‘खेलको लय समात्न ५ महिनाभन्दा बढी लाग्छ’ « Khabarhub

‘खेलको लय समात्न ५ महिनाभन्दा बढी लाग्छ’



काठमाडौं- खेलाडीसँगै जोडिने अर्को शब्द हो खेलस्थल । तर, नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीले त्यसलाई नकारिदिएको छ । पछिल्लो ४ महिनादेखि खेलाडीहरु चौखटमा सीमित भए ।

सरकारले चैत ११ गतेदेखि कोभिड १९ को जोखिम कम गर्न भन्दै सामाजिक दूरी कायम गर्न लकडाउन लगाएको छ । जुन अन्तिम पटक बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ सम्म पुर्‍याएको छ ।

मैदानमा हुनु पर्ने खेलाडी घरमा सीमित हुँदा हुँदा अब बिस्तारै खेल्नै बिर्सने त होइनन् भन्ने चिन्ता खेल जगतमा सुरु हुन थालेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने बिस्तारै लकडाउन खुकुलो हुँदै जाँदा खेलाडी अभ्यासमा फर्किइसकेका छन् ।

तर, नेपालमा भने सरकारले आधिकारिक रुपमा अहिलेसम्म खेलाडीका लागि कुनै तयारी नै गर्न सकेको छैन । संघहरु पनि सरकारको निर्देशन पालना भन्दै कुनै काम गरेका छैनन् ।

अब लकडाउन बढ्दै जाँदा खेलाडीहरु आफै सचेत भएर आफूलाई पायक पर्ने ठाउँमा अभ्यासमा जान थालेका छन् । तीन महिना कोठाभित्रै बस्दा दिग्दार लागेपछि भारत्तोलनकी खेलाडी सञ्जु चौधरी पनि घर नजिकैको क्लबमा जीम गर्न थालेकी छन् ।

सञ्जुमात्रै होइन् धेरै खेलाडीहरु अहिले आफ्नो घर नजिक वा केही समय हिडेर पुगिने ठाउँसम्म भएपनि अभ्यासमा जान थालेका छन् ।

‘तीन महिना घरमा बस्दा निकै अफ्ठ्यारो भयो । सुरुमा त आराम गर्न पाइन्छ भन्ने थियो । तर, लकडाउन लम्बिइ रह्यो,’ सञ्जुले भनिन् । स्रोह्रखुट्टे बस्ने सञ्जुले सुरुमा आफ्नो घर छेउ रहेको जिम खुला छ भन्ने पनि जानकारी पाएकी थिइनन् ।

तर, एक दिन सामान किन्न बाहिर निस्किएको समयमा क्लब खुला देखेपछि उनी जीम जान सुरु गरेको बताउँछिन् ।

‘घरमा बस्दा बस्दा दिक्क लागिसकेको थियो । एक दिन सामान किन्न बजार निस्किएकी थिँए । त्यतिबेला जिम खुलेको थाहा पाएँ । अनि जिम जान थालेँ,’ उनले भनिन् ।

मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी सञ्जु अब जसरी भएपनि अभ्यास सुरु गर्नु पर्ने बताउँछिन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि अनौपचारिक रुपमा खेलाडीलाई अभ्यासमा फर्काउन संघलाई आग्रह गरिरहेको छ । तर, संघहरु आधिकारिक पत्र नआएको भन्दै लकडाउनलाई बाहना बनाएर बसिरहेको आरोप लाग्न थालेको छ ।

सञ्जु र कमला महर्जन भारत्तोलनबाट टोकियो ओलम्पिकका लागि वाइड कार्ड इन्ट्रिमा सिफारिसमा परेका खेलाडी हुन ।

ओलम्पिकमा राम्रो गर्ने लक्ष्य

कोरोना भाइरसकै कारण टोकियो ओलम्पिक एक वर्षपछि धकेलिएको छ । तर, भाइरसको जोखिम कम नहुँदा टोकियो ओलम्पिक हुने नहुने अन्योल नै छ । यद्यपी खेलाडीहरु ओलम्पिककै लागि भएपनि अभ्यास सुरु गर्नु पर्ने माग गरिरहेका छन ।

भारत्तोलनबाट ओलम्पिकको वाइल्ड कार्ड इन्ट्रिका लागि सञ्जु र कमलाको नाम सिफारिस भएको छ । ओलम्पिक लक्षित भए पनि अभ्यास सुरु गर्नु पर्ने सञ्जु बताउँछिन् ।

‘लकडाउन खुले पनि नखुले पनि हामी दुई जनालाई अभ्यास गराइ दिए हुन्थ्यो । ओलम्पिकमा नाम पठाइएको छ । हामी सुरक्षित साथ अभ्यास गथ्यौं,’ सञ्जुले भनिन् ।

सञ्जुले समय समयमा ओलम्पिकको तयारीमा रहेका भारत, दक्षिण कोरिया र चीनमा आफ्ना साथीहरुसँग कुरा पनि गर्छिन । उनीहरु लकडाउनपछि अभ्यासमा फर्किइसकेका छन् भने सञ्जुलाई पनि भाइरस जोखिमका सामग्रीको सहायतामा अभ्यासमा फर्किन सुझाइ रहेका हुन्छन् ।

‘विदेशी साथिहरुसँग कुरा भइरहेको हुन्छ । उनीहरु अहिले अभ्यास सुरु गरिसकेका छन् । मलाई पनि अभ्यास सुरु गर्न भनिरहेका हुन्छन्,’ सञ्जुले भनिन् ।

क्रिकेट छाडेर भारत्तोलनमा

स्कुल पढ्दा खेलकुदमा रुचि राख्ने सञ्जु एथलेटिक्स र क्रिकेट पनि खेल्थिन् । उनले एथलेटिक्समा २ सय मिटरको दौडमा पदक पनि जितेकी थिइन् । त्यस्तै, क्रिकेटको त चार–पाँच वटा राष्ट्रिय प्रतियोगिताहरु नै खेलेको उनी बताउँछिन् । महिला क्रिकेटको विकासको कुरा गर्दा नेपालगञ्ज सबैभन्दा पहिलो नम्बरमा आउँछ ।

त्यहिँ ठाउँमा क्रिकेट सिकेकी सञ्जु कुनै समय नेपाली राष्ट्रिय महिला क्रिकेट टीमबाट नेपालको प्रतिनिधित्व गर्ने सपना देखेकी थिइन । तर, राष्ट्रिय टोलीको अन्तिम १८ भन्दा माथि पर्न नसकेपछि सञ्जुले क्रिकेट खेल नै छाडेर भारत्तोलनलाई आत्मसाथ गरिन् ।

‘मलाई लाग्छ, म राम्रो क्रिकेट खेल्थे । तर, राष्ट्रिय टोलीको अन्तिम १८ भन्दा माथि पर्न नसकेपछि खै किन हो मलाई क्रिकेटमा फर्किन मन लागेन,’ क्रिकेट छाड्नुको कारण सुनाउँदै सञ्जुले भनिन्, ‘रंगशाला गइरहेका हुन्थ्यौं । क्रिकेट खेल्दा पनि हप्तामा एक दिन वेट टेनिङका लागि जान्थ्यौं । तर, एसएलसी पछि भने म भारत्तोलनमै लागे । सुरेन्द्र गुरु (सुरेन्द्र हमाल)ले भारत्तोलनमा लाग्न प्रेरित गर्नु भएको ।’

सञ्जुलाई खेल्न क्रिकेट कि भारत्तोलन सजिलो भन्दा उनी हाँस्दै भन्छिन्, ‘…सजिलो त क्रिकेट छ भनुम । तर, अहिले भारत्तोलन मन पर्छ ।’

सञ्जुले किन भारत्तोलन भन्दा क्रिकेट सजिलोलाई स्पष्ट पार्ने कोसिस गर्दै भनिन्, ‘टिम गेममा एक जनाले राम्रो गरेर हुँदैन । टिम इर्फोट चाहिन्छ । तर, भारत्तोलनमा आफुले राम्रो गर्न सकेपनि पुग्छ ।’

अहिलेसम्मको नतिजामा सन्तुष्ट

सञ्जुले भारत्तोलनको यात्रा सुरु गरेको धेरै समय भएको छैन । २०७२ सालपछि मात्रै भारत्तोलनमा लागेकी उनी अहिलेसम्मको आफ्नो खेल यात्रा सुखमय रहेको बताउँछिन् ।

अहिलेसम्म सञ्जुले नेपालका लागि जुनियर र सिनियर गरी ६ वटा प्रतियोगिता मात्रै खेलेकी छन । जसमा दुई पटक जुनियर च्याम्पियनसिप, कोरियामा भएको इन्टर क्लब एसियन गेम, चीनमा भएको ओलम्पिक छनोट र १३ औं दक्षिण एसियाली खेलकुद गरी ६ प्रतियोगिता खेलेकी छन् ।

१३ औं सागमा नेपाललाई भारत्तोलनमा स्वर्ण जिताउँदै कीर्तिमान बनाएकी छन । यसअघि भारत्तोलनमा कुनै पनि खेलाडीले स्वर्ण पदक हात पार्न सकेको थिएन ।

‘अहिलेसम्मको खेल यात्रामा सन्तुष्ट छु । मेहनत पनि गरिरहेकी छु । शरीरले साथ दिएसम्म राम्रो गर्ने लक्ष्य छ । अबको पहिलो लक्ष्य ओलम्पिकमा नेपाललाई राम्रो नतिजा दिलाउने हो,’ सञ्जुले भनिन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  २ : ०० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि