केही नयाँ होस् न ।’

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : ५४ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना

सार्वजनिक लेखा समितिका सदस्यले गरे हुलाकी राजमार्गको अनुगमन

वीरगञ्ज–  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत

सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ

काठमाडौं– स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री