आलुको जोन क्षेत्रमै आलुको सङ्कट « Khabarhub

आलुको जोन क्षेत्रमै आलुको सङ्कट


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ ।

यसरी उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याउन कार्यक्रम लक्षित गाउँ र यहाँका किसान पनि उत्साहित थिए तर, बागलुङमा यसपटक आलुको जोनको रुपमा पहिचान गरिएका ठाउँमा नै उत्पादनमा भारी ह्रास आए पछि स्थानीय कृषक चिन्तित छन् । अहिले आलुको जोनमै आलुको सङ्कट भएको स्थानीय बताउँछन् ।

बागलुङको ताराखोला, ढोरपाटनलगायत क्षेत्र आलु उत्पादनका लागि निकै उर्बर मानिन्छ । जिल्लाको अधिकांश दुर्गम तथा उच्च पहाडी भेगमा आलु निकै स्वादिष्ट मानिने भएकाले बजार माग उच्च छ । बागलुङमा छवटा आलुका जोन क्षेत्र छन् ।

जसमध्ये ताराखोला र ढोरपाटनको आलु नेपालभर प्रख्यात छ तर, यस वर्ष आलु उत्पादनमा भारी गिरावट आएपछि आलु जोन क्षेत्रका रुपमा रहेको ढोरपाटन, ताराखोला, तमानखोला, बडिगाड र पाण्डवखानीमै आलुको सङ्कट भएको किसानले गुनासो गरेका छन् ।

यस वर्ष अत्यधिक वर्षात्का कारण आलु उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएका कारण आलु जोन क्षेत्रमै आलुको अभाव भएको ताराखोला–५ का किसान भक्तप्रसाद बुढाले जानकारी दिए । “आलु उत्पादन नहुँदै चार लाख पेश्की बुझेको थिए”, बुढाले भने, “आलु नफल्दा आधा रकम फिर्ता गरिदिए ।”

बुढाका अनुसार अहिले त घरमा तरकारी खाने आलुसमेत छैन । ताराखोलाका किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्कीस्वरुप नगद अथवा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आए पनि यस वर्ष आलु उत्पादन नभएका कारण आलुको बीउ मात्रै जोगाइएको बूढाको भनाइ छ ।

बूढाले मात्रै झण्डै १०० रोपनी क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् । बूढाजस्तै ताराखोलाका सयौँ किसानले बिक्री गर्नेभन्दा पनि घरमै खाने आलु नभएको गुनासो गरेका छन् । अत्यधिक वर्षात्का कारण आलु उत्पादन नभएपछि आलुको जोन क्षेत्रका रुपमा रहेको ताराखोलासहित बागलुङका अन्य क्षेत्रका किसान ठूलो मारमा परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

अहिले बागलुङमा आलु उत्पादनमा भारी गिरावट आएपछि प्रतिकिलो आलुको खुद्रा मूल्य रु १०० पर्न गएको बागलुङ बजारका आलु व्यापारी ऋषिराम जैशीले बताए । जिल्लामा उत्पादन हुने आलु यस वर्ष उत्पादनमा ह्वात्तै कमी आएपछि अन्य जिल्लाबाट आलु मगाएर बिक्री गर्दा बढी मूल्य पर्न गएको जैशीको भनाइ छ ।

आलुको बीउसमेत बचाउन मुस्किल भएको ढोरपाटनका आलु कृषक जीवनकुमार पुनले जानकारी दिए । करिब ४५ रोपनी जग्गामा आलुखेती गर्दै आएका उनले अब वर्षभरलाई पुग्ने आलुको बीउ मात्रै भए पनि जोगाउन समस्या भएको बताए ।

धेरैले व्यावसायिक रुपमा आलुखेती गर्दै आए पनि आफूले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलुखेती गरेको र यस वर्ष मकैको दानाजस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गरे ।

यस्तै आलुको जोन क्षेत्रमा रहेको गलकोट नगरपालिका–१० पाण्डवखानीमा समेत आलु पाउनै मुस्किल रहेको स्थानीय रेशम रानाले जानकारी दिए । “पाउँनालाई खुवाउने आलुसमेत छैन बेच्नेको त कुरै छाडौँ”, रानाले भने “आलुबेचेरै जीविका चलाउँदै आएका यहाँका कृषिक यस वर्ष आलु नफल्दा मारमा रहेका छन् ।”

आलुको छवटा जोनबाहेक काठेखोला गाउँपालिकाको धम्जा र गलकोट नगरपालिका–८ मिलनचोकलाई आलुको पकेट क्षेत्रका रुपमा लिइएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका सूचना विश्वास काफ्लेले पनि यस वर्ष आलु उत्पादनमा नसोचेको गिरावट आएको बताए । “यो वर्ष पूर्व अनुमान गरिए भन्दा अत्यधिक वर्षा भयो, जसका कारणले आलु हुर्कन र फल लाग्नेमा समस्या देखियो”, काफ्लेले भने, “जसका कारण बागलुङका आलु जोनमै ६० प्रतिशतभन्दा बढी आलु उत्पादन घटेको छ । यसले गर्दा अहिले आलु खान मात्रै होइन, बीउसमेत कसरी बचाउने भन्ने पिरलो किसानमा देखिएको छ ।”

अहिलेको समस्यामा किसानलाई कसरी राहत अनुदान दिने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । आलुको जोन हुनका लागि ५०० हेक्टरमा आलुखेती गरेको हुनुपर्छ आलुको पकेट क्षेत्र हुनका लागि १० हेक्टर जमिनमा आलुखेती गरेको हुनुपर्दछ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १२ : ४५ बजे

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल