बाइडेनको विजयका सूत्रधार ओवामा ! | Khabarhub Khabarhub

बाइडेनको विजयका सूत्रधार ओवामा !


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति पदमा विजयी गराउन पर्दापछाडिका रणनीतिकार हुन् पूर्वराष्ट्रपति बाराक ओवामा ।

ओवामाको दुवै राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेर उनको विश्वास जितेका बाइडेनले ओवामाको साथ नपाएको भए सम्भवतः अन्तरपार्टी प्रतिस्पर्धाबाटै धेरै अघि नै बिदा हुनुपर्थ्यो ।

अमेरिकी राजनीतिक परम्परामा अवकाशपछि राष्ट्रपति कुनै राजनीतिक भूमिकामा रहँदैनन् । सेवानिवृत्त राष्ट्रपतिहरू पुस्तक लेख्ने, कलेज तथा विशेष समारोहहरूमा भाषण गर्ने, आफ्नो नाममा पुस्तकालय र संग्रहालय बनाउने जस्ता काममा लाग्छन् । परिवारसँग आनन्दको जीवन बिताउँछन् ।

ओवामा पनि ह्वाइट हाउसबाट बिदा भएसँगै आनन्दले जीवन बिताउने योजनामा थिए । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो सम्भावित उत्तराधिकारी हिलारी क्लिन्टनको नाटकीय हार र राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आश्चर्यजनक विजयले ओवामाको राजनीतिक सक्रियतामा विश्राम लिने योजना रोकिदियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावले ओवामालाई राजनीतिको ठूलो झड्का दियो । ट्रम्पको उदयसँगै वाम झुकाब राख्ने कट्टरपन्थी डेमोक्रेट या कट्टरपन्थी रिपब्लिकनले अमेरिकी राजनीतिक मूल्यमान्यता नै अपहरण गर्नसक्ने भयले ओवामा अन्य राष्ट्रपतिभन्दा अपवाद बनेर रहे ।

ट्रम्पको विजयसँगै अमेरिका र विश्वभर विनाशकारी धक्का पुग्न थालेपछि ओवामाको सक्रियता बढ्यो । ओवामाकालका कयौँ महत्वपूर्ण विदेश नीतिमा रोकावट हुँदा र अन्तर्राष्ट्रिय सम्झौताहरूबाट अमेरिका बाहिरिँदा अन्तर्राष्ट्रिय जगतमा अमेरिकी नेतृत्वमात्रै गुमेन, अमेरिकाको विश्वसनियता पनि गुम्यो ।

ह्वाइट हाउस छोडेसँगै ओवामा ट्रम्पको अराजक प्रशासनमा ब्रेक लगाउने रणनीतिमा लागे जुन सन् २०१८ को मध्यावधि निर्वाचनमा अमेरिकी सदन/सिनेट र २०२० को राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवारलाई जिताउने अभिप्राय थियो ।

सन् २०२० मा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका लागि २९ जनाले अन्तरपार्टी उम्मेदवारी घोषणा गरेका थिए ।

यतिधेरै आकांक्षीहरूको दौड आधा शताब्दी यता अमेरिकी इतिहासमा कहिल्यै देखिएको थिएन । सबै आकाङ्क्षीहरू अन्तरपार्टी विजयका लागि जम्मा ३९७९ मतमध्ये निर्णायक मतमा पूर्वराष्ट्रपति ओवामाले प्रभाव पार्न सक्छन् भन्ने बुझाइले उनको समर्थन खोजिरहेका थिए ।

ओवामा डेमोक्रेटिक पार्टी र सम्भाव्य नयाँ युवा मतदाताहरूमा मार्गदर्शक राजनेता बनिसकेकाले पार्टीका आकाङ्क्षी नेताहरूले दौडधुप गरेर ओवामाको आशीर्वाद लिन हतारो गरेका थिए । ओवामा अन्तरपार्टी प्रतिस्पर्धामा खुलेर नदेखिए पनि सावधानीका साथ आफ्नो संयन्त्र चलाइरहेका थिए ।

अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेन र कमला ह्यारिस ।

बाइडेन पछिल्लो दशककै सबैभन्दा धेरै महिला तथा प्रभावशाली प्रतिस्पर्धीलाई पछि पारेर झण्डै २ हजार डेमोक्रेटिक प्रतिनिधिको मत सुरक्षित गर्दै पार्टीको राष्ट्रपतीय उम्मेदवार बन्न सफल भए । कोरोना भाइसरको महामारी, कठिन अर्थतन्त्र, बढ्दो बरोजगारी र नागरिक आन्दोलनको पृष्ठभूमिमा अघि बढिरहेको चूनौतीपूर्ण आन्तरिक चुनावमा पर्दापछाडिबाट ओवामाको प्रभावले बाइडेन पार्टीको उम्मेदवार बने ।

ट्रम्पलाई सत्ताच्युत गर्न सन् २०१६ देखि नै कटिबद्ध ओवामा आफ्नै निकटस्थ उम्मेदवार बाइडेनलाई जिताउन सम्पूर्ण रणनीति र संयन्त्रसँगै आफै मैदानमा उत्रे ।

अमेरिकी राजनीतिमा ४८ वर्षदेखि सक्रिय बाइडेनको आफ्नै इतिहास, महत्व र विभिन्न पदहरूको जिम्मेवारी समालेको अनुभव भए पनि मतदाताको मानसिकता हेरेर अघि बढ्ने ट्रम्पको आक्रामक प्रचारको सामना गर्नसक्ने क्षमता भने थिएन ।

ट्रम्पलाई सत्ताच्युत गर्न सन् २०१६ देखि नै कटिबद्ध ओवामा आफ्नै निकटस्थ उम्मेदवार बाइडेनलाई जिताउन सम्पूर्ण रणनीति र संयन्त्रसँगै आफै मैदानमा उत्रे । डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी बाइडेन भए पनि पर्दापछाडिको सम्पूर्ण रणनीतिकार भने ओवामा नै थिए ।

ओवामा डेमोक्रेटमा मात्र नभएर तटस्थ मतदाताहरूका बीचमा पनि धेरै लोकप्रिय नेता हुन् । उनले अन्य नेताको तुलनामा अझै पनि राजनीतिक माहोल तताउन सक्छन् । भाषणले धेरैलाई आकर्षण गर्न सक्छन् । ओवामाले आफ्नो राजनीतिक कला, अनुभव, सामाजिक सञ्जाल, मिडिया र सामथ्र्य निकै सावधानिका साथ प्रयोग गरे ।

सामाजिक सञ्जाल र मिडियामा आफू सिधै नजाने र मतदाताका बीचमा जाने रणनीति बनाए । यसो गर्नुमा उनको रणनीतिक राजनीतिक उद्देश्य लुकेको थियो । राष्ट्रिय टेलिभिजन र ठूलो सभामा जाँदा ट्रम्पको निशानामा पर्ने र बाइडेनको अभियानमा अप्ठेरो पर्ने भयका कारण उनी मतदाताका बीचमै माहोला सिर्जना गर्ने अभियानमा लागे ।

लापरवाही ढङ्गले चलिरहेको ट्रम्पको चुनावी अभियान चीन र ओबामाका नीतिहरूको चर्को आलोचनामा केन्द्रित थियो । ट्रम्प ओवामाले चीनलाई रोक्न नसक्दा अमेरिका सङ्कटमा परेको सन्देश प्रवाह गरिरहेका थिए । ओवामा कार्यकालमा अमेरिकी महानतामाथि प्रहार भएको भन्दै ओवामाका नीतिहरू उल्टाइरहेका थिए ।

ट्रम्पको विपरीत ओवामा खासगरी असन्तुष्ट रिपब्लिकन कार्यकर्ताहरूलाई हातमा लिने अभियानमा सावधानीपूर्वक लागे । उनी ट्रम्पको ध्यानाकर्षण गर्नेतर्फ नजानुमा अर्को कारण ट्रम्पको आक्रामक रबैया र गालीगलौजले आफ्नो उत्तराधिकारी बाइडेनको चुनावी यात्रा कमजोर नहोस् भन्ने थियो ।

ओवामाले बाइडेनलाई समर्थन गरेको भिडियो सामाजिक सञ्जालमा २ करोड ६० लाखभन्दा बढीले हेरेसँगै २५ लाख अमेरिकी डलर आम्दानी भएको थियो । ओवामाको चुनावअघि नै बाइडेनलाई भोट गर्न आह्वान गरेको भिडियो सन्देशले २ करोड ५० लाखलाई अग्रिम मतदानमा प्रेरित गरेको थियो ।

उनले पार्टीको भोटिङ रजिस्ट्रेसनका लागि स्न्यापच्याटबाट जारी गरेको भिडियो सन्देश २ हप्ताभित्रै ५ करोड ७० लाखमा पुगेको मात्र थिएन, पार्टीले २० हजार नयाँ मतदाता प्राप्त गरेको थियो । त्यस्तै, चुनावको दिनभन्दा अघि मत हाल्न आह्वान गरेको सन्देश १ करोड २० लाख अमेरिकीले हेरे । यसबाट पार्टीले २० हजार नयाँ मतदाता प्राप्त गर्‍यो ।

ओवामाले बाइडेनको चुनावी अभियानलाई नयाँ गति र ऊर्जा दिए । सामाजिक सञ्जाल, भिडियो सन्देश, र्‍याली, म्यासेज र टेलिफोनमार्फत बाइडेनको पक्षमा माहोल बनाए । यस अभियानले चुनावका लागि चन्दा पनि सङ्कलन गर्‍यो ।

ओवामाले आफ्नै तरिकाले चुनावी अभियानका लागि विभिन्न राज्यहरूमा कार्यालय सञ्चालन गरेका थिए । यसले चुनावी अभियानमा नयाँ ऊर्जा ल्यायो । बाइडेनको अभियानलाई साथ दिन ओवामाले वासिङ्टनमा खोलेको चुनावी अभियानको कार्यालय सामाजिक सञ्जालमा खोजेर हेर्नेको संख्या ३ दिनभित्रै २ करोड ५० लाख पुगेको थियो । बाइडेनको चुनावी अभियानमा सहयोग गर्ने भन्दै ४० हजारभन्दा बढीले आवेदन हाले ।

ओवामाले बाइडेनको चुनावी अभियानलाई नयाँ गति र ऊर्जा दिए । सामाजिक सञ्जाल, भिडियो सन्देश, र्‍याली, म्यासेज र टेलिफोनमार्फत बाइडेनको पक्षमा माहोल बनाए । यस अभियानले चुनावका लागि चन्दा पनि सङ्कलन गर्‍यो ।

ओवामामार्फत सङ्कलित रकम बाइडेन प्रत्यक्ष सहभागी भएको भन्दा धेरै भयो । ओवामा आफैँले मतदाताहरूलाई टेलिफोन गरेर बाइडेनलाई मतदान गर्न आग्रह गरे । उनले तटस्थ तथा व्यावसायिक संस्थाहरू पनि परिचालन गरे ।

ओवामाले उत्साही भिडहरूलाई ऊर्जा दिए । आफ्नै सक्रियतामा साना दाताहरूबाटै १० करोड अमेरिकी डलरभन्दा बढी चन्दा बाइडेनलाई संकलन गरिदिए । उनले रणनीतिक रूपमै रिपब्लिक बाहुल्य क्षेत्रहरूमा आफ्नो सक्रियता बढाए । जस्तै, जर्जिया लगायतका क्षेत्रमा मतदाताको मानसिकता बुझी ट्रम्पसँग टाढा बनाउने अभियान चलाए । यो रणनीति धेरै हदसम्म सफल भयो ।

शिकागो लगायतका शहरहरूमा ओवामाको टेलिफोन र म्यासेजले धेरै युवाहरूलाई डेमोक्रेटिक पार्टीमा मतदान गर्न अभिप्रेरित गरेको थियो ।

ट्रम्पले आफ्नो कार्यकालमा भएका सम्पूर्ण अनुसन्धानको पर्दापछाडि ओवामा रहेको, राज्यका संयन्त्रहरू आफूविरुद्ध प्रयोग गरेको, गुप्तचरनिकायहरू प्रयोग गरी आफूलाई काम गर्न नदिएको ठानेका थिए । ट्रम्पलाई ओवामाको बाह्य नेताहरूसँगको सम्बन्ध र चर्चा पनि मन परेको थिएन । त्यसैले उनले ओवामा कार्यकालका धेरै बहुराष्ट्रिय सम्झौताहरूबाट अमेरिकालाई हटाए ।

राष्ट्रपतिमा निर्वाचित बनेपछि खुशी मुद्रामा जो बाइडेन । तस्वीर-रोयटर्स ।

ट्रम्प आफ्ना पूर्ववर्ती ओवामाले आफूविरुद्ध वैमनस्य राखेकैले चुनावमा रुसी संलग्नता र त्यसपछिको सम्पूर्ण गतिविधिमा ओवामाको हात रहेको देख्थे । ट्रम्पले धेरैपटक ओवालाई सार्वजनिक बदनाम गर्ने र तुच्छ टिप्पणी लेख्ने गरिरहे । ओवामा भने ट्रम्पसँग सार्वजनिक जुहारीमा आएनन्, बरु चुनावबाटै पदच्युत गराउने मौका कुरिरहे ।

ट्रम्पको इरान आणविक सम्झौता, पेरिस वातावरण सम्झौतामा ओवामा वक्तव्यवाजीमा पनि उत्रेनन् । सामाजिक सञ्जालमा सार्वजनिक झगडा गरेनन् र प्रतिक्रिया पनि दिएनन् ।

यसपटकको चुनावमा पनि ट्रम्पले ओवामा आफूलाई हराउन सक्रिय हुन्छन् भन्ने त ठानेका थिए तर त्यो सफल नहुनेमा विश्वस्त थिए । उनी बाइडेनसँग भन्दा ओवामासँगै त्रस्त थिए ।

ट्रम्प आफू निर्वाचित भएदेखि नै ओवामाको लोकप्रियता र राज्य संयन्त्रमा उनको पकडले विचलित थिए । ट्रम्प युरोपेली साझेदारहरूसँग पनि ओवामाको जस्तो व्यक्तिगत सम्बन्ध नबन्नुमा पर्दापछाडि ओवामाले नै खेलिरहेको ठान्थे । आफ्नो निर्णय साझेदारहरूले नमान्दा पनि ओवामालाई नै सहयोग गरेको बुझ्थे ।

ट्रम्पले कार्यकाल समालेको सुरुवातदेखि नै उनले ओवामासँग विवादास्पद व्यवहार गर्न थाले । आफूप्रति बफादार हुन गरेको आग्रह अस्वीकार गरेपछि ओवामाले नियुक्त गरेका एफबीआई प्रमुखलाई हटाइदिए । ओवामानिकट नेताहरूको अन्य देशहरूको भ्रमणमा समेत आफूविरुद्ध षड्यन्त्र भएको ठान्थे । खासगरी फ्रान्स, जर्मनी र क्यानाडाले बेवास्ता गर्नुमा ओवामाको भूमिका देख्थे ।

विचारधारा र स्वभाव फरक भए पनि पूर्वराष्ट्रपतिलाई सम्मान गर्ने चलन पनि ट्रम्पले अन्त्य गरिदिए । राजनीतिक संस्कार धुमिल पारिदिए । रिपब्लिक राष्ट्रपति जर्ज बुशले आफ्नै बुबालाई चुनावमा हराउने डेमोक्रेटक राष्ट्रपति बिल क्लिन्टनको राहत वितरणमा साझेदारी गरेका थिए । क्लिन्टनसँग व्यक्तिगत सम्बन्ध राम्रो बनाउने र सम्मान गर्ने गरिरहे ।

ओवामाले बुशका धेरै नीतिहरू परिवर्तन गरे । उनको इराक र अफगान युद्ध मन पराएनन् । अमेरिकी आर्थिक संकट निम्तिनुमा दोषी महसुस गरे तर सार्वजनिक रूपमा कहिल्यै व्यक्त गरेनन् । बरु केही राय नै लिइरहे ।

ओवामाको लोकप्रियता मन नपराउने ट्रम्पले लामो समयदेखि व्यक्तिगत इख लिइरहेका थिए । सन् २०१० मा ट्रम्पले ओवामा अमेरिकामा जन्मेका होइनन्, उनको जन्मको प्रमाणपत्र चाहियो भन्दै अभियान चलाएका थिए । सन् २०११ मा ओवामाले ट्रम्पसहितलाई निम्ता गरेको भोजमा ट्रम्पको खिल्ली उडाइदिए । सबैका अगाडि खिल्ली उडाएको झोँकमा ओवामासँगको ट्रम्पको इगो बढेर गयो अनि आफू राष्ट्रपति बन्ने अभियानमा सामेल भए ।

यसपटकको चुनावमा पनि ट्रम्पले ओवामा आफूलाई हराउन सक्रिय हुन्छन् भन्ने त ठानेका थिए तर त्यो सफल नहुनेमा विश्वस्त थिए । उनी बाइडेनसँग भन्दा ओवामासँगै त्रस्त थिए । मौका कुरिरहेका ओवामा यसपटक ट्रम्पसँग राम्रै बदला लिन सफल भए ।

ओवामाकै रणनीतिक सक्रियतामा ट्रम्प अमेरिकी इतिहासमा दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालका लागि चुनाव गुमाउने तेस्रो राष्ट्रपति बन्न पुगे । चुनावी अभियानमा मात्र होइन, आफ्नो कार्यकालभरि नै ट्रम्पले ओवामाका नीतिहरू उल्टाउने र उनलाई अपमान गर्ने काम गरेका थिए । यसको राजनीतिक बदला लिन ओवामा निकै सक्रियताका साथ लागेका थिए ।

चार वर्षको अथक प्रयासपछि ओवामाले आफ्नो उम्मेद्वारलाई जिताएर ट्रम्पको अङ्हकार र आडम्बर ध्वस्त बनाइदिए । बाइडेनको आगमनसँगै ओवामा आफ्नै पदचापमा नयाँ प्रशासन चल्ने र उल्टिएका उनका नीतिहरू पुनस्थापित हुनेमा ढुक्क भएका छन् ।

को हुन कमला ह्यारिस ?

संयुक्त राज्य अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित भएसँगै कमला ह्यारिसको नाम अहिले विश्वमै चर्चामा छ ।

कमलाकी माता भारतीय (तमिलनाडु) हुन् भने पिता अफ्रिकन (जमैका)। तर, उनको मातापिता अमेरिकामा बसोबास गर्न थालेको लामो समय भइसकेको छ र उनको जन्म नै अमेरिकामा भएको हो।

सन् ६० को आरम्भदेखि नै उनका मातापिता अमेरिका बस्न थालिसकेका थिए।

बाइडेनले एक दक्षिण एशियालीमूलकी अश्वेत महिलालाई आफ्नो दलको उम्मेदवार बनाएपछि अमेरिकामा अनेकखालका अड्कलबाजी भएका थिए। यतिसम्म भन्न थालिएको थियो कि, कमलाका कारण नै बाइडेन मजबुत हुँदै गएका छन्।

५६ वर्षीया कमला अमेरिकी राजनीतिमा नयाँ नाम भने होइन।

उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइसकेकी छन् भने अहिले सांसद छिन्। त्यतिमात्र होइन, उनलाई एक प्रखर वक्ता, प्रतिभाशाली महिला, चामत्कारिक व्यक्तित्वकी धनी, सार्वजनिक र सामयिक मामिलामा मजबुत पकडका साथै आफ्ना तर्कले विपक्षीलाई सहजै परास्त गर्न सक्ने पात्रका रूपमा समेत हेरिन्छ।

कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएपछि कमला र उनकी बहिनी माया दुवै जना आमासँगै हुर्किएका हुन । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरिन ।

कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताएकी थिइन । तर उनी गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिइन ।

राष्ट्रपतिको उम्मेदवारको दाबीबाट पछि हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिइन ।

त्यस क्रममा पनि उनी चर्चामा आइन । उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गरेकी थिइन । ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला हुन ।

श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लैजाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेकी छिन ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ५ : ०४ बजे

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी– झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र

फुलहामसँग चेल्सी पराजित

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो

रवि लामिछानेको बयान आज पनि

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना