झन् खस्किँदै नेपाली सिनेमा « Khabarhub

झन् खस्किँदै नेपाली सिनेमा



काठमाडौं – अभिनेता दीपकराज गिरीले एक अन्तर्वार्ताका क्रममा भनेका थिए– यो लकडाउनका बेला दर्शकले यति सिनेमा हेरे कि, दर्शकलाई अब ह्या, सिनेमा पनि कति हेर्नु भन्ने लागिसक्यो ।

उनले ठिकै भनेका हुन् ।

वर्षको अन्त्यतिर कोरोना भाइरसका कारण लकडाउनको समयमा दर्शकले धेरैभन्दा धेरै सिनेमा हेरेर समय बिताएका छन् । इन्टरनेटको पहुँचमा हुनेले आफूले चाहेको जुनसुकै देशको सिनेमा पनि हेर्ने अवसर पाएका छन् । यतिबेला नेपाली दर्शकले घरेलु सिनेमाभन्दा बढी विदेशी सिनेमा हेरिरहेका छन् ।

इन्टरनेट हुनेले सिनेमा मात्र हेर्ने गरेका छैनन् । ठूलो संख्यामा दर्शकको ध्यान यति बेला वेब सिरिजतर्फ मोडिएको छ ।

नेपाली सिनेमा भने कमेडी र सामान्य प्रस्तुतीकरणमै अल्झिएका छन् ।

टेलिभिजन र युट्युबमात्र अब सिनेमा हेर्ने माध्यम रहेनन् । लकडाउनले नेपालमा सबै सिनेमा हल बन्द भएका बेला दर्शकले घरमै बसेर अमेजन प्राइम, नेटफिल्क्सजस्ता  प्लेटफर्म प्रयोग गरेर सिनेमा हेरिरहेका छन् ।

नेटफिल्क्समा नेपाली दर्शकले तेलुगु, हिन्दी र अंग्रेजी भाषाका सिनेमा हेर्न पाएका छन्, तर ती प्लेटफर्ममा नेपाली सिनेमा हेर्न अवसर पाएका छैनन् ।

भए पनि नेपाली सिनेमा हेरिँदैनथ्यो होला । त्यसका आफ्नै कारण होलान् ।

लकडाउनको समयमा धेरै नेपाली दर्शकले विश्वभर चर्चा कमाएका थर्टिन रिजन ह्वाइ, डार्क, मनी हाइस्ट, यु, फ्रेण्डस्, द विचर जस्ता सिरिज हेरेर सामाजिक सञ्जालमा तिनको चर्चा गर्न थालेका छन् । नेपाली सिनेमाको भने चर्चा शून्यप्राय छ ।

यसको स्पष्ट अर्थ हो– नेपाली सिनेमाले दर्शकप्रति उत्साह जगाउन सकेका छैनन् ।

घरेलु सिनेमा दर्शकले किन हेरिरहेका छैनन् भनेर मेकरले कहिल्यै बुझ्न जरुरी ठानेनन् । नेपाली बजारमा के बिक्छ र सिनेमामा कतिसम्म लगानी गर्न सकिन्छ भन्ने बुझेका केही मेकरले सिनेमा बनाएर राम्रै पैसा कमाउँछन् । बाँकी त्यस्तै सिनेमा कपी गर्न खोज्दा चिप्लिरहेका छन् ।

निर्देशक निश्चल बस्नेतले एक अन्तर्वार्ताका क्रममा भनेका थिए– यहाँ धेरै मेकरलाई सिनेमा किन बनाइरहेको छु भन्ने समेत थाहा छैन । उनले बारम्बार सिनेमामा नेपालमा राम्रो स्किृप्टको खडेरी परेको बताउँदै आएका छन् ।

त्यसो यसै वर्ष प्रदर्शनमा आएको ‘घामड शेरे’ मा निश्चलले अभिनय गरेका थिए । सिनेमा चिप्लियो ।

चित्तबुझ्दो कथा भएमात्र सिनेमा निर्देशन गर्ने निश्चलले बताउँदै आएका छन् । उनले ‘लूट २’ पछि कुनै सिनेमा पनि निर्देशन गर्ने आँट गरेका छैनन् ।

यस वर्ष एउटा पनि त्यस्तो सिनेमा रिलिज भएन्, जसको कथाले दर्शकलाई तरंगित गरेको होस् । बलिउडका सिरिजले नेपाली दर्शकको मथिंगल हल्लाइरहेका बेला कुनै पनि मेकरले मिहिनेत गरेर सिनेमा बनाएनन् ।

मेकिङका हिसाबले गत वर्ष सिनेमा ‘बुलबुल’ ले राम्रो चर्चा कमाएको थियो । निर्देशक विनोद पौडेल र नायिका स्वस्तिमा खड्का यही सिनेमाका कारण यो वर्ष पनि चर्चामा रहे ।

यसले नेपाली सिनेमा मेकिङमा केही परिवर्तन ल्याउँछ कि भन्ने आकलन गरिएको थियो । तर, अरू मेकरले पहिलेकै जस्ता कच्चा संरचनाका सिनेमा बनाए । यो वर्ष न कुनै नयाँ राम्रो स्क्रिप्ट लेखकको उदय भयो, न त नयाँ सिनेमेकरले सिनेमाप्रति नयाँ आशा जगाउन सके ।

निर्देशक नरेशकुमार केसी भन्छन्– हामीले राम्रा कथा नै पाउन सकेका छैनौं । कथा नै नभएपछि सिनेमा कसरी राम्रो बनोस् !

पुराना लेखकसँग नयाँ सिनेमाको आशा गर्नु पनि हुँदैन किनकि उनीहरूलाई स्क्रिप्ट अपग्रेट नगरे पनि पुगेको छ ।

नेपाली सिनेक्षेत्रमा केही त्यस्ता सिनेमा बने, जसले लामो समयको सिनेमा मेकिङ तोडमोड गरे । जस्तो कि, निश्चल बस्नेत निर्देशित सिनेमा ‘लूट’ त्यो बेलाको नयाँ प्रयोग थियो । अहिले निश्चल आफैँ पनि नयाँ सिनेमा निर्देशन गर्न डराइरहेका छन् । रामबाबु गुरुङको ‘कबड्डी’ ले पनि मेकिङमा थोरै नयाँपन लिएको थियो ।

चलचित्र ‘कबड्डी ३’ मा दयाहाङ राई ।

विश्व सिनेमा मेकिङ स्टोरी टेलिङका हिसाबले धेरै अगाडि पुगिसकेको छ । दर्शकलाई ‘अब के होला ?’ भन्ने उत्सुकता जगाउन सामथ्र्य राख्छ ।

के नेपाली सिनेमा मेकरमा त्यो सामथ्र्य छ ? किन ‘प्रसाद’ र ‘सेल्फी किङ’ दुवै फरक सिनेमा भएर पनि उस्तै लाग्छन् ? किन दीपकराज गिरीको समूहले बनाएका सबै सिनेमा उस्तै लाग्छन् ?

हो, दीपकराज गिरीले अहिले ‘तीतो सत्य’ बनाइरहेका छैनन् तर उनी यो धङधङीबाट मुक्त छैनन् ।

विपिन कार्कीका दुई सिनेमा ‘सेल्फी किङ’ र ‘प्रसाद’ को कथा फरक छ तर दर्शकलाई उस्तै लाग्ने संगीत, पार्श्वध्वनि र मेकिङ छ । ‘सेल्फी किङ’ को स्क्रिप्ट पनि कमजोर छ ।

हलिउडमा एउटा सिनेमाको पात्रलाई अर्कोमा चिन्न गाह्रो हुन्छ । नेपालमा सिनेमाको चरित्र फरक बनाउनुपर्छ भन्ने पनि मेकरले कहिल्यै ख्याल गर्दैनन् । दयाहाङ राई वर्षैभरि उस्तै गेटअपमा देखिन्छन् । सिनेमा बनेकै छन् ।

दयाहाङको भनाइलाई आधार मान्ने हो भने नेपालमा मेकरले कलाकारलाई फरक चरित्रमा देखाउन प्रयास नै गर्दैनन् ।

नेपालमा मेकरलाई यति हतार छ कि, प्रदर्शन मिति सिनेमा बनाउने सोच्नुभन्दा पहिल्यै घोषणा गर्छन् । त्यसपछि स्क्रिप्ट लेख्न थाल्छन् ।

स्क्रिप्टको ड्राफ्टमै छायांकन थाल्छन् । केही महिनामै डबिङदेखि सम्पादनसम्मको काम सक्छन् । निर्धारित मितिमा सिनेमा रिलिज हुन्छ । धन्न अलिअलि त सिनेमाजस्तो पनि हुन्छ ।

मेकरलाई सिनेमाजस्तो लागे पनि दर्शकलाई त के मतलब भयो र ! त्यही समयमा उनीहरू अर्को कुनै राम्रो सिनेमा हेर्छन् ।

गतवर्षको फागुनमा रिलिज भएको अनमोल केसीको ‘क्याप्टेन’ र यसै वर्ष रिलिज भएको निश्चल बस्नेतको ‘घामड शेरे’ त्यही हतारका प्रतिफल हुन् ।

हचुवाको भरमा सिनेमा बनाउने परिपाटीले नेपाली सिनेमा मेकिङको बाटोमा कुनै इट्टा थपेको छैन । नेपाली सिनेमा त्यो स्तरका बनिरहेका छन् कि, समीक्षकले कमजोरी खोजेर समीक्षा गर्नै पर्दैन । दर्शकले सीधै भन्छन्– यस्तो पनि सिनेमा बन्छ र ?

नेपाली सिनेमा उद्योगका लागि आगामी वर्ष झनै चुनौतीपूर्ण देखिन्छ । मेकर राम्रा स्क्रिप्टमा लगानी गर्न डराइरहेका छन् भने स्क्रिप्ट लेख्न चाहने नयाँ लेखकलाई पनि प्रोत्साहित गर्न सकेका छैनन् । अर्कातिर लेखकले न त सिनेमा लेखेरै गुजारा चलाउन सक्ने अवस्था छ ।

अनमोल केसीका लागि ५० लाख खर्च गर्न तयार हुने मेकर कथाका लागि ५ लाख पनि दिन तयार हुँदैन । त्यसैले नयाँ मेकर यो क्षेत्रमा आउन चाहँदैन ।

मेकरले आफ्नो गुट बनाएर त्यही गुटसँग मात्र काम गर्ने गरेको देखिन्छ । गुटबन्दीले सिनेमा उद्योगको उन्नति नहुने कतिपयको तर्क छ ।

अबका वर्ष नेपाली सिनेमालाई हिन्दी र अंग्रेजी सिनेमाबाट मात्र ‘थ्रेट’ छैन, सिरिजबाट पनि उत्तिकै ‘थ्रेट’ छ । सिनेमा मेकरले ‘नेपाली सिनेमालाई माया गरिदिनुहोला’ भन्ने नारा लगाउन त छाडेका छन् तर स्तरीय बनाउन मेहनत गरेका छैनन् ।

चलचित्र ‘आमा’ को एक दृश्यमा मिथिला शर्मा र सुरक्षा पन्त ।

त्यसो त दीपेन्द्र के खनाल, अर्पण थापा, हेमराज बिसी लगायत केही निर्देशकले फरक प्रयोग गर्न खोजेका छन्, तर त्यो प्रयास अर्पूण छ ।

यस वर्ष ‘दाल भात तरकारी’, ‘सेल्फी किङ’, ‘सेन्टिभाइरस’ जस्ता आशा गरिएका सिनेमाले उल्टो दर्शक भड्काएका छन् । आगामी वर्ष मेकरबीच सिनेमा एउटै मितिमा ल्याउन प्रतिस्पर्धा हुने अहिले नै स्पष्ट भइसकेको छ ।

यस वर्ष रिलिज हुन नपाएको ‘प्रेमगीत ३’, झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’, सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’, दीपकराज गिरीको समूहले निर्माण गर्ने सिनेमा, रामबाबु गुरुङको समूहले निर्माण गर्ने सिनेमा र प्रदीप भट्टराईको समूहले निर्माण गर्ने सिनेमाले व्यावसायिक सफलता पाउने बढी सम्भावना छ ।

यद्यपि यी सिनेमामध्ये कुनैले पनि सिनेमा मेकिङमा नयाँ प्रयोग र तरङ्ग ल्याउने छैनन् । तैपनि प्रदीप भट्टराई र रामबाबु गुरुङबाट राम्रा सिनेमाको आशा गर्ने ठाउँ छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : ५६ बजे

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका