सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार | Khabarhub Khabarhub

सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । लकडाउनले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो ।

सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।

गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए ।

सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । ५८ करोड रुपैयाँ लागतमा भइरहेको काम असार मसान्तसम्म नसकिने निश्चित भएको बिस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

लकडाउनका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तार लगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले गुनासो गरिन ।

यसैबीच जोरपाटी चोकबाट सुन्दरीजलतिर जाने मुखका स्थानीयवासी मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि हाल त्यहाँको काम रोकिएको छ ।

अन्य स्थानमा भने हाल सुरक्षाका विधि अपनाएर एक समूहमा १० जना मानिसले गर्ने एवं यन्त्रले गर्न सकिने ढलका लागि हिमपाइप राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । त्यहाँभन्दा बढी कामदार जम्मा हुने काम भने हुन सकेको छैन । वर्षा अघि नै सडकमा ग्राभेलसम्म गर्न सकिने गरी काम अघि बढाइएको नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाए ।

ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनियर सनम श्रेष्ठ लकडाउन शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएको बताए ।

यही महिना काम सकिनुपर्ने भएपनि हालसम्म मुस्किलले ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : २४ बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।